काकीकी बहिनीलाई ‘मेरो बुढी’ भन्दै फेसबुकमा फोटो पोस्ट गर्दा १८ दिन हिरासतको बास

काठमाडौँ– करिब पाँच वर्ष लामो प्रेम सम्बन्ध टुटेपछि पूर्वप्रेमिका (काकीकी वहिनी) को तस्बिर सामाजिक सञ्जालमा राखेर आपत्तिजनक गतिविधि गरेको आरोपमा पक्राउ परेका जुम्लाका २० वर्षीय युवक १८ दिन हिरासतमा बसेपछि धरौटीमा छुटेका छन्।

जुम्लाको तातोपानी गाउँपालिका–८ बडाखाडाका जनक शाहीलाई सुर्खेत जिल्ला अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले बिहीबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अन्तर्गत मुद्दा चलिरहेको छ।

मुद्दाको घटनाक्रम भने एकपटक सामाजिक सञ्जालमा तस्बिर राखेको विवादबाट सुरु भएर मिलापत्रपछि फेरि दोहोरिएको देखिन्छ। प्रहरीका अनुसार शाहीले एक युवतीको फेसबुकबाट उनको तस्बिर डाउनलोड गरी आफ्नै फेसबुक र टिकटकमा ‘मेरो बुढी’ भन्दै पोस्ट गरेका थिए। युवतीले तस्बिर र भिडियो हटाउन आग्रह गर्दा शाहीले नमानेपछि उनी जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र पुगेकी थिइन्।

त्यहाँ दुवै पक्षबीच मिलापत्र भएको थियो। शाहीले आगामी दिनमा त्यस्तो गतिविधि नगर्ने प्रतिबद्धता जनाएका थिए। तर, मिलापत्र भएको केही समयपछि विवाद फेरि सामाजिक सञ्जालमै पुगेको आरोप छ।

अभियोगपत्रअनुसार शाहीले त्यसपछि फेक फेसबुक आईडी बनाएर युवती र उनका भाइको तस्बिर जोडेर आपत्तिजनक शब्द प्रयोग गर्दै सामग्री पोस्ट गरेको आरोप छ। उनले ती सामग्री स्टोरीमा राख्नुका साथै सेयर र कमेन्टसमेत गरेको अभियोग छ।

यसबाट आफ्नो चरित्रमा आँच पुर्‍याउने र मानसिक हैरानी दिने काम भएको भन्दै युवतीले भदौ १३ गते प्रहरीमा औपचारिक जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले शाहीविरुद्ध तत्काल पक्राउ पुर्जी जारी गराएर भदौ २२ गते पक्राउ गरेको थियो। त्यसपछि उनी भदौ २२ गतेदेखि असोज ७ गतेसम्म प्रहरी हिरासतमा बसे।

अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।

प्रेम सम्बन्ध टुटेपछि ‘रिसमा’ पोस्ट गरेको बयान
अदालतमा दिएको बयानमा शाहीले सामाजिक सञ्जालमा तस्बिर तथा सामग्री पोस्ट गरेको स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ। उनका अनुसार ती युवती आफ्नै काकीकी बहिनी हुन्। दुवैबीच तातोपानीमा विद्यालय पढ्दादेखि करिब पाँच वर्ष प्रेम सम्बन्ध रहेको उनको बयान छ।

पछि युवतीले आफूसँग बोलचाल गर्न छाडेपछि रिस र आवेगमा सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेको उनले बताएका छन्। उनले पोस्ट गरेका केही तस्बिर आफ्नो मोबाइलमा पहिल्यै रहेका र केही फेसबुकबाट डाउनलोड गरेको बयान दिएका छन्।

यसरी व्यक्तिगत सम्बन्धमा आएको विवाद सामाजिक सञ्जाल हुँदै प्रहरी र अदालतसम्म पुगेको हो।

पाँच वर्षको सम्बन्ध, दुईपटक सामाजिक सञ्जाल विवाद
घटनाको क्रम हेर्दा प्रेम सम्वन्ध टुटेपछि युवतीको तस्बिर फेसबुक र टिकटकमा ‘मेरो बुढी’ भन्दै राखिएको थियो। युवतीको आग्रहपछि सामग्री हटाउने र दोहो¥याएर यस्तो नगर्ने सहमति बनेपछि दुवै पक्षबीच मिलापत्र भएको थियो।

तर सम्बन्ध बिग्रिएपछि फेरि फेक आईडी बनाएर तस्बिर जोड्ने, आपत्तिजनक शब्द प्रयोग गर्ने तथा पोस्ट, स्टोरी, सेयर र कमेन्टमार्फत सामग्री फैलाएको अभियोग लागेपछि दोस्रोपटक प्रहरी कारबाहीमा पुगेको हो।

सरकारी वकिलले विद्युतीय कारोबार ऐनको दफा ४७(१) अनुसार शाहीलाई बढीमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरेका छन्। त्यसैगरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन विद्युतीय कारोबार ऐनको दफा ५८(क) तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ समेत बमोजिम मागदाबी गरिएको छ।

अदालतले भने मुद्दाको अन्तिम फैसला नगरी शाहीलाई धरौटीमा रिहा गरेको हो। त्यसैले धरौटीमा छुट्नु उनीमाथिको अभियोगबाट सफाइ पाएको अर्थ होइन। मुद्दाको अन्तिम टुंगो अदालतको फैसलाबाट हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट