श्रमिक ठगीको १ अर्ब ६९ करोड मलेसिया पठाउँदा दुई पूर्वमन्त्री मात्रै पक्राउ, सभामुख डीपी अर्याल र शरदसिंह भण्डारीमाथि अनुसन्धान किन भएन ?
काठमाडौँ– मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गरी १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम विदेश पठाइएको प्रकरणले राजनीतिक र प्रशासनिक वृत्तमा तरंग सिर्जना गरेको छ। श्रमिकको खल्तीबाट उठाइएको रकम विदेश पठाउन मन्त्रीस्तरीय निर्णय भएको र सरकारी निकायले त्यसलाई सहजीकरण गरेको अनुसन्धानबाट खुले पनि अहिलेसम्म दुई पूर्वश्रममन्त्रीसहित केही कर्मचारी मात्रै प्रहरी हिरासतमा पुगेका छन्।
तर, रकम विदेश पठाइएको अवधि र श्रम मन्त्रालयको नेतृत्व सम्हालेका व्यक्तिहरूको सूची हेर्दा अनुसन्धानको दायरा कति फराकिलो हुन्छ भन्ने प्रश्न उठेको छ। तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ परेका छन्। तर उनीहरूबाहेक श्रम मन्त्रालयको नेतृत्व गरेका हालका सभामुख डोलप्रसाद (डीपी) अर्याल र पूर्वमन्त्री शरदसिंह भण्डारीको कार्यकालमा पनि मलेसिया रकम पठाइएको विवरण सार्वजनिक भएको छ।
यही कारण अनुसन्धानको निष्पक्षता र दायरा माथि प्रश्न उठ्न थालेको हो। रकम विदेश पठाइएको समय र मन्त्रीको कार्यकाल जोडिँदैमा उनीहरू दोषी ठहर हुँदैनन्। तर, कुन निर्णयका आधारमा रकम पठाइयो, कसले स्वीकृति दियो र त्यसमा संलग्न अधिकारी तथा राजनीतिक नेतृत्वको भूमिका के थियो भन्ने विषयमा समान रूपमा अनुसन्धान हुनु आवश्यक छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको हो। मंसिर २ गते पूर्वश्रममन्त्रीद्वय यादव र कुँवरसहित मन्त्रालयका तत्कालीन सचिव तथा कर्मचारी पक्राउ परेका थिए।
पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वय यादव र कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्। उनीहरूमाथि ठगी, संगठित अपराध तथा विदेशी मुद्रा अपचलनसँग सम्बन्धित कसुरमा अनुसन्धान भइरहेको छ।
यसअघि असोज २९ गते नै सीआईबीले म्याक्रोटेक कम्पनीका सञ्चालक कैलाश खड्कासहित रविन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरेको थियो। यसरी प्रकरणमा कम्पनी सञ्चालकदेखि मन्त्रालयका उच्च अधिकारी र पूर्वमन्त्रीसम्म अनुसन्धानको दायरामा आएका छन्।
१ अर्ब ६९ करोड कसरी मलेसिया पुग्यो ?
यो प्रकरण मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणसँग जोडिएको छ। नेपाल सरकारले तोकेको स्वास्थ्य परीक्षण शुल्कबाहेक ‘बायोमेडिकल सर्भिस चार्ज’का नाममा प्रतिकामदार १०० मलेसियन रिंगेट अतिरिक्त रकम असुल गरिएको सीआईबीको अनुसन्धानमा उल्लेख छ।
नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीपत्रमा यस्तो अतिरिक्त शुल्कको व्यवस्था नभएको र दुई देशको संयुक्त कार्यदलबाट पनि स्वीकृति नलिइएको अनुसन्धानको निष्कर्ष छ। तर मलेसिया जाने श्रमिकलाई उक्त रकम तिर्न बाध्य पारिएको आरोप छ।
नेपालमा म्याक्रोटेक प्रालिले रकम संकलन गरी मलेसियास्थित बेस्टिनेट कम्पनीमा पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। बेस्टिनेट र म्याक्रोटेकबीचको व्यावसायिक सम्बन्ध तथा रकम संकलन र स्थानान्तरणको प्रक्रियामाथि सीआईबीले अनुसन्धान गरिरहेको छ।
सीआईबीका अनुसार ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाइएको छ। उक्त रकम नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकिङ माध्यमबाट १७ पटक टेलिग्राफिक ट्रान्सफर गरिएको अनुसन्धानमा देखिएको छ।
अनलाइनखबर र एबीसी न्युजका पछिल्ला विवरणअनुसार २०७६ सालदेखि २०८१ सालसम्मको अवधिमा रकम विदेश पठाउन चारपटक मन्त्रीस्तरीय निर्णय भएको सीआईबीको अनुसन्धानले देखाएको छ। तर रकम विदेश पठाउन प्रयोग गरिएका ती निर्णयका फाइल श्रम मन्त्रालयमा खोज्दा फेला नपरेको अनुसन्धान अधिकारीहरूले बताएका छन्।
चार मन्त्रीस्तरीय निर्णयमा दुई पूर्वमन्त्रीको नाम
सीआईबीको पछिल्लो अनुसन्धान विवरणअनुसार रकम विदेश पठाउन चारपटक मन्त्रीस्तरीय निर्णय भएको देखिएको छ। ती निर्णय हुँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामेश्वर राय यादव र शेरबहादुर कुँवर थिए।
यादवले २०७६ मंसिर ४ देखि २०७७ पुस १० सम्म श्रम मन्त्रालयको नेतृत्व गरेका थिए। उनको कार्यकालमा मन्त्रालयका सचिव विनोद केसी थिए। कुँवर २०७९ असार १३ देखि पुस ११ सम्म श्रममन्त्री थिए। उनको कार्यकालमा मन्त्रालयको सचिव रहेका एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भएको छ।
चारवटा मन्त्रीस्तरीय निर्णयमा यी दुई मन्त्रीको नाम जोडिएपछि उनीहरू पक्राउ परेका हुन्। तर रकम विदेश पठाउने काम भने निर्णय भएका दिनमा मात्रै सीमित रहेन। विभिन्न मितिमा राष्ट्र बैंकमार्फत रकम पठाइएको देखिएको छ।
यहीँबाट अनुसन्धानको अर्को जटिल पक्ष सुरु हुन्छ-मन्त्रीस्तरीय निर्णय गर्ने व्यक्ति, त्यसलाई कार्यान्वयन गर्ने कर्मचारी र पछि रकम पठाउन बैंकिङ स्वीकृति दिने निकायको भूमिका कसरी छुट्याउने ?
सीआईबीका अनुसन्धान अधिकारीहरूका अनुसार अहिलेसम्मको अनुसन्धानमा चारपटक मात्रै मन्त्रीस्तरीय निर्णय भएको देखिएको छ। तर रकम भने त्यसपछि पनि विभिन्न किस्तामा विदेश गएको छ। त्यसैले रकम पठाइएको प्रत्येक मितिलाई मात्रै आधार बनाएर सम्बन्धित समयका मन्त्रीलाई निर्णयकर्ता ठहर गर्न मिल्दैन। निर्णयको आधिकारिक कागजात, त्यसमा भएको हस्ताक्षर र कार्यान्वयनको प्रशासनिक शृंखला नै अनुसन्धानको मुख्य आधार बन्नुपर्ने देखिन्छ।
डीपी अर्याल र शरदसिंह भण्डारीको कार्यकालमा पनि रकम बाहिरिएको विवरण
सार्वजनिक भएको कारोबार विवरणअनुसार २०७९ माघ ३ देखि फागुन २२ सम्म पहिलोपटक श्रममन्त्री बनेका डीपी अर्यालको कार्यकालमा पनि मलेसिया रकम पठाइएको छ। त्यसैगरी २०७९ चैत १७ देखि २०८० चैत ७ सम्म श्रममन्त्री रहेका शरदसिंह भण्डारीको कार्यकालमा पनि रकम विदेश गएको विवरण छ।
डीपी अर्याल २०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म दोस्रोपटक श्रममन्त्री बनेका थिए। उक्त अवधिमा पनि रकम मलेसिया पठाइएको विवरण सार्वजनिक भएको छ। तर सीआईबीको अनुसन्धानसम्बन्धी पछिल्ला समाचारमा यी मन्त्रीहरूको कार्यकालमा रकम विदेश गएको देखिए पनि उनीहरूका पालामा रकम पठाउन मन्त्रीस्तरीय निर्णय भएको प्रमाण अहिलेसम्म फेला नपरेको उल्लेख छ। त्यसैले उनीहरूको कार्यकालमा भएको बैंकिङ कारोबार र उनीहरूले गरेको नीतिगत निर्णयलाई एउटै अर्थमा बुझ्न मिल्दैन।
यद्यपि, मन्त्रीको कार्यकालमा मन्त्रालयबाट पत्राचार भएको, राष्ट्र बैंकमा सटही सुविधा मागिएको वा रकम पठाउने प्रक्रिया अघि बढेको भए त्यसको प्रशासनिक जिम्मेवारी कसले लिएको थियो भन्ने प्रश्नको जवाफ अनुसन्धानले दिनुपर्ने हुन्छ।
डीपी अर्याल अहिले प्रतिनिधिसभाका सभामुख छन्। शरदसिंह भण्डारी पूर्वश्रममन्त्री हुन्। उनीहरूको कार्यकालमा रकम पठाइएको विवरण सार्वजनिक भइसकेपछि अनुसन्धानले त्यस अवधिका निर्णय, पत्राचार र संलग्न अधिकारीको भूमिका पनि स्पष्ट पार्नुपर्ने देखिन्छ।
पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी
यो प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालको नाम पनि जोडिएको छ। उनी शेरबहादुर कुँवर श्रममन्त्री रहेका बेला मन्त्रालयका सचिव थिए। उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भएको छ। तर उनी पक्राउ परिसकेको पुष्टि भएको छैन।
गृह मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचारमा पक्राउ पुर्जी लिन प्रहरी अदालत गएको समयमा अर्याल भारत गएको दाबी गरिएको छ। तर उनको भारत प्रस्थान, अनुसन्धानबाट बच्न खोजेको आरोप वा अन्य राजनीतिक व्यक्तिसँगको सम्बन्धबारे स्वतन्त्र पुष्टि भएको छैन।
पूर्वमुख्यसचिव अर्यालको भूमिका पनि यस प्रकरणमा महत्वपूर्ण हुन सक्छ। मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्रको नेतृत्व सचिवले गर्ने भएकाले निर्णयको प्रस्ताव, कानुनी राय, पत्राचार र राष्ट्र बैंकसँगको समन्वयमा उनको जिम्मेवारी के थियो भन्ने अनुसन्धानबाट खुल्नुपर्छ।
श्रमिकबाट कति रकम उठाइयो, कति विदेश पठाइयो ?
सीआईबीको अनुसन्धानसम्बन्धी पछिल्लो विवरणअनुसार २०७६ सालदेखि २०८१ सालसम्म मलेसिया जाने ७ लाख ५० हजार ९८८ जना नेपाली श्रमिक अतिरिक्त शुल्कबाट प्रभावित भएको पाइएको छ। उनीहरूबाट उठाइएको रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाइएको अनुसन्धानमा उल्लेख छ।
यहाँ उठाइएको कुल रकम र विदेश पठाइएको रकमलाई छुट्याएर बुझ्नुपर्ने हुन्छ। विदेश पठाइएको १ अर्ब ६९ करोड रुपैयाँ नै श्रमिकबाट असुल गरिएको सम्पूर्ण रकम हो भन्ने निष्कर्षमा पुग्न मिल्दैन। संकलित रकममध्ये कति नेपालमै रह्यो, कति कम्पनी वा अन्य पक्षले राख्यो र कति विदेश पठाइयो भन्ने पूर्ण विवरण अनुसन्धानबाट खुल्न बाँकी छ।
यस प्रकरणमा श्रमिकले तिरेको अतिरिक्त शुल्क फिर्ता पाउने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ। रकम विदेश पठाउने प्रक्रियामा संलग्न व्यक्ति पक्राउ परे पनि पीडित श्रमिकले आफ्नो पैसा फिर्ता पाउने व्यवस्था र त्यसको प्रक्रिया स्पष्ट हुन सकेको छैन।
अनुसन्धानको प्रश्नः निर्णयकर्ता को, कार्यान्वयनकर्ता को ?
मलेसिया श्रमिक ठगी प्रकरणमा अहिले दुई पूर्वमन्त्री र मन्त्रालयका चार कर्मचारी हिरासतमा छन्। कम्पनी सञ्चालक चार जना पनि यसअघि पक्राउ परेका छन्। पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको विवरण सार्वजनिक भएको छ।
तर अनुसन्धानको दायरा यतिमै सीमित हुनु हुँदैन। मन्त्रीस्तरीय निर्णय कसरी तयार भयो, त्यसको कानुनी आधार के थियो, मन्त्रालयका कुन अधिकारीले प्रस्ताव अघि बढाए, राष्ट्र बैंकमा कसले कस्तो कागजात पेस गर्यो र बैंकिङ माध्यमबाट रकम पठाउँदा कुन निकायले कस्तो परीक्षण ग¥यो भन्ने सबै पक्ष खुल्न आवश्यक छ।
त्यस्तै, डीपी अर्याल र शरदसिंह भण्डारीको कार्यकालमा रकम विदेश गएको विवरणको वास्तविकता, त्यस अवधिमा भएका पत्राचार र उनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका पनि तथ्यका आधारमा परीक्षण हुनुपर्छ। उनीहरूमाथि अनुसन्धान भएको वा नभएको विषयमा सीआईबीले स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता देखिन्छ।
सरकारको पत्रका आधारमा अनुसन्धान सुरु भएको हो भने अनुसन्धानको दायरा पनि प्रमाण र कसुरको प्रकृतिले निर्धारण गर्नुपर्छ, राजनीतिक पहुँच वा पदले होइन। दोषी देखिने जोसुकै व्यक्ति अनुसन्धानमा आउनुपर्छ र संलग्नता नदेखिएका व्यक्तिलाई आरोपका आधारमा दोषी ठहर गर्न मिल्दैन।
मलेसिया जाने श्रमिकले रोजगारीको खोजीमा विदेश जानुअघि नै अतिरिक्त शुल्क तिर्नुपरेको यो प्रकरण केवल आर्थिक ठगीको विषय होइन। राज्यले तोकेको शुल्कबाहेक रकम असुल्ने प्रणाली कसरी चल्यो र सरकारी संयन्त्रले त्यसलाई कसरी सहजीकरण गर्यो भन्ने गम्भीर प्रश्न पनि हो।
अन्ततः प्रश्न भनेको श्रमिकको पसिनाबाट उठेको रकम विदेश पुर्याउने निर्णय, त्यसको प्रशासनिक कार्यान्वयन र आर्थिक कारोबारमा संलग्न सबै तहको भूमिका निष्पक्ष रूपमा छानबिन हुन्छ कि हुँदैन भन्ने हो।
लोकप्रिय
ताजा अपडेट
श्रमिक ठगीको १ अर्ब ६९ करोड मलेसिया पठाउँदा दुई पूर्वमन्त्री मात्रै पक्राउ, सभामुख डीपी अर्याल र शरदसिंह भण्डारीमाथि अनुसन्धान किन भएन ?
कोसीमा एमालेको घरझगडा उत्कर्षमा ! ओलीको निशानामा हिक्मत कार्की, सत्ता जोगाउन नेकपाको साथ खोज्दै मुख्यमन्त्री

