१४ वर्षीया बालिका ससुराबाट ब*लात्कृत भएपछि श्रीमानले कुटपिट गरेको भिडियो भाइरल भएपछि दुवै जना पक्राउ
विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका–६ मा १४ वर्षीया बालिकामाथि एउटै परिवारका दुई सदस्यबाट फरक–फरक प्रकृतिको हिंसा भएको घटना सार्वजनिक भएको छ। बालिकालाई ससुराले बलात्कार गरेको आरोप छ भने सोही घटनाबारे सोधपुछ गर्ने क्रममा श्रीमानले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले ससुरा र श्रीमान दुवैलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति बालिकाकै घरमा ५५ वर्षीय ससुराले उनीमाथि बलात्कार गरेका थिए। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले आरोपित ससुरालाई पक्राउ गरेको थियो।
प्रहरीले मंसिर १ गते अदालतबाट म्याद थप गरी उनीमाथि जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाएको छ। तर, बालिकामाथि भएको भनिएको यौन हिंसाको घटना त्यतिमै रोकिएन। उक्त घटनालाई लिएर आरोपित ससुराका २३ वर्षीय छोराले आफ्नी आमालाई समेत छेउमा राखेर बालिकासँग सोधपुछ गरेका थिए।
सोही क्रममा उनले बालिकालाई कुटपिट गरेको भिडियो आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेका थिए। बालिकामाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि घटनाले थप चर्चा पायो। त्यसपछि प्रहरीले भिडियो सार्वजनिक गर्ने तथा कुटपिटमा संलग्न रहेको आरोप लागेका २३ वर्षीय युवालाई मंसिर ९ गते पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीमाथि विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ।
यसरी एउटै घटनामा बालिकामाथि बलात्कारको आरोपमा ससुरा र कुटपिट तथा भिडियो सार्वजनिक गरेको आरोपमा श्रीमान प्रहरी नियन्त्रणमा पुगेका छन्। प्रहरीले दुवै घटनालाई अलग–अलग कसुरका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं डीएसपी मकेन्द्रकुमार मिश्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको बताएका छन्।
प्रहरीले बालिकामाथि भएको भनिएको यौन हिंसा र त्यसपछि गरिएको कुटपिटको घटनामा अनुसन्धान अघि बढाइरहेको छ।
लोकप्रिय
चिन्ताले थिचिएको मनमा शान्तिको खोजी, फत्तेपुरमा राजयोगको सन्देशः सकारात्मक सोचबाट बदलिँदो जीवनशैली (फोटो फिचर)
६० एसपीको सरुवाले मधेशमा प्रहरी नेतृत्वमा फेरबदल, सप्तरीमा भने काजमा रहेका खड्कालाई स्थायी जिम्मेवारी !
ताजा अपडेट
१४ वर्षीया बालिका ससुराबाट ब*लात्कृत भएपछि श्रीमानले कुटपिट गरेको भिडियो भाइरल भएपछि दुवै जना पक्राउ

