देवानगञ्ज गोलीकाण्डः १९ वर्षीय युवक घाइते, दुई पक्राउ, दुई मोटरसाइकलमा आगजनी
विराटनगर— सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा दुई समूहबीच भएको झडपका क्रममा गोली चल्दा १९ वर्षीय निरजकुमार यादव घाइते भए। शनिबार साँझ लक्ष्मीनारायण मन्दिरअगाडि भएको घटनामा तिघ्रामा गोली लागेका यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगञ्ज–२ का विष्णु यादव र जयकृष्ण यादवलाई नियन्त्रणमा लिएको छ। स्थानीयले घटनामा संलग्न भएको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। घटनास्थलमा रहेका दुईवटा मोटरसाइकलमा समेत आगजनी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले गोली चलेको पुष्टि गर्दै घटनाको कारण, झडपको प्रकृति र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको बताए।
प्रहरीका अनुसार सीमाक्षेत्रमा भएको आपसी लेनदेनसम्बन्धी विवादका कारण दुई समूहबीच झडप भएको प्रारम्भिक जानकारी आएको छ। यद्यपि, गोली चल्नुको वास्तविक कारण र घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।
घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मध्यहर्षाहीमा परिचालन गरिएको छ। घटनामा संलग्न भएको आशंकामा थप व्यक्तिको खोजी तथा घटनास्थलमा भएको क्षतिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ।
देवानगञ्जमा केही साताअघि मात्रै तीन जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको पृष्ठभूमिमा पुनः गोली चलेको हो। गत साउन १० गते देवानगञ्ज–३, कप्तानगञ्जमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो।
झडपमा घाइते ओमप्रकाशको साउन १० गते राति, जयप्रकाशको साउन १४ गते र रवीन्द्रको साउन १९ गते काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। उक्त घटनामा १० जना घाइते भएका थिए।
कप्तानगञ्जको उक्त विवाद धार्मिक विषयबाट सुरु भएको बताइएको थियो। असार १४ गते मुस्लिम समुदायले मोहर्रमका अवसरमा बजारको बीचमा झण्डा गाडेपछि सोही स्थानमा साउनमा हिन्दु समुदायले बोलबमका लागि झण्डा गाडेपछि विवाद उत्पन्न भएको थियो। वडाध्यक्ष र गाउँपालिका अध्यक्षसम्म पुगेको विवाद साउन १० गते बोलबम जाने युवाले मन्दिरमा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई पक्षबीच झडपमा परिणत भएको थियो।
पछिल्लो घटनापछि स्थानीय प्रशासनले मध्यहर्षाही क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। यस घटनाको अनुसन्धानबाट गोली चलाउने व्यक्ति, घटनामा प्रयोग भएको हतियार र झडपमा संलग्न अन्य व्यक्तिबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

