असोज ९ देखि ११ सम्म पदयात्रा र लामो दूरीको यात्रा नगर्न मौसम विभागको चेतावनी
काठमाडौँ— भारी वर्षासँगै हिमपातको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले हिमाली क्षेत्रमा रहेका पदयात्रीलाई तत्काल सुरक्षित स्थानतर्फ फर्किन र पदयात्राको तयारीमा रहेकालाई केही दिन यात्रा स्थगित गर्न आग्रह गरेको छ। असोज ९ देखि ११ गतेसम्म निरन्तर वर्षाका कारण बाढी, पहिरो र अन्य मौसमी जोखिम बढ्न सक्ने भन्दै विभागले लामो दूरीको यात्रा नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।
विभागका अनुसार बंगालको खाडीको मध्य भूभाग आसपास विकसित भइरहेको न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा छ। यसको प्रभाव नेपालमा समेत देखिन थालेको छ। बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढेको विभागले जनाएको छ।
मौसमविद् हरिप्रसाद ढकालका अनुसार वर्षा देशका अधिकांश भूभागमा हुने सम्भावना रहे पनि गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षा तथा अति भारी हिमपातको जोखिम बढी छ। ‘पानी त देशैभरि पर्छ र सबै प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ,’ ढकालले भने, ‘अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना गण्डकी र लुम्बिनी प्रदेशमा छ, त्यसैले सतर्कता अपनाऔँ।’
विभागले सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै विशेष मौसम बुलेटिन जारी गर्नुका साथै हिमाली क्षेत्रका लागि रेड अलर्ट जारी गरेको छ। विभागीय चेतावनी प्रणालीमा रेड अलर्टको अर्थ सम्भावित जोखिमका लागि पूर्वतयारी र आवश्यक सतर्कता अपनाउनु हो।
शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने विभागले जनाएको छ।
त्यसैगरी मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान विभागको छ।
मौसमको जोखिम वर्षासम्म मात्र सीमित छैन। गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनाले पदयात्रा र पर्वतीय पर्यटनलाई प्रत्यक्ष प्रभावित गर्न सक्ने भएकाले विभागले विशेष सावधानी अपनाउन भनेको हो।
गण्डकीका अन्नपूर्ण, मनास्लु सर्किट, अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल र तिलिचो तालजस्ता लोकप्रिय पदयात्रा गन्तव्यमा वर्षभरि स्वदेशी तथा विदेशी पर्यटक, गाइड र भरिया पुग्ने गर्छन्। मौसम बिग्रिएमा पदयात्रामा रहेका व्यक्तिहरू बाटोमै अलपत्र पर्नुका साथै हिमपात, पहिरो र अन्य जोखिममा पर्न सक्ने भएकाले विभागले यात्रा स्थगनलाई नै तत्कालको सावधानीका रूपमा अघि सारेको हो।
नेपालमा अहिले मनसुनी वायुका साथै पश्चिमी वायुको प्रभावसमेत रहेको विभागले जनाएको छ। त्यसमा बंगालको खाडीमा विकसित भइरहेको अर्को मौसमी प्रणाली थपिएपछि वर्षाको गतिविधि बढ्ने अवस्था बनेको हो।
मौसमविद् ढकालका अनुसार बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली बुधबार राति वा बिहीबार बिहान जमिनमा प्रवेश गर्ने र त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। यही प्रणालीको प्रभावका कारण आगामी केही दिन वर्षा अझ सक्रिय हुन सक्ने पूर्वानुमान गरिएको हो।
विभागले हिमाली क्षेत्रमा रहेका पदयात्रीलाई तत्काल फर्किन आग्रह गर्दै यात्रा सुरु गर्ने तयारीमा रहेकालाई हालका लागि योजना स्थगित गर्न भनेको छ। साथै असोज ९ देखि ११ गतेसम्म लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
‘हिमाली भेगमा पदयात्रामा ननिस्किनुहोस्,’ मौसमविद् ढकालले भने, ‘९ गतेदेखि ११ गतेसम्म लामो दूरीको यात्रा पनि नगर्नुहोस्।’ उनले मौसमसम्बन्धी पछिल्लो बुलेटिन हेर्न र आवश्यक जानकारीका लागि विभागको टोल–फ्री नम्बर ११५५ मा सम्पर्क गर्न आग्रह गरेका छन्। विभागको वेबसाइटमा पनि चरम मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गरी मौसम पूर्वानुमानका लागि १ थिच्न सकिने व्यवस्था उल्लेख छ।
अहिलेको पूर्वानुमानअनुसार जोखिमको मुख्य अवधि असोज ९ देखि ११ गतेसम्म रहेकाले विभागले यात्रा तथा पर्वतीय गतिविधिमा संलग्न व्यक्ति र सम्बन्धित निकायलाई मौसमको पछिल्लो सूचना लिएर मात्रै निर्णय गर्न आग्रह गरेको छ।
भारी वर्षा र हिमपातको जोखिमसँगै बाढी, पहिरो तथा सडक यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मौसमसम्बन्धी चेतावनीलाई नियमित रूपमा अद्यावधिक गरिने विभागले जनाएको छ। विभागको आधिकारिक प्रणालीमा मौसम र बाढीसम्बन्धी चेतावनी तथा पूर्वानुमान नियमित रूपमा प्रकाशित हुँदै आएको छ।

