हलेसी मन्दिरका पुजारी जातीय दुर्व्यवहारको आरोपमा पक्राउ

खोटाङ— हलेसी महादेव मन्दिरमा पूजा गर्न पुगेका स्थानीय युवराज शंकरमाथि जातीय दुर्व्यवहार र हातपात गरेको आरोपमा हेरालु पुजारी गोपाल गिरी पक्राउ परेका छन्। राष्ट्रिय दलित आयोगमा परेको उजुरीपछि आयोगले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङलाई पत्र पठाएपछि प्रहरीले गिरीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङले गिरीलाई बुधबार हलेसी थानबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरीका प्रवक्ता निराजन बस्नेतका अनुसार गिरीलाई अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद थपिएको छ।

घटना गत साउन १८ गतेको हो। हलेसी तुवाचुङ नगरपालिका–७ का २९ वर्षीय युवराज शंकर मन्दिरमा दर्शन गर्न पुगेका थिए। भक्तजनको भीड भएकाले उनी अन्य दर्शनार्थीसँगै लाइनमा बसेका बेला पुजारी गिरीले आफूलाई जातीय रूपमा होच्याउने शब्द प्रयोग गरेको र त्यसपछि कठालो समातेर हातपात गरेको युवराजको आरोप छ।

युवराजका अनुसार आफू पनि अन्य भक्तजनसरह दर्शनका लागि लाइनमा बसेको बताउँदा गिरीले गालीगलौज गर्दै हातपात गरेका थिए। त्यसपछि आफूले पनि प्रतिकारमा गिरीलाई धकेलेको उनले बताएका छन्।

घटनापछि युवराजले मन्दिर व्यवस्थापन समितिमा पुगेर उजुरी गरेका थिए। वडाध्यक्ष कमल गिरी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राई, प्रहरी वृत्तका प्रमुख इन्सपेक्टर आकाश उप्रेतीलगायतको उपस्थितिमा छलफल भए पनि निष्कर्ष निस्कन सकेन। गिरीले घटना नै नभएको बताएपछि छलफल निष्कर्षविहीन भएको युवराजको भनाइ छ।

घटनाको प्रमाणका रूपमा मन्दिरको सीसीटीभी फुटेज हेर्न माग गरे पनि आफूलाई उपलब्ध नगराइएको युवराजले बताएका छन्। उनका अनुसार यसअघि पनि गिरीले आफूलाई अपमान गरेको घटना भएको थियो।

युवराजले पुजारी गिरीका छोरा एलिश गिरीबाट समेत अपमानजनक सन्देश र ज्यान मार्ने धम्की आएको आरोप लगाएका छन्। त्यसपछि उनले राष्ट्रिय दलित आयोगमा उजुरी दिएका थिए। आयोगमा परेको उजुरीमा पुजारी गिरीसँगै वडाध्यक्ष कमल गिरी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राई, कोषाध्यक्ष पवन परियार, इन्सपेक्टर आकाश उप्रेती, कार्यकारी निर्देशक चक्रकुमार राई र सूचना केन्द्रका सीसीटीभी प्रमुख रमेश राईविरुद्ध समेत उजुरी गरिएको थियो।

वडाध्यक्ष कमल गिरी पुजारी गोपाल गिरीका सालो हुन्। राष्ट्रिय दलित आयोगमा दर्ता भएको उजुरी नम्बर ११२ का आधारमा आयोगले कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको थियो। त्यसपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाएर गिरीलाई पक्राउ गरेको हो। यसअघि पनि युवराजले भदौ १८ गते आयोगमा उजुरी दिएको विवरण सार्वजनिक भएको थियो।

युवराजले गिरीविरुद्ध कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेका छन्। प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। जातीय दुव्र्यवहारसम्बन्धी आरोप पुष्टि गर्ने अन्तिम निर्णय अदालतबाट हुने भएकाले पक्राउलाई दोष प्रमाणित भएको अर्थमा लिन मिल्दैन।

गिरीको पक्राउसँगै हलेसी मन्दिरमा पुजारीको हैसियत र व्यवस्थापनसम्बन्धी पुरानो विवाद पनि फेरि सतहमा आएको छ। गिरीलाई गुठी संस्थानले औपचारिक रूपमा मुख्य पुजारी नियुक्त गरेको नभई २०६२ सालतिर तत्कालीन गुफा समितिले चौकीदारका रूपमा नियुक्त गरेको दाबी घटनासँग सम्बन्धित पक्षले गर्दै आएका छन्।

हलेसी महादेवको पुजारी व्यवस्थापनको विवाद भने दशकौँ पुरानो हो। ऐतिहासिक अभिलेखअनुसार वि.सं. १८६१ मा तत्कालीन राजा गिर्वाणयुद्ध वीरविक्रम शाहले मनोहर गिरीलाई हलेसी महादेव गुठीको महन्तका रूपमा ताम्रपत्र प्रदान गरेका थिए। त्यसपछि मनोहरका सन्तानले पुजारीको जिम्मेवारी सम्हाल्दै आएको परम्परा रहेको दाबी छ।

वि.सं. २००६ साल पुस १९ गते धनबहादुर गिरी, तुलसीराम गिरी र अमृत गिरीलाई खड्गनिशानी प्रदान गरी तीनै जनाले आलोपालो गरी हलेसी महादेवको पूजा गर्ने व्यवस्था गरिएको विवरणसमेत अदालतमा पुगेको विवादमा उल्लेख छ।

पछि उनीहरूका सन्तानले पनि यही परम्पराअनुसार पूजा गर्दै आएका थिए। २०६२ सालमा परम्परागत पुजारी हटाइएपछि गुफा समिति गठन गरी गोपाल गिरीलाई हेरालुका रूपमा जिम्मेवारी दिइएको दाबी गरिएको छ। त्यसपछि गिरीले मुख्य पुजारीकै भूमिकामा काम गर्दै आएको पक्षहरूको भनाइ छ।

पुजारीको अधिकारसम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। २०७० सालमा परम्परागत पुजारीहरू बमप्रसाद गिरी, मन्दिप गिरी, बृजेन्द्रकुमार गिरी र अर्जुनकुमार गिरीले गुठी संस्थान तथा मन्दिर व्यवस्थापन समितिसहितका निकायलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

सर्वोच्च अदालतको २०७३ सालको फैसलामा हलेसी महादेवका ताम्रपत्रबाट पुजारी भएका मनोहर गिरीका सन्तान नै निवेदक भएको विषयमा विवाद नरहेको उल्लेख गर्दै सनातनदेखि चलिआएको परम्पराअनुसार पूजा सञ्चालन हुने व्यवस्थामा हस्तक्षेप गर्न नहुने ठहर गरिएको थियो। फैसलामा गुठी संस्थानले ताम्रपत्र तथा राज्य प्रमुखबाट स्थापित परम्पराको सम्मान गर्नुपर्ने उल्लेख छ।

यद्यपि, उक्त फैसला कार्यान्वयन भएको विषयमा विवाद कायमै रहेको छ। मन्दिर व्यवस्थापन समिति र परम्परागत पुजारी पक्षबीचको विवादका कारण गुठी व्यवस्थापनसम्बन्धी विषय लामो समयदेखि अदालत र प्रशासनिक निकायमा पुगेको देखिन्छ। हलेसी महादेव मन्दिर व्यवस्थापन समिति २०७९ पछि पुनः गठन प्रक्रियाबाट अघि बढेको र गजुरमान राई अध्यक्षमा चयन भएको विवरणसमेत सार्वजनिक अभिलेखमा छ।

गोपाल गिरीका छोरा एलिश गिरीलाई सहायक पुजारीका रूपमा नियुक्त गरिएको र गोपालका झड्केलो छोरा युवराज गिरीसमेत सहायक पुजारीका रूपमा कार्यरत रहेको विवरण पनि विवादको पृष्ठभूमिमा आएको छ। उनीहरूको पारिश्रमिकसम्बन्धी विवरणसमेत सम्बन्धित पक्षले सार्वजनिक गरेको छ।

परम्परागत पुजारी पक्षले अदालतको फैसला कार्यान्वयन नभएको भन्दै २०८० सालमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गरेको र उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको दाबी गरेको छ।

हाल भने गिरीमाथिको मुख्य कानुनी प्रक्रिया युवराज शंकरले लगाएको जातीय दुव्र्यवहारको आरोपमा केन्द्रित छ। प्रहरीले पक्राउपछि अनुसन्धान अघि बढाएको छ र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मुद्दाको थप प्रक्रिया तय हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट