सप्तरीमा २५ वर्षीया महिलामाथि सामूहिक बलात्कारको आरोप, तीन युवकको खोजीमा प्रहरी
राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिका–९, टिकुलियामा २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जना स्थानीय युवकविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ। प्रहरीले आरोपितहरूको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको जनाएको छ।
पीडित परिवारका अनुसार घटनाबारे बिहीबार इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ताका लागि निवेदन दिइएको हो। जाहेरीमा घटना बुधबार राति करिब साढे ९ बजे स्थानीय मदरसानजिकैको आँपको बगैँचामा भएको उल्लेख छ।
जाहेरीअनुसार गाउँमा आयोजित दुर्गापूजाको मूर्ति विसर्जनका लागि बलान नदीमा लगिएको थियो। मूर्ति विसर्जनपछि ट्याक्टरमा घर फर्किने क्रममा डिजेल सकिएर गाडी बाटोमै रोकिएपछि महिला पैदल घरतर्फ जाँदै थिइन्।
सोही क्रममा बाटोछेउमा बसेका तीन जना युवकले महिलालाई नियन्त्रणमा लिएर मुख थुनी नजिकैको आँपको बगैँचामा पु¥याएको र पालैपालो बलात्कार गरेको जाहेरीमा आरोप लगाइएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले पीडितको स्वास्थ्य परीक्षण गराउने तथा घटनास्थल मुचुल्कालगायत अनुसन्धानका प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
एसपी रूपक खड्काका अनुसार घटनामा संलग्न रहेको आशंका गरिएका युवकहरूको पहिचान भइसकेको छ। उनीहरूलाई पक्राउ गर्न खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले आरोपितबारे थप विवरण सार्वजनिक गरेको छैन। घटनाको थप विवरण तथा आरोपको आधिकारिक पुष्टि अनुसन्धानपछि खुल्नेछ।

