बेपत्ता छोराको बाटो हेर्दै बितिन् ९४ वर्षीया आमा, ‘साहिँलो किन घर आएन?’ भन्ने प्रश्न अनुत्तरित
काठमाडौँ– आमाले छोराको बाटो हेर्दै दिन गनिन्। छोरा काममा व्यस्त होला, बिदा नपाएर घर आउन नसकेको होला भन्ने विश्वास गरिरहिन्। पटकपटक कान्छो छोरालाई सोधिरहिन– ‘साहिँलो किन घर आएन? फोन लगाइदे न।’
तर उनलाई के थाहा, जसको बाटो हेरेर उनी दिन काटिरहेकी थिइन्, त्यही छोरा भोटेकोसीको बाढीमा बेपत्ता भएको थियो। परिवारले उनको मन दुख्ला भनेर यो पीडा लुकाइरहेको थियो। छोरा फर्किने आशामा दिन बिताएकी ९४ वर्षीया सीता पाण्डेले अन्ततः छोराको अनुहार नदेखी नै संसार छाडिन्।
धादिङको धुनिबेँसी नगरपालिका–९, कानाकोटकी सीताको गत बुधबार निधन भयो। उनको अन्तिम समयसम्म पनि मनमा एउटै प्रतीक्षा थियो– साहिँलो छोरा नीरबहादुर पाण्डे घर फर्किएलान्। ४५ वर्षीय नीरबहादुर गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएका थिए। उनी टुन्डी कन्स्ट्रक्सनमा सवारी चालकका रूपमा कार्यरत थिए।
बाढी आउँदा उनी आफ्ना सहकर्मीसँगै थिए। बाढीबाट ज्यान जोगाउन सबै जंगलतिर भागे। तर कोठामा छुटेको मोबाइल लिन नीरबहादुर फर्किए। साथीहरूका आँखैअगाडि उनी बाढीमा परे। त्यसपछि उनको कुनै अत्तोपत्तो छैन। त्यस दिन सँगै रहेका सरोज पाण्डेका अनुसार नीरबहादुर मोबाइल लिन फर्किएकै कारण अरू साथीहरूसँगै भाग्न पाएनन्।
‘हामी सबैजना भाग्न भ्यायौँ। उहाँ मोबाइल छुट्यो भनेर फर्केर जाँदा सबै बगायो। गाडी, मान्छे केही भेट्न पाएनौँ। मोबाइल छाड्देको भए हामीसँगै भाग्न भ्याउनुहुन्थ्यो। एउटै ग्रुपमा रहेका हामी ५÷७ जनाले बल्लतल्ल ज्यान जोगायौँ,’ सरोजले सुनाए।
नीरबहादुर बेपत्ता भएपछि परिवारले उनलाई खोज्न कुनै कसर बाँकी राखेन। कान्छा भाइ राजकाजी पाण्डेसहित आफन्तले नुवाकोट र काठमाडौंका अस्पतालदेखि चितवन, नवलपरासी र पोखराका शवगृहसम्म पुगे। तर कतै उनको सास भेटिएन, कतै लास पनि भेटिएन।
उता घरमा ९४ वर्षीया आमा सीता भने छोराको प्रतीक्षामा थिइन्। नीरबहादुर घर नआएको देखेपछि उनी कान्छो छोरालाई बारम्बार सोध्थिन्, ‘साहिँलो किन घर आएन? फोन लगाइदे न।’ कान्छो छोराले जवाफ दिन्थे, ‘मैले कुरा गरिसकेको छु, काममा बिदा पाएन रे।’
दाजु बेपत्ता भएको खबर आमालाई सुनाउने आँट राजकाजीले गर्न सकेनन्। छोराको अवस्था थाहा पाए आमाको मनले धान्न नसक्ने डर परिवारमा थियो। त्यसैले घरपरिवार, आफन्त र छिमेकी सबैले सीतासामु वास्तविकता लुकाए।
गत असोजमा श्रीमानको श्राद्ध थियो। त्यस अवसरमा पनि सीतालाई साहिँलो छोरा घर आउँछ भन्ने ठूलो आशा थियो। तर श्राद्धमा समेत छोरा नआएपछि उनले बिदा नपाएको भन्ने कुरा सहजै पत्याउन सकिनन्। कतै केही गडबड त भएको छैन भन्ने शंकाले भेट्न आउने आफन्तसँग पनि उनी साहिँलो छोराकै कुरा निकाल्थिन्।
तर कसैले पनि उनलाई स्पष्ट जवाफ दिन सकेनन्। उमेरले ९४ वर्ष पुगेकी सीताको स्वास्थ्य पनि पछिल्लो समय कमजोर हुँदै गएको थियो। शारीरिक रूपमा अशक्त बन्दै गएकी उनी गाह्रो हुँदा अक्सिजन पाइपको सहारामा सास फेरिरहेकी थिइन्। शरीरले साथ छाड्दै गए पनि छोराको प्रतीक्षा भने छाडेकी थिइनन्।
परिवारका सदस्यका अनुसार नीरबहादुर बेपत्ता भएपछि सीता झन् गल्दै गएकी थिइन्। दाजुभाइमध्ये साहिँलो छोरालाई उनी बढी माया गर्थिन्। उनको विवाहसमेत भएको थिएन। दिनहुँ फोनमा कुरा गर्ने छोराको फोन नआएपछि उनी पटकपटक खोजी गर्थिन्।
‘आमा पहिलेदेखि नै बिरामी हुनुहुन्थ्यो। दाइ बेपत्ता भएपछि उहाँ झन् गल्दै जानुभएको थियो। आउँछन्, आउँछन् भन्दै आश्वासन दिएर कुराउँदा कुराउँदै आमा बित्नुभयो,’ परिवारका सदस्यले भने। अन्ततः छोराको बाटो हेर्दाहेर्दै सीताको जीवनयात्रा टुंगियो। आमाको अन्तिम सास रोकियो, तर साहिँलो छोरा नीरबहादुरको अवस्था अझै अज्ञात छ।
भोटेकोसीको बाढीले नीरबहादुरलाई कहाँ पु¥यायो, उनी जीवित छन् कि छैनन् भन्ने यकिन हुन सकेको छैन। एउटा परिवार अझै उनको खबरको प्रतीक्षामा छ। तर अब घरको आँगनमा बसेर ‘साहिँलो कहिले आउँछ?’ भनेर सोध्ने आमा भने छैनन्। छोरा फर्किने आशा बोकेर बितेकी सीताको प्रतीक्षा अब कहिल्यै पूरा हुने छैन।

