रौतहटः नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएका सामाजिक परिचालकविरुद्ध मुद्दा
रौतहट — नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा नियुक्ति लिएको आरोपमा रौतहटको माधवनारायण नगरपालिकाका सामाजिक परिचालक कृष्णनन्दनप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटअन्तर्गत स्थानीय ट्रस्ट कोष समितिमा सामाजिक परिचालक (सहायकस्तर पाँचौँ) पदमा नियुक्ति लिने क्रममा भारतको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
आयोगले गरेको अनुसन्धानबाट उक्त प्रमाणपत्रका आधारमा नियुक्ति लिएका यादव हालसम्म पनि राष्ट्रसेवकको हैसियतमा कार्यरत रहेको र सोही आधारमा पद, लाभ तथा सुविधासमेत लिइरहेको खुलेको जनाएको छ।
अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको कार्यलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अन्तर्गतको कसुर भएको ठहर गरेको छ।
आयोगले यादवविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ।
उक्त मागदाबीसहित अख्तियारले बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आरोपपत्र दायर भएसँगै यादवमाथिको मुद्दा अब विशेष अदालतको न्यायिक प्रक्रियामा प्रवेश गरेको छ। आरोप प्रमाणित भएमा अदालतबाट कानुनबमोजिम फैसला हुनेछ।

