टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

जनकपुर– सामाजिक सञ्जाल टिकटकमा गालीगलौज, धाकधम्की र हिंसा फैलाउन उत्प्रेरित गर्ने प्रकृतिका भिडियो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले २० वर्षीय एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले यस्तै गतिविधिमा संलग्न अन्य चार जनामाथि समेत अनुसन्धान भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनिया गाउँपालिका–१ निवासी ‘क्रिमिनल’ भनिने राजु यादवलाई असोज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले यादवले टिकटकमा विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच पुग्ने गरी गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गरेका र धाकधम्की दिने प्रकृतिका भिडियो अपलोड गरेको जनाएको छ। त्यस्ता सामग्रीले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्न सक्ने प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले असोज २८ गते जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका यादवमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ। तर उनीमाथि कुन कानुनी दफाअन्तर्गत अनुसन्धान भइरहेको हो भन्ने विवरण विज्ञप्तिमा खुलाइएको छैन।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी गालीगलौज, आपत्तिजनक अभिव्यक्ति तथा धाकधम्कीपूर्ण फोटो र भिडियो पोस्ट गरेको आरोपमा अन्य चार जनामाथि पनि अनुसन्धान तथा कानुनी कारबाही अघि बढिरहेको जनाएको छ। उनीहरूको पहिचान र अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा हिंसा भड्काउन उत्प्रेरित गर्ने र व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच पु¥याउने सामग्री पोस्ट गर्ने गतिविधिमाथि अनुसन्धान भइरहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट