नुहाउँदै गरेको भिडियो खिचेर छिमेकी युवतीलाई यौन सम्बन्धको दबाब, २४ हजार तिरेर उम्किए लोध

काठमाडौँ— छिमेकी युवतीको नुहाउँदै गरेको गोप्य भिडियो खिचेर शारीरिक सम्बन्ध राख्न दबाब दिएको र नमाने सामाजिक सञ्जालमा सार्वजनिक गरी चरित्रहत्या गर्ने धम्की दिएको कसुरमा रूपन्देही जिल्ला अदालतले नागेश्वर लोधलाई एक महिना कैद र ५ हजार रुपैयाँ जरिबाना सुनाएको छ।

अदालतले पीडित युवतीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा २०० रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको छ। गैडहवा गाउँपालिका–६, कानीजवाका २० वर्षीय लोधले युवतीको मञ्जुरीबिना नुहाउँदै गरेको भिडियो खिचेको र त्यही भिडियो देखाएर धम्की दिएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बुधबार अभियोग दाबी पुग्ने फैसला गरेको हो। अदालतमा पेस गरिएको घटनाविवरणअनुसार युवती आफ्नै घरको धारामा कपडाको बार लगाएर नुहाइरहेका बेला लोधले लुकीछिपी मोबाइलबाट उनका गोप्य अङ्ग देखिने फोटो तथा भिडियो खिचेका थिए।

लोधले बयानका क्रममा पक्राउ पर्नुभन्दा ८–१० दिनअघि दिउँसो करिब ३–४ बजेको समयमा चापाकलमा नुहाइरहेकी युवतीको भिडियो खिचेको स्वीकार गरेको विवरणमा उल्लेख छ। त्यही भिडियोका आधारमा लोधले भदौ ३१ गते दिउँसो करिब साढे ३ बजे घरमा कोही नभएको मौका पारेर युवतीको घरमा प्रवेश गरेको अभियोगपत्रमा उल्लेख छ।

उनले मोबाइलमा भिडियो देखाउँदै आफूले भनेअनुसार शारीरिक सम्बन्ध राख्न दबाब दिएको र नमाने फेसबुकमा अश्लील भिडियो राखेर चरित्रहत्या गर्ने तथा जीवन बर्बाद पारिदिने धम्की दिएको अभियोग लगाइएको थियो।

युवतीले रोइकराइ गरेपछि छिमेकीहरू घटनास्थलमा भेला भएका थिए। स्थानीय जम्मा भएपछि भाग्न खोजेका लोधलाई उनीहरूले नियन्त्रणमा लिएको विवरणमा उल्लेख छ। उनको मोबाइल जाँच गर्दा युवती नुहाउँदै गरेको भिडियो फेला परेको थियो।

घटनापछि असोज ४ गते इलाका प्रहरी कार्यालय लुम्बिनीले लोधलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले उनको मोबाइल बरामद गरेको थियो। पीडित युवतीले आफूलाई दिइएको धम्की र ब्ल्याकमेलिङसम्बन्धी संवाद रेकर्ड गरिएको पेनड्राइभसमेत प्रहरी तथा अदालतमा प्रमाणका रूपमा पेस गरेकी थिइन्।

जिल्ला सरकारी वकिल कार्यालयले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १६ र दफा २९(१)(ङ) अन्तर्गत कसुर भएको दाबी गरेको थियो। दफा १६ ले कुनै व्यक्तिलाई सताउने, हैरान पार्ने वा अनुचित फाइदा लिने नियतले निजको मञ्जुरीबिना तस्बिर वा भिडियो खिच्ने तथा प्रचारप्रसार गर्ने कार्यलाई निषेध गर्छ।

ऐनको दफा २९(२) अनुसार यस्तो कसुरमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। सरकारी वकिल कार्यालयले लोधलाई अधिकतम सजाय दिन माग गरेको थियो।

पीडितको गोपनीयता, मानप्रतिष्ठा र चरित्रमा क्षति पुगेको भन्दै सरकारी वकिल कार्यालयले वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको दफा ३१ बमोजिम उचित क्षतिपूर्ति भराउन पनि माग गरेको थियो। साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(४) बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन माग गरिएको थियो।

तर अदालतले लोधलाई एक महिना कैद, पाँच हजार रुपैयाँ जरिबाना, पीडित युवतीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति र राहत कोषमा २०० रुपैयाँ जम्मा गर्नुपर्ने फैसला सुनायो।

उपलब्ध विवरणअनुसार, एक वर्षभन्दा कम कैद सजाय भएको अवस्थामा दैनिक ३०० रुपैयाँका दरले हुन आउने रकम बुझाएर कैदको सट्टा रकम तिर्न सकिने विकल्पसमेत हुन्छ। १७ दिन प्रहरी हिरासतमा बिताएका लोधले जरिबाना, क्षतिपूर्ति र राहत कोषको रकमसहित कुल २४ हजार २०० रुपैयाँ भुक्तानी गरेर थुनामुक्त भएको विवरणमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट