विराटनगरका पिजफायर सञ्चालक मनोज खत्री जंगलमा मृत फेला, स्कुटर अझै बेपत्ता

विराटनगर– विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्री मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा मृत फेला परेका छन्। शुक्रबार घरबाट स्कुटर लिएर निस्किएका ५१ वर्षीय खत्रीको शव शनिबार अपराह्न जंगलभित्रको रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।

विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

एसपी कटवालका अनुसार खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। परिवारका सदस्यका अनुसार घरबाट निस्किएपछि उनी सम्पर्कविहीन भएका थिए। शनिबार अपराह्न करिब साढे ३ बजे जंगलमा शव फेला परेको थियो। तर, साँझ करिब ७ बजे मात्रै मृतकको सनाखत भएको थियो।

खत्रीले प्रयोग गरेको स्कुटर भने हालसम्म फेला परेको छैन। उनको मृत्युको कारण पनि खुल्न सकेको छैन। स्कुटर नभेटिनु र मृत्युको कारण स्पष्ट नहुनुका बीच प्रहरीले घटनालाई विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान गरिरहेको एसपी कटवालले बताए।

प्रहरीका अनुसार खत्रीको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मृत्युको कारण तथा घटनासँग सम्बन्धित अन्य तथ्य खुल्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट