प्रधानमन्त्रीकै सुराकी गर्दै थिए एआईजी दाहाल ? चोलेन्द्रको मोबाइलबाट खुलेको सूचना श्रृंखला, बालेन सरकारको एक्सनमा निलम्बन

काठमाडौँ— प्रधानमन्त्री बालेन साहको मुभमेन्ट र राजनीतिक गतिविधिसँग सम्बन्धित संवेदनशील सूचना निगरानी तथा चुहावट गरेको आशंकामा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल अनुसन्धानको घेरामा तानिएका छन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइलबाट सुरु भएको अनुसन्धान इनम सापकोटासम्म पुगेपछि सापकोटा र दाहालबीचको सम्पर्क तथा संवेदनशील सूचना आदानप्रदान खुलेको अनुसन्धान स्रोतको दाबी छ। यही आरोपमा बालेन नेतृत्वको सरकारले गृह मन्त्रालयमार्फत दाहाललाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

दाहालले प्रधानमन्त्रीको मुभमेन्ट नै निगरानी गरेको विषय भने गृह मन्त्रालयको औपचारिक विज्ञप्तिमा उल्लेख छैन। मन्त्रालयले उनको निलम्बनको कारण ‘सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीतको कार्य’ भनेको छ। सुरक्षा स्रोतले भने प्रधानमन्त्री बालेनसँग सम्बन्धित सूचना चुहावटको विषय जोडिएको भन्दै उकेराले समाचार बनाएको छ। त्यसको अन्तिम पुष्टि जाँचबुझ प्रतिवेदनबाट हुन बाँकी छ।

घटनाको धागो भने असोज ११ गते राति पूर्वप्रधानन्यायाधीश जबराको पक्राउपछि जोडिएको देखिन्छ। सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले जबरालाई निवासबाट नियन्त्रणमा लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पु¥याएको थियो। त्यसै रात एआईजी दाहाल अनुमति नलिई जबरालाई भेट्न टेकु पुगेको सशस्त्र प्रहरीका उच्च अधिकारीलाई उद्धृत गर्दै प्रकाशित विवरणमा उल्लेख छ। दाहाल र जबरा नातेदारसमेत रहेको बताइएको छ।

जबरालाई प्रहरीले करिब १२ घण्टा नियन्त्रणमा राखेको थियो। त्यसक्रममा उनको मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। मोबाइल परीक्षणबाट इनम सापकोटासँगको सम्पर्कतर्फ अनुसन्धान अघि बढेको र त्यसपछि सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको स्रोतको दावी छ।

अनुसन्धानको अर्को तहमा सापकोटा र एआईजी दाहालबीचको सम्पर्क भेटिएको थियो। सापकोटाको मोबाइलमा भेटिएका गोप्य सन्देशका आधारमा दाहालले सापकोटालाई सुरक्षासँग सम्बन्धित केही गोप्य विवरण पठाएको खुलेको थियो।

यसले अनुसन्धानको केन्द्रमा एउटा सम्भावित सूचना–श्रृंखला खडा गरेको छ—सुरक्षा संयन्त्रमा पहुँच भएका एआईजी दाहाल, बिचौलियाका रूपमा अनुसन्धानमा तानिएका इनम सापकोटा र पूर्वप्रधानन्यायाधीश जबरा। अब अनुसन्धानले खोज्ने मुख्य प्रश्न दाहालले कस्तो सूचना पाए, कसलाई दिए, किन दिए र ती सूचना अन्ततः कहाँ पुगे भन्ने हो।

त्यसमा प्रधानमन्त्री बालेनको मुभमेन्टसम्बन्धी सूचना पनि जोडिएको हो भने विषय अझ संवेदनशील बन्नेछ। प्रधानमन्त्रीको दैनिक आवागमन, भेटघाट र सुरक्षा व्यवस्थासम्बन्धी सूचना सामान्य प्रशासनिक विवरण होइन। यस्तो सूचना अनधिकृत व्यक्तिको हातमा पुग्नु कार्यकारी प्रमुखको सुरक्षा प्रणालीसँग जोडिने विषय हो।

तर अहिलेसम्म सरकारले सार्वजनिक गरेको कागजातमा बालेनको कुन मुभमेन्ट वा कुन राजनीतिक भेटघाटको सूचना चुहिएको थियो भन्ने खुलाइएको छैन। गृह मन्त्रालयले दाहालमाथि संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपमा मात्र निलम्बन गरेको जनाएको छ। त्यसैले ‘प्रधानमन्त्रीको सुराकी’ भन्ने निष्कर्ष अहिले अनुसन्धानको दाबीभन्दा अघि बढेको तथ्य होइन।

दाहालमाथि कारबाहीको प्रक्रिया भने औपचारिक रूपमा अघि बढिसकेको छ। गृह मन्त्रालयले असोज १९ गते उनलाई निलम्बन गर्दै एआईजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको छ। पोखरेललाई तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन भनिएको छ।

निलम्बनको समय पनि दाहालका लागि महत्वपूर्ण थियो। उनी एआईजीको चारवर्षे पदावधि पूरा गरी असोज २७ गते अवकाशमा जाने तयारीमा थिए। सशस्त्र प्रहरी मुख्यालयले उनको पदावधि थप गर्न गृह मन्त्रालयमा सिफारिससमेत गरिसकेको थियो। तर पदावधि थपको प्रक्रिया चलिरहेका बेला संवेदनशील सूचना चुहावटको आरोपमा उनी निलम्बित भएका हुन्।

दाहालमाथिको अनुसन्धानमा इनम सापकोटाको भूमिका पनि महत्वपूर्ण बनेको छ। सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको र हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको विवरण सार्वजनिक भएको छ। अनुसन्धानकर्ताले भने उनीसँग दाहाल र जबरासँगको सम्पर्कका साथै अन्य उच्च तहका व्यक्तिसँगको सम्बन्धसमेत खोतलिरहेका छन्।

सापकोटाको सम्बन्ध केवल जबरासँग मात्र सीमित थियो कि उनी सुरक्षा निकायका अधिकारीसँग समेत नियमित सम्पर्कमा थिए भन्ने प्रश्न अहिले अनुसन्धानको अर्को पाटो बनेको छ। प्रकाशित विवरणअनुसार उनको मोबाइलमा दाहालसँग भएका कुराकानी र सन्देश अनुसन्धानको प्रमाणका रूपमा हेरिएका छन्।

दाहाल र जबराको सम्बन्ध नातेदारीसम्म सीमित थियो वा त्यसबाट बाहिर कुनै सूचना आदानप्रदानको संयन्त्रसमेत बनेको थियो भन्ने प्रश्न पनि अनुसन्धानको केन्द्रमा छ। किनकि जबरा पक्राउ परेको रात दाहाल अनुमति नलिई टेकु पुगेको घटनाले सुरुवातमै सुरक्षा निकायभित्र प्रश्न उठाएको थियो। त्यसपछि जबराको मोबाइल, सापकोटाको डिजिटल उपकरण र दाहालबीचको सम्पर्कलाई एउटै अनुसन्धान शृंखलामा जोडिएको हो।

गृहमन्त्री सुधन गुरुङले दाहाल निलम्बित भएकै दिन राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्तिसम्म पु¥याउने कार्यलाई गम्भीर रूपमा लिने बताएका छन्। उनले पदले सूचना प्राप्त गर्ने अधिकार दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने भन्दै राज्य र संगठनमाथि विश्वासघात गर्ने जोसुकैलाई कानुनी कठघरामा ल्याइने बताएका छन्।

यस घटनामा अहिले तीनवटा तह छुट्याउनुपर्ने देखिन्छ। पहिलो, जबराको मोबाइलबाट अनुसन्धान इनम सापकोटासम्म पुग्नु। दोस्रो, सापकोटाको डिजिटल सम्पर्कबाट एआईजी दाहालमाथि संवेदनशील सूचना चुहावटको अनुसन्धान केन्द्रित हुनु। र तेस्रो, त्यही अनुसन्धानमा प्रधानमन्त्री बालेनको मुभमेन्टसमेत निगरानी भएको दाबी सार्वजनिक हुनु।

यी तीनै तहबीचको सम्बन्ध पुष्टि भए राज्यको सुरक्षा संयन्त्रभित्रैबाट कार्यकारी प्रमुखको सूचना बाहिरिएको गम्भीर विषय बन्नेछ। अहिलेका लागि भने निलम्बन र छानबिन आधिकारिक तथ्य हुन, बालेनको मुभमेन्ट निगरानी तथा त्यसको उद्देश्य अनुसन्धानबाट पुष्टि हुन बाँकी आरोप हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट