आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्दा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ मध्यरातमा पक्राउ

रूपन्देही– लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई प्रहरीले मध्यरातमा पक्राउ गरेको छ। घरमा सुतिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएर गएको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिएका छन्।

चौधरीका अनुसार खाँलाई आनी छोइङको नियुक्तिको विरोध गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। यद्यपि, प्रहरीले उनलाई कुन कसुरमा र कुन कानुनी आधारमा पक्राउ गरेको हो भन्ने विषयमा आधिकारिक विवरण सार्वजनिक भएको छैन।

आनी छोइङ लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले उक्त निर्णयको विरोध गर्दै आएको छ। अभियानले नियुक्तिको विरोधमा चरणबद्ध आन्दोलनसमेत गर्दै आएको जनाएको छ।

आनीको नियुक्तिलाई लिएर विवाद बढिरहेका बेला आन्दोलनको नेतृत्व गरिरहेका संयोजक नै पक्राउ परेपछि महाअभियानले सरकारको कदमप्रति कडा आपत्ति जनाएको छ। अभियानले मध्यरातमा घरबाटै संयोजकलाई पक्राउ गरिएको घटनाको भत्र्सना गर्दै खाँलाई निःशर्त रिहा गर्न माग गरेको छ।

महाअभियानले आनी छोइङको नियुक्तिविरुद्धको आफ्नो आन्दोलनलाई निरन्तरता दिँदै आएको छ। संयोजक पक्राउ परेपछि आन्दोलन र सरकारबीचको विवाद थप चर्किन सक्ने देखिएको छ। तर खाँको पक्राउको कारण, उनीमाथि लगाइएको आरोप तथा प्रहरीले अपनाएको कानुनी प्रक्रियाबारे थप विवरण आउन बाँकी छ। पक्राउबारे प्रहरीको आधिकारिक धारणा सार्वजनिक भएपछि घटनाको कानुनी पक्ष थप स्पष्ट हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट