झापाको बेलडाँगीमा ससुराले बुहारीलाई कुटपिट गर्दा काखको तीनमहिने शिशुको मृत्यु
दमक— झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा ससुराले बुहारीमाथि कुटपिट गर्दा उनको काखमा रहेका तीनमहिने शिशुको मृत्यु भएको छ। बिहीबार दिउँसो भएको घटनामा घाइते शिशु सामेल तामाङको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दमक नगरपालिका–३ स्थित शिविरको सेक्टर डी–२ मा बिहीबार दिउँसो करिब साढे १ बजे एकै परिवारका सदस्यबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। विवादमा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बासिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारती संलग्न रहेको प्रहरीले जनाएको छ।
विवादका क्रममा मनबहादुरले बुहारी बिमलामाथि कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका छोरा सामेल घाइते भएका थिए। घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा दिउँसो २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले मनबहादुर, आशा, फुर्बासिंह र बिमलालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेको छ। घरायसी विवादको कारण, कुटपिटको परिस्थिति र शिशुको मृत्युको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

