गुल्मीमा २५० मिटर तल खस्यो स्कार्पियो, मृतकको संख्या ६ पुग्यो, ४ जना घाइते
काठमाडौँ– गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सोमबार अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्कार्पियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बागले, वालिङ–१० का शिव पराजुली तथा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे छन्। उपचारका क्रममा मृत्यु भएकी निता बगालेको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ।
दुर्घटनामा छविलाल पाण्डे, गोमता पाण्डे र बालकृष्ण सुवेदीसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये छविलाल पाण्डेको अवस्था गम्भीर रहेको र गोमता पाण्डे तथा बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्वारका लागि घटनास्थल पुगेको थियो। घाइतेहरूलाई उपचारका लागि स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताललगायतका अस्पतालमा लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ। मृतक तथा घाइतेहरूको विवरण पुष्टि गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

