खगेन्द्र सुनारको चार वर्ष पुरानो प्रकरण फेरि चर्चामाः राज्यमन्त्री भएकै दिन महिलामाथि कुटपिट, प्रहरीमा मिलापत्र

काठमाडौँ— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको भनिएको फोन संवाद सार्वजनिक भएपछि अहिले चर्चामा आएको विवादको पृष्ठभूमि चार वर्षअघिको घटनासम्म पुग्छ।

नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशसभा सदस्य बनेकी र तत्कालीन प्रदेश सरकारमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी एक महिलामाथि सुनारले कुटपिट गरेको आरोप त्यसबेला नै लागेको थियो। प्रहरी हिरासत, मिलापत्र र चितवनको सौराहामा भएको भनिएको अर्को घटनासम्म फैलिएको यो प्रसंगले अहिले फेरि राजनीतिक पहुँच, घरेलु तथा लैङ्गिक हिंसाको आरोप र पीडितको सुरक्षा जस्ता प्रश्न उठाएको छ।

सुनार र ती महिलाबीच विवाहेत्तर सम्बन्ध रहेको घटनाका जानकार स्रोतहरूको दाबी छ। हाल सार्वजनिक भएको भनिएको फोन संवादमा सुनिएको आवाज, त्यसको प्रामाणिकता र संवादको पूर्ण सन्दर्भ भने स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ। सुनार मात्र होईन पीडित भनिएकी ती महिलाले पनि अडियोमा सुनिएको आवाज आफ्नो नभएको बताउँदै आएकी छिन्।

त्यसैले अडियोलाई मात्रै आधार बनाएर संवादमा रहेका व्यक्तिको पहिचान वा आरोपको सत्यता अन्तिम रूपमा निष्कर्ष निकाल्न सकिँदैन। तर घटनाका जानकारहरूले सुनारसँग जोडिएको विगतको विवादतर्फ ध्यानाकर्षण गराएका छन्।

स्रोतका अनुसार, नुवाकोटको पञ्चकन्या गाउँपालिकाकी ती महिला पारिवारिक जटिलताका कारण काठमाडौंमा बस्दै आएकी थिइन्। उनले आफ्नै भिनाजुसँग विवाह गरेको र दिदीसँगको सम्बन्धमा आएको तनावका कारण गाउँमा बस्न असहज भएको स्रोतको दाबी छ। नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र उनी एउटै गाउँका बासिन्दा रहेको तथा महतको सहजीकरणमा उनले एउटा गैरसरकारी संस्थामा जागिर पाएको वताईएको छ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा परिन् र प्रदेशसभा सदस्य बनिन्। २०७८ कात्तिक ११ गते तत्कालीन नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भए। त्यसपछि पुस ९ गते मन्त्रिपरिषद् विस्तार हुँदा ती महिला स्वास्थ्य राज्यमन्त्री नियुक्त भइन्। स्रोतका अनुसार, सुनारसँग उनको निकटता त्यसअघि नै थियो।

राज्यमन्त्री नियुक्त भएपछि ती महिलाले काठमाडौंको सीतापाइला क्षेत्रस्थित शरणपुरमा फ्ल्याट भाडामा लिएकी थिइन्। शपथग्रहणपछि काठमाडौं फर्किएर उनी त्यही निवासमा पुगेकी थिइन्। स्रोतका अनुसार, त्यही फ्ल्याटमा सुनार पुगेका थिए र लेनदेनसम्बन्धी विवादका क्रममा महिलामाथि कुटपिट भएको आरोप लागेको थियो।

घटनाका बेला ती महिला बहालवाला राज्यमन्त्री थिइन्। उनको सुरक्षामा खटिएकी महिला प्रहरी कर्मचारीले शरीरका संवेदनशील भागमा चोट लागेको देखेपछि प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयमा जानकारी गराएको प्रहरी स्रोतको भनाइ छ। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एसएसपी सुदीप गिरीले प्रहरी वृत्त स्वयम्भूलाई घटनामा संलग्न भनिएका पुरुषलाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो।

त्यसबेला प्रहरी वृत्त स्वयम्भूको नेतृत्व तत्कालीन डीएसपी मिलन केसीले गरिरहेका थिए। उनी आफैँ राज्यमन्त्रीको शरणपुरस्थित निवासमा पुगेका थिए। स्रोतका अनुसार, त्यहाँबाट खगेन्द्र सुनारलाई पक्राउ गरिएको थियो। सुनारले आफूलाई दलित अभियन्ता तथा पत्रकारका रूपमा परिचय दिएका थिए।

पक्राउपछि सुनारलाई प्रहरी वृत्त स्वयम्भूको हिरासतमा राखिएको थियो। केही समयपछि घाइते अवस्थामा रहेकी राज्यमन्त्री पनि प्रहरी कार्यालय पुगेकी थिइन्। उनले सुनारलाई आफ्नो जिम्मामा छाडिदिन आग्रह गरेको स्रोतले जनाएको छ। तर, बहालवाला राज्यमन्त्रीमाथि हातपात गरेको आरोप लागेका व्यक्तिलाई कुनै प्रक्रिया पूरा नगरी छाड्न नसकिने भन्दै प्रहरीले उनलाई फर्काएको थियो।

प्रहरीले छोड्न नमानेपछि कठ्यांग्रिदो जाडोमा कामिरहेका सुनारलाई ति महिला आफैंले न्यानो कपडाको व्यवस्था गरेकी थिईन। प्रहरी स्रोतका अनुसार, पक्राउ परेको भोलिपल्ट जिल्ला प्रहरीको निर्देशनमा दुवै पक्षबीच मिलापत्रको कागज तयार पारिएपछि सुनारलाई छाडिएको थियो।

सीतापाइला घटनापछि चितवनको सौराहामा पनि सुनारले ती महिलामाथि कुटपिट गरेको आरोप लागेको छ। घटनाका जानकार स्रोतका अनुसार, कुटपिटपछि सुनार त्यहाँबाट निस्किएका थिए। त्यसपछि महिलाको मुख सुन्निएको र उनी करिब एक सातासम्म मन्त्रालय नगएको दाबी गरिएको छ।

यी दुई घटनाबले सम्बन्धको विवादभन्दा बाहिर गएर अर्को प्रश्न उठाउँछ—राजनीतिक पदमा पुगेकी महिलामाथि कुटपिट भएको घटनामा राज्यका निकायले के प्रक्रिया अपनाए? प्रहरी हिरासतसम्म पुगेको प्रकरण मिलापत्रमा टुंगिएको हो भने त्यसको आधार के थियो? र, त्यसपछि फेरि हिंसाको आरोप लागेपछि त्यसको छानबिन भयो कि भएन?

अहिले सुनारसँग जोडिएको भनिएको फोन संवाद सार्वजनिक भएपछि पुराना घटनाक्रम फेरि चर्चामा आएका छन्। स्रोतका अनुसार, ती महिला अहिले छोरासहित अमेरिका जाने तयारीमा छिन्। विदेश जानुअघि विवादमा पर्न नचाहेकाले अडियोमा सुनिएको आवाज आफ्नो नभएको बताएको स्रोतको दाबी छ। तर, उनको भनाइको वास्तविक कारण वा अमेरिका जाने तयारीसँग विवादको कुनै सम्बन्ध छ कि छैन भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

खगेन्द्र सुनारसँग जोडिएको अहिलेको अडियो विवादले चार वर्षअघिका भनिएका घटनालाई फेरि सार्वजनिक बहसमा ल्याएको छ। तर, यस प्रकरणको वास्तविक निष्कर्ष अडियोको चर्चा वा सामाजिक सञ्जालमा फैलिएका दाबीबाट होइन, त्यसको प्रामाणिकता परीक्षण, पुराना घटनाका अभिलेखको खोजी, सम्बन्धित पक्षको जवाफ र आवश्यक अनुसन्धानबाट मात्रै निस्कन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट