बिहारमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका
राजविराज– भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदी पार गर्ने क्रममा मंगलबार राति डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी यात्रु सवार डुङ्गा दुर्घटनामा पर्दा मृत्यु हुनेमध्ये अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मंगलबार राति करिब साढे ८ बजे भएको दुर्घटनापछि नदीमा उद्वार तथा खोजी कार्य सञ्चालन गरिएको थियो। घाइतेमध्ये सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज तथा अस्पताल (पीएमसीएच) पठाइएको वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहले जानकारी दिएकी छिन्। उद्वारका लागि राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) को टोली परिचालन गरिएको छ।
प्रहरीका अनुसार मृतकमध्ये पिंकी, अंकिता, सुनीता, आर्यन, अलिशा, सिकी, भोणु र मीरासहित केहीको पहिचान खुलेको छ। मृतकको पूर्ण विवरण भने खुलाइएको छैन। दुर्घटनापछि उद्वार व्यवस्थापन र प्रशासनको भूमिकालाई लिएर स्थानीय बासिन्दाले विरोध जनाएका छन्। घटनास्थल पुगेकी जिल्ला अधिकारी सिंहलाई स्थानीयले घेराउ गर्दै प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।
बिहार सरकारले दुर्घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेको छ। त्यस्तै, भारतीय प्रधानमन्त्री कार्यालय (पीएमओ) का तर्फबाट मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको छ। यसअनुसार मृतकका परिवारले दुवै स्रोतबाट गरी जनही छ लाख भारतीय रुपैयाँ राहत पाउनेछन्। घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
डुङ्गा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हो वा अन्य कुनै कारणले पल्टिएको हो भन्नेबारे उपलब्ध विवरणमा स्पष्ट जानकारी छैन। दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

