जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो, उडान–अबतरण रोकियो

काठमाडौँ— नेपालगन्जबाट १३ यात्रु लिएर डोल्पाको जुफाल विमानस्थल पुगेको सीता एयरको जहाज बिहीबार बिहान अवतरणका क्रममा पछाडितर्फको दायाँ पांग्रा खुस्किएपछि धावनमार्गमै रोकिएको छ। जहाजमा रहेका सात विदेशी र छ नेपालीसहित सबै यात्रु सकुशल छन् भने पांग्रा खुस्किएपछि जुफाल विमानस्थलमा अन्य उडानसमेत प्रभावित भएको छ।

नाइ–एन–एजेएच कलसाइनको सीता एयरको जहाज बिहान ८ बजेर २५ मिनेटमा अवतरण गर्ने क्रममा पांग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। डोल्पाका डीएसपी अनिल राज गिरीका अनुसार अवतरणका क्रममा जहाजको पछाडितर्फको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको हो। घटनामा जहाजमा सवार १३ यात्रुमध्ये ११ पुरुष र दुई महिला थिए।

सीडीओ जुनु हमाल ढकालले जहाजको पांग्रामा सामान्य समस्या देखिएको र सबै यात्रु सुरक्षित रहेको जानकारी दिएकी छिन्। उनका अनुसार जहाज अहिले पनि धावनमार्गमै छ र प्राविधिक टोलीले त्यसको जाँच गरिरहेको छ।

जहाज धावनमार्गमै रोकिएपछि जुफाल विमानस्थलमा अन्य जहाजको नियमित अवतरण प्रभावित भएको छ। अवतरणका लागि आएको नेपाली सेनाको जहाजसमेत जुफालमा अवतरण नगरी फर्किएको बताइएको छ।

जहाजलाई मर्मत गरी सञ्चालनमा ल्याउन आजै हेलिकप्टरमार्फत प्राविधिक टोली ल्याउने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ। घटनापछि जहाजमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पांग्रा खुस्किए पनि मानवीय क्षति नभएको र जहाजमा अन्य ठूलो क्षति भएको विवरण सार्वजनिक भएको छैन।

जुफाल विमानस्थल डोल्पाको प्रमुख हवाई सम्पर्क केन्द्र भएकाले जहाज धावनमार्गमै रोकिँदा त्यहाँबाट हुने अन्य उडान तथा अवतरण प्रभावित भएका छन्। प्राविधिक जाँच र मर्मतपछि विमानस्थलमा उडान सञ्चालन कहिलेदेखि नियमित हुन्छ भन्ने स्पष्ट हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट