भन्सार छलीका सामानमा ४७ किलो बारुदको कच्चा पदार्थ ओसारपसार, धरानमा ट्रकसहित तीन जना पक्राउ

धरान– भारतबाट भन्सार छली गरेर ल्याइएका सामानको बीचमा लुकाएर ४७ किलोभन्दा बढी विस्फोटक पदार्थ ल्याएको पाईएपछि सुनसरी प्रहरीले एउटा मिनी ट्रकसहित तीन जनालाई पक्राउ गरेको छ। धरानमा प्रहरीले मिनी ट्रक रोकेर जाँच नगरेको भए उक्त पदार्थ कहाँ पुग्थ्यो र के प्रयोजनमा प्रयोग हुन्थ्यो भन्ने अहिलेसम्म सार्वजनिक हुने थिएन।

धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकिङ पोस्टमा गरिएको नियमित सवारी जाँचका क्रममा प्रहरीले ४७ किलो ८७० ग्राम शंकास्पद सेतो ठोस पदार्थ बरामद गरेको थियो। सुरुमा सामान्य सोडा वा अन्य रासायनिक पदार्थ हुन सक्ने अनुमान गरिएको उक्त वस्तु प्रयोगशालाको परीक्षणपछि बारुद बनाउन प्रयोग हुने कच्चा पदार्थ भएको पुष्टि भएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तर बरामद पदार्थको स्रोत, कसले उपलब्ध गराएको थियो, कहाँ पु¥याउन खोजिएको थियो र यसको वास्तविक प्रयोजन के थियो भन्ने महत्वपूर्ण प्रश्नको जवाफ अझै खुलेको छैन।

कात्तिक १० गते इटहरीबाट धरानतर्फ आउँदै गरेको कोशी प्रदेश ०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक प्रहरीले तीनकुनेमा रोकेर जाँच गरेको थियो। ट्रकभित्र भन्सार छली गरेर ल्याइएका विभिन्न सामानसँगै जुटका बोरामा प्याकिङ गरिएको ठूलो परिमाणको सेतो पदार्थ फेला परेको थियो।

प्रहरीले तत्काल उक्त पदार्थ नियन्त्रणमा लिएर परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशी, काठमाडौं पठाएको थियो। प्रयोगशालाबाट प्राप्त प्रतिवेदनमा नमुनामा पोटासियम आयन र नाइट्रेट आयन फेला परेको उल्लेख छ। यही परीक्षणका आधारमा उक्त पदार्थ विस्फोटक पदार्थ अर्थात् गन पाउडर बनाउन प्रयोग हुने कच्चा पदार्थ भएको प्रहरीले जनाएको छ।

सामान्य भन्सार छलीको सामान ओसारपसारका रुपमा सुरु भएको घटना त्यसपछि विस्फोटक पदार्थसम्बन्धी गम्भीर अनुसन्धानमा परिणत भएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा मिनी ट्रकका चालक मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी छन्।

सुरुमा चेकजाँचका क्रममा भन्सार छलीका सामान नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपसमेत लागेको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको थियो।

तर प्रयोगशालाको प्रतिवेदन आएपछि घटनाको प्रकृति थप गम्भीर बनेको छ। प्रहरीले पक्राउ परेका तीनै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

यो घटनाले केही गम्भीर प्रश्न खडा गरेको छ। ४७ किलोभन्दा बढी बारुदको कच्चा पदार्थ सामान्य व्यापारिक सामानसँगै किन ओसारपसार भइरहेको थियो? यसलाई कहाँबाट ल्याइएको थियो? यसको अन्तिम गन्तव्य कहाँ थियो? र यति ठूलो परिमाणको रासायनिक पदार्थ कसको प्रयोजनका लागि लगिँदै थियो?

यी प्रश्नको जवाफबिना पक्राउ परेका तीन जनाको विवरण सार्वजनिक हुनु मात्रै घटनाको वास्तविकता उजागर हुनु होइन। बरु अनुसन्धानको महत्वपूर्ण पाटो अब उनीहरूभन्दा बाहिर पुगेर पदार्थको आपूर्ति शृंखला, स्रोत र सम्भावित प्रयोगसम्म पुग्नुपर्ने देखिन्छ।

प्रहरीले भने घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार भन्सार छलीका सामानसँगै उक्त पदार्थ ओसारपसार भइरहेको थियो। अनुसन्धानपछि यसको वास्तविक स्रोत र गन्तव्य खुल्ने उनले बताएका छन्।

धरानको तीनकुनेमा भएको एउटा सवारी जाँचले ४७ किलोभन्दा बढी विस्फोटक पदार्थ बरामद ग¥यो। तर बरामद पदार्थभन्दा पनि महत्वपूर्ण प्रश्न त्यसको पछाडि रहेको सम्भावित सञ्जाल हो। कसले ल्यायो, कसले पठायो र कहाँ पु¥याउन खोजियो भन्ने तथ्य प्रहरीले सार्वजनिक गर्न बाँकी नै छ।

अहिलेका लागि तीन जना पक्राउ परेका छन्, ४७ किलो ८७० ग्राम पदार्थ प्रहरी नियन्त्रणमा छ। तर त्यो पदार्थको अन्तिम गन्तव्य र प्रयोगको उद्देश्य अझै अनुसन्धानकै विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट