दुई वर्षदेखि काकडभिट्टाबाट बेपत्ता दिलनाथको कंकाल बंगुर फार्ममा भेटियो, सँगै हिडडुल गर्ने दुई जना पक्रा
दमक— करिब दुई वर्षदेखि बेपत्ता रहेका झापाको मेचीनगरका दिलनाथ बजगाईँको कंकाल फेला परेको छ। बजगाईँको कंकाल बंगुर फार्ममा गाडिएको अवस्थामा फेला परेको हो। उनको हत्या भएको आशंकामा प्रहरीले दिलनाथसँगै हिँडडुल गर्ने दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय राम भन्ने गुप्तबहादुर सिंह र भारतको अलिपुरद्वार, वीरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय संजय लामा छन्।
दिलनाथकी श्रीमती तुलसा बुढा बजगाईँले श्रीमान् हराएको भन्दै प्रहरीमा निवेदन दिएपछि उनको खोजी तथा घटनाको अनुसन्धान अघि बढेको थियो। ललितपुरको साविक मनिखेल, हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका दिलनाथ २०८१ कात्तिक २९ गते मेचीनगर–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए।
अनुसन्धानका क्रममा प्रहरीले दिलनाथसँग नियमित सम्पर्क तथा हिँडडुल गर्ने गुप्तबहादुर सिंहसँग सोधपुछ गरेको थियो। प्रहरीका अनुसार सोधपुछका क्रममा सिंहले दिलनाथको हत्या गरी शव गाडेको तथ्य स्वीकार गरेका थिए।
सिंहले दिएको विवरणका आधारमा प्रहरीले मेचीनगर–७ भान्सा खोला, गैरीगाउँस्थित जयप्रसाद तिवारीको जग्गामा रहेको बंगुर फार्ममा खोजी गरेको हो। उक्त फार्म सिंह आफैँले सञ्चालन गर्दै आएका थिए।
प्रहरी टोली स्थानीयवासी र जनप्रतिनिधिको रोहबरमा एक्स्काभेटरसहित उक्त स्थानमा पुगेको थियो। उत्खनन गर्दा जमिनमुनि गाडिएको अवस्थामा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कंकाल फेला परेपछि प्रहरीले त्यसलाई प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। अस्पतालमा शव परीक्षणपछि कंकालको पहिचानका लागि आवश्यक नमुना काठमाडौंस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वैज्ञानिक परीक्षणबाट मात्रै फेला परेको कंकाल दिलनाथ बजगाईँकै हो वा अन्य व्यक्तिको भन्ने यकिन हुनेछ। त्यसैले हालसम्म प्रहरीले कंकाललाई दिलनाथकै भनेर औपचारिक रूपमा पुष्टि गरेको छैन।
दिलनाथ बेपत्ता भएपछि परिवारले उनको खोजीका लागि प्रहरीमा निवेदन दिएको थियो। लामो समयसम्म उनको अवस्था अज्ञात रहेपछि अनुसन्धानका क्रममा उनीसँग सम्पर्कमा रहेका व्यक्तिमाथि केन्द्रित भएको प्रहरीले जनाएको छ।
सिंहको बयानपछि सम्भावित शव गाडिएको स्थान पहिचान भएको र त्यहाँ उत्खनन गर्दा मानव कंकाल भेटिएको प्रहरीको भनाइ छ। अब कंकालको पहिचानसँगै घटनामा मृत्युको कारण, हत्या भएको भनिएको अवस्थाको वास्तविकता, घटनामा अन्य व्यक्तिको संलग्नता तथा शव गाड्न प्रयोग गरिएको स्थानसम्मको सम्पूर्ण घटनाक्रम खुलाउनेतर्फ अनुसन्धान केन्द्रित हुने प्रहरीले जनाएको छ।
कंकालको वैज्ञानिक पहिचानपछि पक्राउ परेका व्यक्तिविरुद्धको अनुसन्धान र सम्भावित कानुनी कारबाही पनि थप स्पष्ट हुने प्रहरीको भनाइ छ।
हालसम्मको अनुसन्धानले भने २०८१ कात्तिक २९ गते काँकडभिट्टाबाट बेपत्ता भएका दिलनाथको खोजी बंगुर फार्मसम्म पु¥याएको छ, त्यहाँबाट मानव कंकाल फेला परेको छ र घटनासँग सम्बन्धित आरोपमा दुई जना प्रहरी नियन्त्रणमा छन्। तर फेला परेको कंकालको पहिचान र घटनाको सम्पूर्ण वास्तविकता वैज्ञानिक परीक्षण तथा थप अनुसन्धानबाट खुल्न बाँकी छ।

