चीनमा रास्वपा सांसदहरूको राजनीतिक हिसाबकिताब छताछुल्ल !, ‘कांग्रेस डुबोस्, एमाले झन् उग्र बनोस्, चुनावमा हामीलाई फाइदा हुन्छ’

काठमाडौँ– आफ्नै काम र उपलब्धिबाट जनताको विश्वास जित्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू अरू दल थप अलोकप्रिय भए आफूहरूलाई चुनावी लाभ पुग्ने हिसाबकिताबमा लागेको संवाद सार्वजनिक भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को खर्चमा चीन भ्रमणमा रहेका रास्वपा सांसदहरूको अनौपचारिक कुराकानी समेटिएको भिडियो क्लिप बाहिरिएपछि उनीहरूको राजनीतिक सोच र नयाँ दलको दाबीमाथि प्रश्न उठेको छ।

रास्वपा सांसद श्रीराम न्यौपानेले चीन भ्रमणका क्रममा आफ्नो फेसबुकमा पोस्ट गरेको भिडियोमा सांसदहरूबीच भएको कुराकानीको अडियो सुनिन्छ। भिडियोमा उनीहरू रोबोट अवलोकन गर्न पुगेका बेला नेपाली कांग्रेसको आधिकारिकता, नेकपा एमालेको नेतृत्व र त्यसबाट रास्वपालाई हुन सक्ने राजनीतिक लाभबारे छलफल गरिरहेका सुनिन्छन्।

कुराकानीका क्रममा एक पुरुष सांसदले कांग्रेस शेरबहादुर देउवाको हातमा जानुपर्ने धारणा राख्छन्। त्यसमा सहमति जनाउँदै सांसद समीक्षा बाँस्कोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट टुंगिँदा देउवाको पक्षमा निर्णय हुनुपर्ने बताउँछिन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेत अहिलेभन्दा अझ उग्र भएर प्रस्तुत हुनुपर्ने आशयसमेत व्यक्त गरेकी छिन्। सार्वजनिक भिडियोमा बाँस्कोटाको भनाइ छ, ‘कांग्रेसको आधिकारिकता सर्वोच्चले निर्णय गरेर देउवाको पक्षमा जानुपर्छ। ओली र महेश बस्नेत योभन्दा डबल चर्को उग्र भएर निस्कनुपर्छ।’

उनको भनाइमा सहमति जनाउँदै अर्का सांसदले स्थानीय तहको निर्वाचनसम्म यस्तै राजनीतिक परिस्थिति कायम रहे आफूहरूलाई फाइदा हुने धारणा राख्छन्। त्यसपछि अन्य सांसदले पनि सहमति जनाउँदै ‘अँ’ भनेको सुनिन्छ।

संवादमा कांग्रेस र एमालेको आन्तरिक विवाद तथा नेतृत्वको व्यवहारले रास्वपालाई राजनीतिक लाभ पुग्न सक्ने आकलन गरिएको छ। तर, त्यही कुराकानीमा अरू दलको कमजोरी मात्रै रास्वपाका लागि पर्याप्त नहुने र आफ्नै पार्टीले पनि काम गरेर देखाउनुपर्ने धारणा पनि सुनिन्छ। ‘हामीले पनि काम गरेर देखाउन सक्नुपर्छ, नत्र हामीलाई पनि त्यही ठाउँमा पु¥याइदिन्छन्’ भन्ने आशयको अभिव्यक्ति संवादमा आएको छ।

यो कुराकानी सार्वजनिक भएपछि नयाँ राजनीतिक शक्ति भनेर स्थापित हुन खोजिरहेको रास्वपाको राजनीतिक दृष्टिकोणमाथि बहस सुरु भएको छ। पुराना दलको असफलता र आन्तरिक विवादलाई आफ्नो अवसरका रूपमा हेर्नु स्वाभाविक राजनीतिक आकलन हुन सक्छ। तर, जनताको विश्वास जित्ने आधार आफ्नै काम, नीति र परिणाम हुनुपर्नेमा सांसदहरूकै अनौपचारिक संवादमा अरू दलको राजनीतिक संकटबाट लाभ लिने अपेक्षा प्रमुख रूपमा सुनिनुले प्रश्न जन्माएको छ।

उक्त भिडियो न्यौपानेले आफ्नो फेसबुकबाट हटाइसकेका छन्। तर, त्यसअघि नै सामाजिक सञ्जालका प्रयोगकर्ताले भिडियो डाउनलोड गरी विभिन्न प्लेटफर्ममा पुनः पोस्ट गरिसकेका छन्। अहिले त्यसका क्लिप र संवाद सामाजिक सञ्जालमा फैलिएका छन्।

चीन भ्रमणका क्रममा सार्वजनिक भएको यो संवादले रास्वपाभित्र चुनावी प्रतिस्पर्धा र अन्य दलको अवस्थालाई कसरी हेरिन्छ भन्ने विषयमा थप चासो पैदा गरेको छ। नयाँ दलले पुराना दलको कमजोरी देखाएर मात्रै राजनीतिक विकल्प बन्न सक्दैन, उसले आफ्नै कामबाट फरकपन प्रमाणित गर्नुपर्ने चुनौती पनि यही घटनाले स्मरण गराएको छ।

भिडियो यहाँबाट हेर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *