विराटनगरमा फेन्सी पसलमा आगलागी, २० लाखको क्षतिको अनुमान
विराटनगर— विराटनगर महानगरपालिका–९ स्थित काली मन्दिरनजिकको फेन्सी कपडा पसलमा सोमबार राति आगलागी हुँदा बिक्रीका लागि राखिएका कपडा जलेर नष्ट भएका छन्। कुन्दन साहले सञ्चालन गर्दै आएको जय श्री सम्बोधन फेन्सी कपडा पसलमा भएको आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
कन्हैयालाल साहको घर भाडामा लिएर सञ्चालन गरिएको उक्त पसलमा आगलागी भएको जानकारी प्रहरीले मंगलबार बिहान करिब ७ बजे मात्रै पाएको थियो। आगलागीको एकिन समय भने खुल्न नसकेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।
घटनाबारे सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय विराटनगर र सीआरभी घोघापुलबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक विवरणअनुसार पसलमा बिक्रीका लागि राखिएका कपडा पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगो लाग्नुको कारण खुल्न सकेको छैन। घटनाको कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी मिश्रले बताए।

