धनुषामा विभत्स घटनाः घाँटी रेटिएको अवस्थामा महिलाको शव, श्रीमान् पनि झुन्डिएको अवस्थामा मृत फेला

जनकपुर– धनुषाको मिथिलाबिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीमा एक महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। घटनापछि उनका श्रीमान् पनि गाउँनजिकै खेतको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

स्थानीयका अनुसार माइतीमा बस्दै आएकी रिना यादवको घरमै घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो। उनका श्रीमान् घरज्वाइँका रूपमा उनीसँगै बस्दै आएका थिए। स्थानीयका अनुसार रिनाका श्रीमान् केही दिनअघि मात्रै विदेशबाट घर फर्किएका थिए। उनीहरूबीच झगडा भएको हुन सक्ने र त्यसपछि घटना भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।

तर घटनाको कारण र दुवैको मृत्युबीचको सम्बन्धबारे प्रहरीले आधिकारिक निष्कर्ष सार्वजनिक गरिसकेको छैन। घटनामा एक बालकको खुट्टामा समेत चोट लागेको स्थानीयले बताएका छन्। बालक कसरी घाइते भए भन्नेबारे भने थप विवरण खुल्न बाँकी छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। रिनाको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवैको मृत्युको वास्तविक कारण र घटनाक्रमबारे विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट