उदयपुरमा ब्रेक फेल भएर बोलेरो १० मिटर तल खस्यो, चालकसहित १५ जना घाइते
उदयपुर– उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। ब्रेक फेल भएपछि अनियन्त्रित बनेको जिप सडकबाट करिब १० मिटर तल खसेको थियो।
प्रहरीका अनुसार प्रदेश ३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा जिप चालक कटारी नगरपालिका–११ का २९ वर्षीय निर्पबहादुर खड्कासहित १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्वार गरी उपचारका लागि कटारी अस्पताल पु¥याइएको थियो।
घाइतेमध्ये कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगरको अवस्था थप उपचार आवश्यक पर्ने देखिएपछि उनलाई विराटनगर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा उदयपुरसहित झापा, मकवानपुर, महोत्तरी र सिन्धुलीका यात्रु घाइते भएका छन्। घाइतेमध्ये बालबालिका तथा ज्येष्ठ नागरिकसमेत रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँका अनुसार दुर्घटनामा सामान्य घाइते भएका चालक खड्कालाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारीअनुसार ब्रेक फेल हुनु दुर्घटनाको कारण देखिए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सिद्धिचरण राजमार्गमा भएको दुर्घटनाले यात्रुवाहक सवारीसाधनको प्राविधिक अवस्था र यात्रु सुरक्षामाथि फेरि प्रश्न उठाएको छ। यद्यपि, जिपको प्राविधिक परीक्षणबाट ब्रेक फेल भए–नभएको विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।

