प्रचण्डको स्वागतमा विमानस्थल पुगेका कर्मचारी पक्राउ, गृहमन्त्रीको चेतावनी-‘नेताको चाकडी गर्नेले कारबाही भोग्छ’ !

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकृत पक्राउ परेपछि राजनीतिक र प्रशासनिक वृत्तमा बहस चर्किएको छ।

कर्मचारी पक्राउको घटनालाई प्रचण्डले सरकारको गलत कदम भन्दै आपत्ति जनाएका छन् भने गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीले दलको झोला बोकेर नेताको चाकडी गरे कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएका छन्।

रुसको मस्कोमा आयोजित एक विश्व सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका प्रचण्डलाई स्वागत गर्न विमानस्थलको विशिष्ठ कक्षमा पुगेका प्राधिकरणका वरिष्ठ अधिकृत सुवास कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी नेकपाका नेताहरू अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङसँगै प्रचण्डको स्वागतका लागि लाइनमा उभिएका थिए।

जानकारी अनुसार सोही दिन संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर गृहमन्त्री गुरुङ पनि काठमाडौं फर्किएका थिए। विमानस्थलमा सरकारी कर्मचारी राजनीतिक नेताको स्वागतका लागि लाइनमा बसेको देखेपछि उनी असन्तुष्ट बनेका थिए। त्यसपछि उनले कोइरालालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको समाचार सार्वजनिक भएको छ।

गृहमन्त्रीको निर्देशनपछि प्रहरीले कोइरालालाई नियन्त्रणमा लिएर गौशाला प्रहरी वृत्त पुर्‍याएको थियो। त्यहाँ दिनभर सोधपुछ गरेपछि उनलाई बिहीबार साँझ रिहा गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एक अधिकारीले पुष्टि गरेका छन्।

प्रचण्डको आपत्तिः सरकारले गर्न नहुने काम गरिरहेको छ
आफ्नो स्वागतमा विमानस्थल पुगेका कर्मचारी पक्राउ परेको विषयमा प्रचण्डले सरकारको आलोचना गरेका छन्। भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उदघाटन गरेर फर्किने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सरकारका पछिल्ला गतिविधि राम्रो सङ्केत नभएको टिप्पणी गरे।

‘गर्न नहुने नहुने काम सरकारले गरिरहेको छ। यो राम्रो सङ्केत होइन,’ प्रचण्डले भने। उनले सरकारले कर्मचारी र पत्रकारको अधिकार खोस्ने काम गरिरहेको आरोपसमेत लगाए। सरकारका गतिविधि लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले चिन्ताजनक रहेको उनको आशय थियो।

प्रचण्डले बिचौलियाहरूको मोबाइल फोनसमेत घरमा लगेर दुई दिनसम्म राखिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए। ‘बिचौलियाहरूको मोबाइल घरमा लगेर दुई दिनसम्म पनि राखेको कुरा आएको छ। जे काम सरकारले गरिरहेको छ, त्यसको मूल्य सरकारलाई महँगो पर्नेछ,’ उनले चेतावनी दिए।

उनको अभिव्यक्तिले कर्मचारी पक्राउको घटनालाई व्यक्तिगत स्वागतको विषयमा मात्र सीमित नराखी सरकारको समग्र कार्यशैली र नागरिक अधिकारसँग जोडेर हेर्नुपर्ने सन्देश दिएको छ।

गृहमन्त्रीको जवाफः कर्मचारीको काम नेताको चाकडी होइन
प्रचण्डले कर्मचारी पक्राउको विरोध गरिरहँदा गृहमन्त्री सुदन गुरुङले भने राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दल र नेताको चाकडीबाट टाढा रहन चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही हुने बताएका छन्।

‘पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन,’ उनले लेखेका छन्। गुरुङले राष्ट्रसेवक कर्मचारीको जिम्मेवारी कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको स्पष्ट पारेका छन्।

‘नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने। पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ,’ उनको भनाइ छ।

उनले कर्मचारीलाई कसैको चाकडी नगरी जनताको दुःख बुझेर आफ्नो जिम्मेवारी पूरा गर्न र देशप्रति इमानदार बन्न पनि आग्रह गरेका छन्।

कर्मचारीको राजनीतिक संलग्नता र पक्राउको वैधानिकतामाथि प्रश्न
यो घटनाले सरकारी कर्मचारीको पदीय मर्यादा, राजनीतिक तठस्थता र नेताहरूको स्वागतमा सहभागी हुने अभ्यासबारे बहस सिर्जना गरेको छ। सार्वजनिक पदमा रहेका कर्मचारीले आफ्नो जिम्मेवारी र आचरणसम्बन्धी कानुनी व्यवस्था पालना गर्नुपर्छ भन्नेमा विवाद छैन। तर, कुनै कर्मचारी राजनीतिक नेताको स्वागतमा सहभागी भएको आधारमा नियन्त्रणमा लिन मिल्ने वा नमिल्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।

गृहमन्त्रीले कर्मचारीलाई राजनीतिक दलको झोला नबोक्न दिएको चेतावनीलाई प्रशासनिक तठस्थताको पक्षमा आएको अभिव्यक्तिका रूपमा हेर्न सकिन्छ। तर, त्यसै सन्दर्भमा एक कर्मचारीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको घटनाले कारबाहीको आधार, प्रक्रिया र कानुनी औचित्यबारे थप प्रश्न उठाएको छ।

अर्कोतर्फ, प्रचण्डले कर्मचारी पक्राउलाई सरकारको गलत कार्यशैली र अधिकारमाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्। तर, विमानस्थलमा कर्मचारीको उपस्थिति कुन प्रयोजनका लागि थियो, उनीहरूले पदीय जिम्मेवारी उल्लंघन गरेका थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायको स्पष्ट धारणा सार्वजनिक हुनु आवश्यक छ।

एकातिर कर्मचारीलाई नेताको चाकडी नगर्न चेतावनी दिने गृहमन्त्री, अर्कोतिर आफूलाई स्वागत गर्न पुगेका कर्मचारी पक्राउ परेको भन्दै सरकारमाथि प्रश्न उठाउने पूर्वप्रधानमन्त्री—यो घटनाले राज्य संयन्त्रको राजनीतिक तठस्थता र कानुनी प्रक्रियाको निष्पक्षतामाथि नयाँ बहस खडा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट