जीवितै उद्वारको आशा गरिएको चिलिमे सुरुङमा चार शव फेला, एक निकालियो, तीन निकालिँदै
रसुवा— भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोको सुरुङभित्र खोजी गर्दा चारवटा शव फेला परेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले जारी राखेको खोज तथा उद्वार अभियानका क्रममा भेटिएका शवमध्ये एउटा निकालिसकिएको छ भने बाँकी तीनवटा शव निकाल्ने काम भइरहेको छ।
बाढीपछि सुरुङभित्र मानिसहरू जीवितै रहेको हुनसक्ने अपेक्षासहित खोजी तथा उद्वारलाई निरन्तरता दिइएको थियो। सोही क्रममा सुरुङभित्र चारवटा शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुरुङभित्र थप मानिस हुनसक्ने सम्भावना अझै कायम छ। तीमध्ये कोही जीवित वा मृत अवस्थामा हुनसक्ने भएकाले खोजी कार्य जारी राखिएको उनले बताए।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बाढी तथा पहिरोका कारण पुरिएको संरचनाभित्र प्रवेश गरी सम्भावित स्थानमा खोजी गरिरहेको छ। उद्वार टोलीले भेटिएका शव बाहिर निकाल्ने तथा सुरुङभित्र थप मानिसको अवस्था पहिचान गर्ने कामलाई प्राथमिकतामा राखेको छ।
बाढीपछि चिलिमे हाइड्रोको संरचनामा ठूलो क्षति पुगेको थियो। सुरुङभित्र रहेका व्यक्तिहरूको अवस्थाबारे लामो समयदेखि खोजी भइरहेको अवस्थामा चार शव भेटिनुले उद्वार अभियानलाई थप गम्भीर मोडमा पुर्याएको छ।

