मुजफ्फरपुरमा अलपत्र नेपाली महिलाको उद्धार, बुवासँग पुनर्मिलन
वीरगन्ज– भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा फेला परेकी एक नेपाली महिलालाई उद्वार गरी वीरगञ्ज ल्याइएको करिब तीन सातापछि परिवारसँग पुनर्मिलन गराइएको छ। भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगन्जको समन्वयमा भदौ २७ गते उद्वार गरिएकी ती महिलालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा उनका बुवाको जिम्मा लगाइएको हो।
मुजफ्फरपुरबाट उद्वारपछि वीरगन्ज ल्याइएकी महिलालाई मानवसेवा आश्रमले संरक्षणमा राखेर आवश्यक हेरचाह गर्दै परिवारको खोजी तथा सम्पर्कका लागि पहल गरेको थियो। निरन्तरको प्रयासपछि उनका बुवासँग सम्पर्क स्थापित भएपछि परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको आश्रमले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा भएको कार्यक्रममा एसपी पवनकुमार भट्टराई, डीएसपी चक्र मल्ल र मानवसेवा आश्रम वीरगन्जका संस्थापक अभियन्ता देवेश गुप्ताको उपस्थितिमा महिलालाई उनका बुवाको जिम्मा लगाइएको हो।
लामो समयदेखि परिवारबाट टाढा रहेकी ती महिलालाई भारतीय भूभागमा अलपत्र अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो। उद्वारपछि आश्रमको संरक्षणमा रहेकी उनलाई परिवारको पहिचान तथा सम्पर्क स्थापित भएपछि बुवासँग पुनर्मिलन गराइएको हो।
मानवसेवा आश्रम वीरगन्जका अनुसार आश्रमले हालसम्म बेवारिसे अवस्थामा फेला परेका एक सयभन्दा बढी सडक मानवको उद्धार गरी पारिवारिक पुनर्मिलन गराइसकेको छ। आश्रमले उद्धारसँगै परिवारको खोजी र सम्भावित आफन्तसँग सम्पर्क स्थापित गर्ने कामलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ।

