सुनसरीमा फेरि गोली चल्यो, देवानगञ्ज–१ मा एक जना घाइते
इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शुक्रबार गोली चलेको छ। घटनामा एक जनाको तिघ्रामा गोली लागेको सूचना आएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको सुनसरीका सीडीओ ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन्। घटनाको कारण र गोली कसले चलाएको भन्नेबारे प्रारम्भिक विवरण भने खुलिसकेको छैन।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार स्थानीयबाट गोली चलेको खबर आएपछि प्रहरी घटनास्थलतर्फ गएको हो। उनले एक जनाको तिघ्रामा गोली लागेको सूचना प्राप्त भएको र घटनाबारे थप विवरण संकलन भइरहेको बताए।
सीडीओ अर्यालले पनि घटनाको कारण यकिन भइनसकेको बताएका छन्। उनका अनुसार प्रहरी टोली घटनास्थल पुगेर घटनाको वास्तविक अवस्था र गोली चल्नुको कारणबारे अनुसन्धान गर्नेछ।
देवानगञ्जमा यसअघि पनि गोली चलेको घटनाले मानवीय क्षति व्यहोरेको थियो। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो।
उक्त घटनाबारे गठित छानबिन समितिले सुरक्षा व्यवस्थापनमा कमजोरी औंल्याउँदै तत्कालीन सीडीओसहित केही सुरक्षा अधिकारीमाथि विभागीय कारबाही सिफारिस गरेको थियो।
तर, शनिवार देवानगञ्ज–१ मा भएको गोलीकाण्डको अघिल्लो घटनासँग सम्बन्ध छ कि छैन भन्ने खुलेको छैन। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेपछि मात्रै गोली चल्नुको कारण, संलग्न व्यक्ति र घटनाको प्रकृतिबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

