छोरा हराएको खबर गर्न प्रहरीलाई फोन गर्दा आफ्नै सहकर्मीलाई गालीगलौज, ‘जय नेपाल’ नभनेको भन्दै हप्काउने हवल्दारमाथि छानबिन !

रौतहट– छठ पर्व मनाउन राजधानीबाट घर आएका १७ वर्षीय छोरा अचानक बेपत्ता भएपछि खोजीका लागि प्रहरीलाई फोन गरेका एक प्रहरी हवल्दारले उल्टै आफ्नै संगठनका कर्मचारीबाट अपमानजनक गालीगलौज सहनुपरेको छ। ‘जय नेपाल’ नभनेको भन्दै फोनमै हप्काउने व्यक्ति जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो भएको खुलेपछि उनीमाथि छानबिन सुरु भएको छ।

नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित डुमरिया इलाका प्रहरी कार्यालयमा खटिएका प्रहरी हवल्दार सुरेश यादवका १७ वर्षीय छोरा चन्दनकुमार यादव दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट बेपत्ता भएका थिए।

एसईई परीक्षा सकेपछि थप अध्ययनका लागि राजधानीमा बस्दै आएका चन्दन छठ पर्व मनाउन घर आएका थिए। पर्वका बेला घरमा रहेका उनी अचानक सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको थियो। छोराको अवस्था पत्ता लगाउन र खोजीका लागि सहयोग जुटाउन सुरेशले प्रहरीको कन्ट्रोल रुममा सम्पर्क गरेका थिए।

कन्ट्रोल रुमबाट घटनाको जानकारी सञ्चार शाखामा टिपाउन भनिएपछि उनले त्यहाँ फोन गरे। तर, छोराको खोजीमा सहयोग मागिरहेका उनलाई सञ्चार शाखामा रहेका कर्मचारीले उल्टै अपमानजनक भाषा प्रयोग गरेको उनको आरोप छ।

सुरेशका अनुसार आफूले फोनमा सामान्य रूपमा परिचय सोध्दा अर्कोपट्टिबाट गालीगलौज सुरु भएको थियो। छोरा हराएको चिन्ताले रातभर राम्रोसँग सुत्नसमेत नसकेको अवस्थामा प्रहरीकै सहकर्मीबाट यस्तो व्यवहार भोग्नुपरेपछि आफू थप पीडित बनेको उनले बताएका छन्।

‘मेरो छोरा हराएको पीडाले म राम्ररी सुत्नसमेत पाएको छैन। मैले जानकारी गराउन फोन गर्दा उल्टै गालीगलौज गर्नुभयो,’ उनले भने, ‘यो अवस्थामा के भनौं? मैले कुनै गल्ती गरेको छैन। मलाई अपमानजनक गाली गर्ने काम भयो।’

‘सई’ बताउने व्यक्ति हवल्दार भएको खुलेपछि छानबिन
घटनासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि सुरुमा आफूलाई ‘सञ्चारको सई’ बताउने व्यक्तिमाथि प्रश्न उठेको थियो। तर, गालीगलौज गर्ने व्यक्ति सई नभई जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो भएको खुलेको छ।

सार्वजनिक अडियोमा सुरेश यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब?’ भन्दै परिचय सोधेको सुनिन्छ। त्यसपछि आफूलाई सई बताउने महतोले उनको बोल्ने शैलीमाथि प्रश्न गर्दै हप्काएको सुनिन्छ। आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफसमेत अडियोमा सुनिएको छ।

छोरा बेपत्ता भएको घटनाको जानकारी गराउन र खोजीका लागि प्रहरी संयन्त्रसँग सहयोग माग्न फोन गरेका कर्मचारीमाथि नै यस्तो व्यवहार भएको आरोप सार्वजनिक भएपछि प्रहरी संगठनको कार्यशैली र कर्मचारीबीचको व्यवहारमाथि प्रश्न उठेको छ।

मधेश प्रदेश प्रहरीको ध्यानाकर्षण, निलम्बन प्रक्रिया अघि बढ्यो
अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको संवादमा प्रयोग भएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले घटनाबारे अनुसन्धान सुरु गरिएको र हवल्दार महतोलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। ‘हामीले दुवैबीच के भएको हो भन्ने अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी शाहीले भने, ‘दुवै जनालाई प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ।’

प्रहरीले घटनामा संलग्न दुवै कर्मचारीलाई प्रदेश प्रहरी कार्यालय पठाएर छानबिन अघि बढाएको जनाएको छ। अनुसन्धानपछि घटनाको वास्तविकता र जिम्मेवारीबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रहरी संगठनभित्रको व्यवहारमाथि प्रश्न
यो घटना दुई प्रहरी कर्मचारीबीचको सामान्य भनाभनमा मात्र सीमित छैन। आफ्नै छोरा बेपत्ता भएको अवस्थामा खोजीका लागि प्रहरी संयन्त्रको सहयोग मागिरहेका कर्मचारीले नै संगठनभित्रबाट अपमानजनक व्यवहार भोग्नुपरेको आरोपले प्रहरीको आन्तरिक कार्यसंस्कृति र सेवाग्राहीप्रतिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ।

प्रहरी संगठनमा दर्जा र जिम्मेवारीको आफ्नै महत्व हुन्छ। तर, पदीय मर्यादा र अनुशासनको अर्थ तल्लो दर्जाका कर्मचारीलाई अपमान गर्ने वा दुःखमा परेका सहकर्मीलाई झपार्ने छुट होइन। नागरिकको सुरक्षा र संकटमा सहयोग गर्ने जिम्मेवारी बोकेको प्रहरी संगठनभित्रै सहयोग माग्ने कर्मचारीले यस्तो व्यवहार भोग्नुपरेको आरोप सार्वजनिक हुनु आफैंमा गम्भीर विषय हो।

अब छानबिनले फोनमा प्रयोग भएको भाषा र व्यवहारको मात्रै होइन, घटनाको पृष्ठभूमि, जिम्मेवारी र त्यसपछि अपनाइएको प्रक्रियाको समेत निष्पक्ष रूपमा टुंगो लगाउनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट