गजेन्द्रनारायण अस्पतालमा के भएको थियो ?: डाक्टर भन्छन् ‘हातपात’, मेसुले भन्छन् ‘झैझगडा’
राजविराज— सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरूले आफूहरूमाथि हातपात र धम्की दिईएको भन्दै सुरक्षा मागेको घटना सार्वजनिक भएपछि अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जितकुमार झाको एउटा फेसबुक स्ट्याटसले विवादलाई झन् अर्को प्रश्नतर्फ मोडेको छ— घटना वास्तवमा के भएको थियो र ‘भ्रामक तथा अतिरञ्जित’ भनिएको समाचार कुन हो?
असोज २ गते राति राजविराज–८ स्थित ग्रिन गार्डेन रिसोर्ट एन्ड पार्टी प्यालेसमा भएको भनिएको घटनाबारे अस्पतालका आठ चिकित्सकले असोज ५ गते मेसुसमक्ष लिखित निवेदन दिएका छन्। निवेदनमा अम्मर यादवले मेसु डा. झालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको र त्यसपछि अस्पतालकै कर्मचारी नारायणकुमार यादव (प्रशासन) सहित अम्मर यादव, विब्लु यादव र दिनेश मण्डलले आफूहरूमाथि हात हाल्ने प्रयास गरेको उल्लेख छ।
चिकित्सकहरूले घटनालाई व्यक्तिगत झगडाको विषयमा सीमित नगरी आफूहरूको सुरक्षा र अस्पतालमा नियमित सेवा प्रवाहसँग जोडेर हेर्न माग गरेका छन्। उनीहरूले सुरक्षित वातावरणबिना स्वास्थ्य सेवा दिन कठिन हुने भन्दै घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि छानबिन र दोषी देखिए प्रचलित कानुनअनुसार कारबाहीको माग गरेका छन्।
तर, घटनाबारे विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मंगलबार मेसु डा. झाले सामाजिक सञ्जालमार्फत घटनाको अर्को चित्र प्रस्तुत गरेका छन्। उनले आफू अहिले विभागीय तथा व्यक्तिगत कामका सिलसिलामा काठमाडौंमा रहेको र शीघ्र राजविराज फर्कने बताएका छन्।
उनको स्ट्याटसमा भनिएको छ, ‘गत शुक्रबार राजविराजमा अस्पताल प्राङ्गण बाहिर कर्मचारीहरूबीच झैझगडा भएको भन्ने विषय सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ।’ उनले आफू फर्किएपछि घटनाको सत्यतथ्य छानबिन गर्ने र जो–कोही दोषी ठहरिए पनि उचित कारबाहीको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
तर, त्यही स्ट्याटसमा उनले ‘सत्यतथ्य बाहिर नआउन्जेल यस्ता समाचारहरूलाई अतिरञ्जित र भ्रामक बनाएर सम्प्रेषण नगरिदिनुहुन’ आग्रह गरेका छन्। यहीँबाट घटनाबारे अर्को प्रश्न उब्जिएको छ।
झाले चिकित्सकहरूले दिएको लिखित निवेदनलाई अतिरञ्जित र भ्रामक भनेका हुन् वा निवेदनका आधारमा प्रकाशित समाचारलाई ? उनको स्ट्याटसमा यो स्पष्ट छैन। उनले घटनाको छानबिन नै हुन बाँकी रहेको बताएका छन्, तर त्यसअघि नै सञ्चारमाध्यममा आएका समाचारलाई ‘अतिरञ्जित र भ्रामक’ भन्न खोजेको देखिन्छ। कुन तथ्य गलत हो भन्नेबारे भने उनले आफ्नो स्ट्याटसमा खुलाएका छैनन्।
अर्कोतर्फ, चिकित्सकहरूको लिखित निवेदनले घटनालाई सामान्य ‘झैझगडा’को रूपमा मात्र प्रस्तुत गरेको छैन। निवेदनमा राति ९ बजेदेखि १० बजेको बीच खाजा खाने क्रममा विवाद भएको, मेसुलाई ज्यान मार्ने धम्की दिइएको, चिकित्सकहरूलाई गालीगलौज गरिएको र आफूहरूमाथि हात हाल्ने कार्य भएको स्पष्ट रूपमा उल्लेख छ।
निवेदनमा अस्पतालकै कर्मचारी नारायणकुमार यादव (प्रशासन), अम्मर यादव, विब्लु यादव र दिनेश मण्डलको नाम उल्लेख गरिएको छ। साथै अस्पतालका ल्याब इन्चार्जको भूमिकासमेत छानबिनको दायरामा ल्याउनुपर्ने माग गरिएको छ।
अर्थात्, चिकित्सकहरूको दाबीमा घटनाको विषय केवल दुई पक्षबीच भएको सामान्य विवाद होइन, अस्पतालभित्रै कार्यरत कर्मचारी र चिकित्सकबीचको विवाद, मेसुलाई दिइएको भनिएको धम्की र स्वास्थ्यकर्मीमाथि भएको भनिएको हातपातसम्म पुगेको विषय हो।
निवेदनमा चिकित्सकहरूले आफूहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्नुको कारण पनि यही घटनासँग जोडिएको छ। उनीहरूले अस्पतालमा नियमित सेवा प्रवाहका लागि सुरक्षित वातावरण आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई हस्तक्षेपका लागि आग्रह गरेका छन्।
घटनाबारे जानकारी गराउँदै निवेदनको बोधार्थ जिल्ला प्रशासन कार्यालय, राजविराज, जिल्ला प्रहरी कार्यालय, सप्तरी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबार काठमाडौंलाई समेत पठाइएको छ।
निवेदनमा हस्ताक्षर गर्ने चिकित्सकहरूमा डा. प्रनेश यादव र डा. रुपेश यादव (कन्सल्टेन्ट अर्थोपेडिक), डा. शम्भु यादव र डा. कौशल मण्डल (कन्सल्टेन्ट सर्जन), डा. निशिकान्त यादव (कन्सल्टेन्ट स्त्रीरोग विशेषज्ञ), डा. महेन्द्र मण्डल (कन्सल्टेन्ट डेन्टल सर्जन), डा. धिरज गुप्ता (कन्सल्टेन्ट एमडीजीपी) र कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. प्रीतम यादव छन्।
घटनाको अर्को महत्वपूर्ण पक्ष भनेको दुवै पक्षको विवरण सार्वजनिक रूपमा समान छैन। चिकित्सकहरूको निवेदनले आफूहरूमाथि हात हालिएको दाबी गरेको छ भने मेसु डा. झाको फेसबुक स्ट्याटसमा घटनालाई ‘अस्पताल प्राङ्गण बाहिर कर्मचारीहरूबीच झैझगडा’ भएको रूपमा उल्लेख गरिएको छ।
त्यसैले अहिलेको मूल प्रश्न कसले के भन्यो भन्नेमा मात्र सीमित छैन। घटना कहाँ भयो, त्यहाँ को–को थिए, विवाद कसरी सुरु भयो, चिकित्सकहरूमाथि हात हाल्ने अवस्था कसरी आयो, मेसुलाई धम्की दिइएको हो वा होइन र घटनामा उल्लेख गरिएका व्यक्तिहरूको वास्तविक भूमिका के थियो भन्ने विषयको निष्पक्ष अनुसन्धान आवश्यक देखिन्छ।
विशेषगरी स्वास्थ्य संस्था जस्तो संवेदनशील स्थानमा कार्यरत चिकित्सकहरूले नै सुरक्षाको माग गर्दै लिखित निवेदन दिनुपर्ने अवस्था सिर्जना हुनु आफैंमा छानबिनको विषय हो। त्यसमाथि घटनाका पक्षहरूबीचको विवरण फरक देखिएपछि सामाजिक सञ्जालको आरोप–प्रत्यारोपभन्दा बाहिर गएर घटनाको वस्तुगत सत्य पत्ता लगाउनु अझ महत्वपूर्ण बनेको छ।
हालसम्म निवेदनमा नाम उल्लेख भएका कर्मचारी तथा अन्य आरोपित व्यक्तिहरूको तर्फबाट सार्वजनिक रूपमा कुनै प्रतिक्रिया आएको छैन। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट पनि घटनाबारे अनुसन्धान सुरु भएको वा कुनै निष्कर्षमा पुगेको आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
मेसु डा. झा आफैंले भने सत्यतथ्य छानबिन गरेर दोषी जो भए पनि कारबाहीको पहल गर्ने बताएका छन्। अब त्यो छानबिनले एउटा कुरा स्पष्ट पार्नुपर्नेछ—यो सामान्य झैझगडा थियो, वा चिकित्सकहरूले निवेदनमा दाबी गरेजस्तो स्वास्थ्यकर्मीमाथि हातपात र धम्कीको घटना ?
त्यसको जवाफ अनुसन्धानबाटै आउनेछ। त्यसअघि भने ‘भ्रामक’ भनिएको समाचारमा कुन तथ्य गलत छ भन्ने प्रश्न अनुत्तरित नै छ।

यो पनि,
- गजेन्द्रनारायण सिंह अस्पतालमा कर्मचारीको दादागिरीः चिकित्सकमाथि हातपात, मेसुलाई ज्यान मार्ने धम्की
- सडक सुत्केरी प्रकरण सेलाउँन नपाउँदै गजेन्द्रनारायण अस्पतालमा औषधी चोरीको अर्को धक्का
- बबिता सडक सुत्केरी प्रकरणपछि अर्को प्रश्नः अस्पताललाई ‘आफन्त भर्ती’ केन्द्र बनाउने को हो?
- सप्तरीमा शिक्षामन्त्रीको ‘मुडा’ काण्डः दुई हातले आतिथ्य, बबिताको पीडामा एक पाइला पनि सरेन
- ६ जनाको जागिर जाने ‘सडक सुत्केरी’ प्रकरणः महिलाहरू राति सुत्केरी हुँदैनन् भन्ने निष्कर्षमा पुगेको हो अस्पताल?
- गेटबाहिर बच्चा जन्मिएको घट्ना भाईरल भएपछि गजेन्द्र अस्पतालले १ डाक्टरसहित ६ कर्मचारी हटायो
- मन्त्रीको अनुगमन, अस्पताल उस्तैः बबिताले सडकमै छोरो जन्माईन, सांसदको चिन्ता फेसबुकमा मात्रै
- बाबुआमासँग ७ सय रुपैयाँ नहुँदा अस्पतालमा जन्मिन पाएन शिशु, बाहिर निकालिएपछि बबिताले सडकमै जन्माइन् चौथो सन्तान
- पैसा तिर्न नसक्दा गर्भवतीलाई अस्पतालबाट निकालियो, गेटमै जन्मियो बच्चाः छानबिनको घेरामा गजेन्द्र अस्पताल

