सप्तकोशीमा बोट दुर्घटनाः तीनको मृत्यु, तीन अझै बेपत्ता, तर जिम्मेवार को?, तयार हुँदैछ छानबिन प्रतिवेदन
काठमाडौँ– सप्तकोशी नदीमा तीन जनाको ज्यान जाने र तीन जना अझै बेपत्ता हुने गरी भएको पानीबोट दुर्घटनाको एक साताभन्दा बढी समय बितिसक्दा पनि दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान हुन सकेको छैन। दुर्घटनाको छानबिन गर्न गठित सरकारी समितिले अध्ययन तीव्र बनाएको बताए पनि घटनाको जवाफदेहिता र दोषीको पहिचान अझै प्रतीक्षाकै विषय बनेको छ।
गत कात्तिक ८ गते भएको दुर्घटनापछि सप्तकोशीमा जलयात्रा पूर्ण रूपमा बन्द गरिएको छ। धनकुटा, सुनसरी, भोजपुर र उदयपुरका प्रशासनले तत्कालका लागि पानीबोट सञ्चालनमा प्रतिबन्ध लगाएका छन्। नदीमा पानीको बहाव नघटेको, न्यूनतम सुरक्षा उपाय अवलम्बन नगरिएको र बोट सञ्चालनसम्बन्धी कानुनी कार्यविधिसमेत नरहेको प्रहरीको भनाइ छ।
तर दुर्घटनाअघि यी जोखिमको निगरानी कसले गरिरहेको थियो? आवश्यक सुरक्षा मापदण्ड पूरा नगरी पानीबोट सञ्चालन गर्न कसरी अनुमति वा सहमति दिइयो? यात्रुको सुरक्षाको जिम्मेवारी कसले लिएको थियो? अहिले छानबिन समितिसामु यिनै प्रश्न छन्।
दुर्घटनाको वास्तविकता पत्ता लगाउन कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आसमान तामाङको नेतृत्वमा १२ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा धनकुटा, भोजपुर, उदयपुर र सुनसरीका जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका अधिकारी सहभागी छन्।
समितिले घटनास्थलको निरीक्षण, बोटको प्राविधिक अवस्था, दुर्घटनाको परिस्थितिजन्य विश्लेषण, चालक तथा सञ्चालकको जिम्मेवारी र यात्रुको सुरक्षासम्बन्धी व्यवस्थाको अध्ययन गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत एवं समितिका सदस्य रामजी पौडेलका अनुसार प्रहरी प्रतिवेदन, घटनास्थलको अवस्था, उद्वार कार्यको प्रभावकारिता, पीडित परिवारको अवस्था तथा राहत र क्षतिपूर्तिका विषय पनि अध्ययनको दायरामा छन्।
समितिले दुर्घटनामा नियमनकारी निकायको भूमिकासमेत मूल्यांकन गर्ने जनाएको छ। अध्ययनपछि यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन तयार गरिने पौडेलले बताए। समितिको पूरक प्रतिवेदन भने तिहारपछि मात्रै सार्वजनिक गरिने जनाइएको छ। धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार दुर्घटनाको कारण, उपलब्ध प्रमाण, जिम्मेवार पक्षको पहिचान र सरकारी निकायको भूमिकाबारे तथ्यगत विश्लेषण भइरहेको छ।
दुर्घटनामा मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत, क्षतिपूर्ति र परिपूरण उपलब्ध गराउने विषयमा पानीबोट सञ्चालक कम्पनी, पीडित परिवार र स्थानीय तहबीच छलफल भइरहेको पनि उनले जानकारी दिए।
कात्तिक ८ गते भोजपुरको कोप्चेबाट १५ जना यात्रु लिएर सुनसरीको बराहक्षेत्रस्थित चतराधामतर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट इन्जिन फेल भएपछि त्रिवेणी क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन्।
बेपत्ता हुनेमा झापाको कनकाई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर तथा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी मनु राई छन्। एउटै दुर्घटनाले तीन परिवारलाई शोकमा डुबाएको छ भने तीन परिवार अझै आफन्तको अवस्थाबारे अनिश्चिततामा छन्।
दुर्घटनापछि जलयात्रामा प्रतिबन्ध लगाउनु तत्कालीन जोखिम नियन्त्रणको कदम भए पनि यसले दुर्घटनाअघिको सुरक्षा व्यवस्थासम्बन्धी प्रश्नको जवाफ दिँदैन। बोटको प्राविधिक परीक्षण कसले गरेको थियो, यात्रु बोक्ने अनुमति र सुरक्षा व्यवस्था कस्तो थियो, लाइफ ज्याकेट तथा उद्वार सामग्री पर्याप्त थिए कि थिएनन् र इन्जिन फेल भएपछि यात्रुको सुरक्षाका लागि के व्यवस्था थियो भन्ने विषय छानबिनबाट स्पष्ट हुनुपर्नेछ।
अब समितिको प्रतिवेदनले दुर्घटनाको प्राविधिक कारण मात्रै होइन, त्यसलाई रोक्नुपर्ने निकाय र जिम्मेवारीसमेत पहिचान गर्छ कि गर्दैन भन्ने चासो छ। किनकि तीन जनाको मृत्यु र तीन जना बेपत्ता भएको यो घटना केवल एउटा बोटको इन्जिन फेल भएको प्राविधिक दुर्घटनामा सीमित छैन। यसले सप्तकोशीमा सञ्चालित जलयात्राको सुरक्षा, नियमन र सरकारी निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ।

