कम्मरमा कटुवा पेस्तोल र गोली लुकाएर हिँडिरहेकी सिरहाकी महिला धनुषामा पक्राउ !

जनकपुर– कम्मरमा कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बाँधेर हिँडिरहेकी एक महिला धनुषामा पक्राउ परेकी छिन्। प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी ४० वर्षीया गंगावती महतोलाई एक थान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार आइतबार बिहान करिब ११ बजे धनुषाधाम नगरपालिका–४ स्थित गौरीपुर टोलबाट उनलाई पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले महतोलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको शरीर खानतलासी गर्दा कम्मरमा बाँधेर लुकाइएको अवस्थामा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउन्ड गोली फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार उनी हतियार लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेकी थिइन्। बरामद हतियार र गोलीसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अघि बढाएको छ।

महतोलाई उक्त हतियार कहाँबाट प्राप्त भयो, कुन प्रयोजनका लागि बोकेकी थिइन् र त्यसमा अरू कसैको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले उनीमाथि हातहतियारसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण भने अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय