बंगालको खाडीको प्रणालीले नेपालमा भारी वर्षाको जोखिम, २९ जिल्लालाई सतर्क रहन सुझाव
काठमाडौँ– बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक मौसम विश्लेषणअनुसार तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले तराईमा डुबान, पहाडी क्षेत्रमा पहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम औंल्याइएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको मौसम विश्लेषणअनुसार कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी वर्षाको जोखिम हुन सक्छ। केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने उनको प्रारम्भिक आकलन छ।
भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने अनुमान गरिएको प्रणालीको प्रभाव बिहीबार रातिदेखि थप बढ्न सक्ने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्ने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा कम प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
यद्यपि, मौसम प्रणालीको मार्ग र तीव्रताअनुसार वर्षाको मात्रा तथा बढी प्रभावित हुने क्षेत्र परिवर्तन हुन सक्ने मौसमविद् पोखरेलले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ।
डा. पोखरेलका अनुसार अहिले नेपालमा वर्षा गराउन सक्ने तीनवटा मौसमी गतिविधि सक्रिय वा विकसित हुने क्रममा छन्। दक्षिण भारतमा उत्तरपूर्वी मनसुनको प्रभाव कायम रहनुका साथै त्यहाँ न्यून चापीय प्रणाली पनि विकसित भइरहेको छ। बंगालको खाडीमा विकसित प्रणाली नेपालतर्फ आउने मुख्य मौसमी गतिविधिका रूपमा देखिएको छ। यससँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले वर्षाको सम्भावना बढ्न सक्ने उनको विश्लेषण छ।
मनाङसहित हिमाली क्षेत्रमा पनि विशेष सतर्कता आवश्यक रहेको मौसमविद्हरूले बताएका छन्। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले पदयात्रा तथा लामो दूरीको यात्रामा निस्किनेहरूले मौसमको अवस्था बुझेर मात्र योजना बनाउनुपर्ने सुझाव दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बंगालको खाडीमा विकसित प्रणाली भारतको उडिसा र बिहार हुँदै नेपालतर्फ आउन सक्ने आकलन गरेका छन्। उनका अनुसार पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ।
उनले दशैंपछि कार्यस्थल फर्किने तयारीमा रहेका यात्रुलाई शुक्रबार र शनिबारको यात्रा पुनर्विचार गर्न तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न सुझाव दिएका छन्। बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएकाहरूलाई पनि मौसमको अवस्था हेरेर काम स्थगित गर्न उनले आग्रह गरेका छन्।
मौसमविद् उज्ज्वल उपाध्यायले पनि कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा, बाली काट्ने तथा भित्र्याउने काम र पदयात्रा नगर्न सुझाव दिएका छन्। विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
सम्भावित वर्षाले तराईका होचा भूभागमा डुबान, पहाडी क्षेत्रमा पहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम बढाउन सक्ने भएकाले स्थानीय बासिन्दा, किसान र यात्रुले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न आवश्यक छ। वर्षा र जोखिमसम्बन्धी अहिलेका विवरण प्रारम्भिक आकलनमा आधारित रहेकाले अन्तिम अवस्था मौसम प्रणालीको विकाससँगै स्पष्ट हुने छ।

