बालेनले तोडे पुराना अभ्यासः पत्नीलाई लगेनन्, राष्ट्रपतिलाई ब्रिफिङ गरेनन्, पूर्वप्रधानमन्त्रीसँग सल्लाह पनि लिएनन् !
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र साहको भारत भ्रमण केवल २५ घण्टाको कार्यतालिकामा सीमित भएको छ। भ्रमण टोलीमा पत्नी वा परिवारका सदस्य छैनन्, भारत जानुअघि राष्ट्रपतिलाई ब्रिफिङ गरेको जानकारी सार्वजनिक भएको छैन, पूर्वप्रधानमन्त्रीसँग सामूहिक परामर्श गरिएको छैन। विगतका प्रधानमन्त्रीहरूले विदेश भ्रमणका क्रममा अपनाउँदै आएका यी अभ्यास यसपटक दोहोरिएका छैनन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका साह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ। उनको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मीसहित ३५ सदस्य सहभागी छन्। तर प्रधानमन्त्रीकी पत्नी सविना काफ्ले भने भ्रमण टोलीमा छैनन्।
यसअघिका प्रधानमन्त्रीहरूले भारतलगायतका देशको औपचारिक तथा राजकीय भ्रमणमा पत्नी वा परिवारका सदस्यलाई सहभागी गराउने अभ्यास गरेका थिए। पत्नी नभएका प्रधानमन्त्रीले छोरी वा परिवारका अन्य सदस्यलाई भ्रमण टोलीमा समेट्ने गरेका उदाहरणसमेत छन्। साहले भने प्रधानमन्त्री बनेपछि गरेका विदेश भ्रमणमा पत्नी वा परिवारका सदस्यलाई सहभागी गराएका छैनन्।
२०४६ सालपछि पाँचपटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले प्रायः विदेश भ्रमणमा छोरी सुजाता कोइरालालाई सँगै लैजाने गरेका थिए। सन् १९९१ मा भारतको राजकीय भ्रमण गर्दा पनि सुजाता उनीसँगै थिइन्। सुजाताले सार्वजनिक गरेका विवरणअनुसार उनी बाबु प्रधानमन्त्री हुँदा भारत, चीन, इजरायल, फिनल्यान्ड र जापानलगायत देशको भ्रमणमा सहभागी भएकी थिइन्।
२०५१ सालमा प्रधानमन्त्री बनेका मनमोहन अधिकारी भारत, चीन र जर्मनी भ्रमणमा गएका थिए। भारत भ्रमणमा उनकी पत्नी साधना अधिकारी पनि सहभागी थिइन्। माधवकुमार नेपालले सन् २००९ मा भारत भ्रमण गर्दा पत्नी गायत्री नेपाललाई साथमा लगेका थिए। बाबुराम भट्टराईले सन् २०११ मा भारतको औपचारिक भ्रमण गर्दा पत्नी हिसिला यमीलाई सहभागी गराएका थिए।
शेरबहादुर देउवाले सन् २००२, २०१७ र २०२२ मा भारत भ्रमण गर्दा हरेकपटक पत्नी आरजु राणा देउवालाई सँगै लगेका थिए। केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा भारत र चीन भ्रमण गर्दा पत्नी राधिका शाक्यलाई सहभागी गराएका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६ मा भारतको राजकीय भ्रमण गर्दा पत्नी सीता दाहाललाई सँगै लगेका थिए। सीताको स्वास्थ्य अवस्था कमजोर भएपछि पछिल्ला भ्रमणमा छोरी गंगा दाहाल सहभागी हुने गरेकी थिइन्।
अविवाहित प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको हकमा भने परिवारका सदस्यलाई पत्नीका रूपमा सहभागी गराउने प्रश्न थिएन। तर पत्नी रहेकै अवस्थामा साहले उनलाई भ्रमण टोलीमा नराखेपछि विगतको अभ्यासभन्दा फरक निर्णयका रूपमा यसले चर्चा पाएको छ।
प्रधानमन्त्रीको विदेश भ्रमणमा पत्नी वा परिवारका सदस्यलाई सहभागी गराउनुपर्ने संवैधानिक वा कानुनी बाध्यता भने छैन। यो कूटनीतिक शिष्टाचार र परम्परागत अभ्याससँग जोडिएको विषय हो। पत्नी सहभागी हुँदा भ्रमण गर्ने देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखका पत्नी तथा अन्य उच्चपदस्थ व्यक्तिका परिवारसँग छुट्टै भेटघाट र सामाजिक कार्यक्रम हुने गर्छन्।
राष्ट्रपतिलाई ब्रिफिङ र पूर्वप्रधानमन्त्रीसँग परामर्श भएन
विदेश भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भ्रमणको उद्देश्य, कार्यसूची र प्राथमिकताबारे जानकारी गराउने अभ्यास पनि यसपटक दोहोरिएको छैन। प्रधानमन्त्री कार्यालयले भ्रमणअघि राष्ट्रपतिसँग ब्रिफिङ भएको जानकारी सार्वजनिक गरेन। राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले पनि आफूलाई प्रधानमन्त्रीले ब्रिफिङ गरेको जानकारी नभएको बताएका छन्।
यसअघि भारत वा चीनजस्ता महत्वपूर्ण छिमेकी मुलुकको औपचारिक भ्रमणमा जानुअघि प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरूसँग सुझाव लिने अभ्यास गर्दै आएका थिए। शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलगायतले यस्तो परामर्शलाई निरन्तरता दिएका थिए। तर साहले भारत प्रस्थान गर्नुअघि पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक छलफल गरेको जानकारी सार्वजनिक भएको छैन।
छिमेकी मुलुकसँगको सम्बन्ध, सीमा, व्यापार, पारवहन, सुरक्षा र ऊर्जा सहकार्यजस्ता विषयमा प्रधानमन्त्रीको भ्रमण महत्वपूर्ण हुने भएकाले विगतमा यस्ता भ्रमणलाई राजनीतिक तहमा समेत छलफलको विषय बनाइन्थ्यो। यसपटक भने प्रधानमन्त्रीले आफ्नो भ्रमणको तयारी र कार्यसूचीलाई सरकारी प्रतिनिधिमण्डलमै सीमित राखेको देखिन्छ।
पत्रकारसँगको पुरानो अभ्यास पनि बदलियो
राजकीय भ्रमणमा प्रधानमन्त्रीसँगै पत्रकारलाई पनि भ्रमण टोलीमा सहभागी गराउने अभ्यास लामो समयदेखि चल्दै आएको थियो। राजादेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्मका विदेश भ्रमणमा नेपाली पत्रकार सहभागी हुने गरेका थिए। भ्रमणका क्रममा जहाजमै प्रधानमन्त्रीले पत्रकारसँग कुराकानी गर्ने र भ्रमणका विषयमा जानकारी दिने अभ्याससमेत थियो।
तर साहको भारत भ्रमणमा पत्रकारलाई प्रधानमन्त्रीसँगैको उडानमा सहभागी गराउने पुरानो शैली अपनाइएन। पत्रकारहरूलाई एक दिनअघि नै नयाँदिल्ली पुग्न भनिएको विवरण सार्वजनिक भएको छ। यसले प्रधानमन्त्री र पत्रकारबीच भ्रमणकै क्रममा हुने प्रत्यक्ष संवादको अवसर सीमित गरेको छ।
यसअघि प्रधानमन्त्रीले सम्पादकहरूसँग गर्ने छलफल तथा अन्तरक्रियाको अभ्यास पनि साहले निरन्तरता दिएका छैनन्। भ्रमणअघि सम्पादकहरूसँग बैठक नभएको र पत्रकारसँग छुट्टै संवादको कार्यक्रम नराखिएको विषयले प्रधानमन्त्रीको प्रेससम्बन्धी कार्यशैलीमाथि पनि चासो बढाएको छ।
२५ घण्टे भ्रमण, दिल्लीबाहिर जाने कार्यक्रम छैन
साहको भारत भ्रमणको अर्को विशेषता छोटो कार्यतालिका हो। करिब २५ घण्टा भारतमा बिताएर उनी सोमबार साँझ स्वदेश फर्किनेछन्। विगतका प्रधानमन्त्रीले भारतको राजकीय भ्रमणमा तीनदेखि छ दिनसम्म बिताउने गरेका उदाहरण छन्। त्यस्ता भ्रमणमा दिल्लीबाहिरका सहर, धार्मिक तथा सांस्कृतिक स्थल र विकास आयोजनाको अवलोकनसमेत समेटिने गर्थे।
साह भने नयाँदिल्लीमै सीमित रहनेछन्। उनी दक्षिण भारतको कर्नाटकमा अध्ययन गरेका थिए। तर भ्रमणका क्रममा आफूले अध्ययन गरेको कलेज वा विश्वविद्यालय जाने कार्यक्रम छैन। भारतमा रहेकी दिदी सुजातासँग भेटघाट गर्ने कार्यक्रम पनि छैन।
त्यस्तै, विपक्षी दलका नेताहरूसँग भेटघाट तथा नागरिक समाजसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत सार्वजनिक भएको छैन। विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा राजनीतिक तहमा सम्बन्ध विस्तार गर्न विपक्षी दलका नेतासँग भेट्ने गरेका थिए। साहको कार्यतालिका भने मुख्यतः भारतीय सरकारका उच्च अधिकारीसँगको औपचारिक भेटघाट र सरकारी कार्यक्रममै केन्द्रित छ।
व्यवसायीसँगको संवादमा प्रधानमन्त्रीको भूमिका फरक
भारत भ्रमणमा व्यापार, लगानी र आर्थिक सहकार्यलाई प्राथमिकता दिने अभ्यास पनि रहँदै आएको छ। विगतका प्रधानमन्त्रीहरू नेपाल र भारतका व्यवसायी तथा उद्यमीबीच हुने उच्चस्तरीय बिजनेस राउन्ड टेबलमा सहभागी हुने गरेका थिए। त्यस्ता छलफलमा नेपालमा लगानीको वातावरण, व्यापार विस्तार र निजी क्षेत्रको सहकार्यबारे प्रधानमन्त्रीकै तहबाट संवाद हुने गथ्र्यो।
यसपटक भने प्रधानमन्त्री साह संयुक्त व्यावसायिक नेतृत्वको सीईओ राउन्ड टेबलमा सहभागी नहुने कार्यतालिका छ। व्यवसायीहरूसँगको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले नेतृत्व गर्ने बताइएको छ। यद्यपि भ्रमणको आधिकारिक कार्यसूचीमा भारतीय व्यावसायिक समुदायलाई सम्बोधन गर्ने र उनीहरूका चासो तथा सरोकार सुन्ने कार्यक्रम समावेश छ।
यसले व्यवसायीसँगको संवाद नै हटाइएको भन्दा पनि प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिताको स्वरूप परिवर्तन भएको देखाउँछ। आर्थिक सहकार्य र लगानी आकर्षित गर्ने विषयमा मन्त्रीस्तरीय छलफललाई अघि सारिएको छ।
विमानस्थलमा पनि औपचारिक बिदाइ भएन
प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलमा औपचारिक बिदाइ कार्यक्रम गर्ने, उच्च सरकारी अधिकारी तथा मन्त्रीहरू उपस्थित हुने र सलामीसहित बिदाइ गर्ने अभ्यास पनि यसपटक देखिएन। साह आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर सोझै नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए।
यद्यपि उनलाई बिदाइ गर्न विमानस्थलको धावनमार्गमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेल पुगेका थिए। गृहमन्त्री गुरुङ औपचारिक पोसाकमा देखिए पनि मन्त्री श्रेष्ठ र प्रवक्ता खरेल सामान्य पोसाकमा उपस्थित थिए। खरेल जिन्स पेन्ट र ओभरकोटमा देखिएका थिए भने मन्त्री श्रेष्ठले सामान्य पेन्ट र कोट लगाएका थिए।
यसअघि प्रधानमन्त्रीको विदेश भ्रमणमा विमानस्थलमा हुने औपचारिक बिदाइलाई राज्यको प्रतिनिधित्व र कूटनीतिक शिष्टाचारको एउटा हिस्साका रूपमा लिइन्थ्यो। साहले भने यस्तो औपचारिक कार्यक्रमलाई निरन्तरता दिएनन्।
औपचारिकता घटाउने शैली कि संस्थागत अभ्यासबाट दूरी ?
प्रधानमन्त्री साहको भारत भ्रमणमा देखिएका यी फरक अभ्यासलाई दुई कोणबाट हेर्न सकिन्छ। एउटा, भ्रमणलाई सानो प्रतिनिधिमण्डल, छोटो कार्यतालिका र सरकारी एजेन्डामा केन्द्रित गरेर अनावश्यक औपचारिकता तथा खर्च घटाउने प्रयास। अर्को, विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी दिने, पूर्वप्रधानमन्त्रीसँग परामर्श गर्ने र पत्रकारसँग प्रत्यक्ष संवाद गर्ने संस्थागत अभ्यासलाई निरन्तरता नदिइएको विषय।
प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी वा परिवारका सदस्य नहुनु आफैँमा कूटनीतिक कमजोरी होइन। त्यस्तै, विमानस्थलमा औपचारिक बिदाइ नगर्नु पनि भ्रमणको उपलब्धि मापन गर्ने आधार होइन। तर छिमेकी मुलुकसँगको सम्बन्धका महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति र संस्थागत निरन्तरता कति कायम गरियो भन्ने प्रश्न भने महत्वपूर्ण छ।
भारतसँगको सम्बन्ध व्यापार, ऊर्जा, पारवहन, पूर्वाधार, सीमा र सुरक्षा लगायतका अनेक विषयसँग जोडिएको छ। यस्तो सम्बन्धमा प्रधानमन्त्रीको व्यक्तिगत कार्यशैलीसँगै राज्यका संस्थागत अभ्यास र राजनीतिक परामर्शको पनि महत्व हुन्छ।
साहको भ्रमणमा विगतका प्रधानमन्त्रीहरूले अपनाउँदै आएका धेरै अभ्यास दोहोरिएका छैनन्। अब यो शैलीले भ्रमणलाई कति मितव्ययी र परिणाममुखी बनाउँछ तथा नेपाल–भारत सम्बन्धका जटिल विषयमा कस्तो उपलब्धि हासिल हुन्छ भन्ने कुरा भ्रमणको नतिजाले देखाउनेछ।

