बाबुको बन्चरो प्रहारबाट श्रीमती र दुई सन्तानको मृत्यु, ६ वर्षीय छोरा गम्भीर घाइते

काठमाडौँ– दैलेखमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गर्दा श्रीमती र दुई सन्तानको मृत्यु भएको छ। घटनामा ६ वर्षीय छोरा गम्भीर घाइते भएका छन्।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब साढे ९ बजे घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन्।

प्रहरीका अनुसार बन्चरो प्रहारबाट ३५ वर्षीया श्रीमती मनीषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिश्मा सलामी गम्भीर घाइते भएका थिए। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको थियो।

घटनालगत्तै घाइते चारै जनालाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लु पुर्‍याइएको थियो। उपचारकै क्रममा १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिश्मालाई चिकित्सकले बिहान सवा ११ बजे मृत घोषणा गरेका थिए।

गम्भीर घाइते मनीषालाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको थियो। अस्पतालमा दिउँसो करिब २ बजे पुर्‍याइएकी उनलाई चिकित्सकले दिउँसो सवा २ बजे मृत घोषणा गरेका हुन्। यससँगै घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।

घटनापछि प्रहरीले अम्बर सलामी मगरलाई नियन्त्रणमा लिएको छ। परिवारका सदस्यहरूमाथि प्रहार गर्न प्रयोग गरिएको बन्चरोसमेत प्रहरीले बरामद गरेको छ।

सामान्य घरायसी विवादबाट सुरु भएको भनिएको घटनाले एउटै परिवारका तीन सदस्यको ज्यान लिएको छ भने एक बालक गम्भीर घाइते भएका छन्। घटनाको कारण र त्यससँग जोडिएका अन्य पक्षबारे जिल्ला प्रहरी कार्यालय दैलेखले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट