कोसीमा एमालेको घरझगडा उत्कर्षमा ! ओलीको निशानामा हिक्मत कार्की, सत्ता जोगाउन नेकपाको साथ खोज्दै मुख्यमन्त्री

विराटनगर– आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट पद छाड्न दबाब बढेपछि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सत्ता जोगाउने रणनीतिमा जुटेका छन्। एमालेभित्रै उनको विकल्प खोज्ने प्रयास तीव्र बनेपछि कार्कीले सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँग राजनीतिक संवाद अघि बढाएका छन्।

ओलीले कार्कीलाई हटाएर प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चाहना राखेको चर्चा चलिरहेका बेला नेकपाले भने तत्काल सरकार परिवर्तन गर्न नहुने भन्दै कार्कीलाई साथ दिने संकेत गरेको छ। यसले एमालेको आन्तरिक विवादलाई प्रदेश सरकारको अस्तित्व र सत्ता समीकरणसँग जोडिदिएको छ।

एमालेभित्रको एउटा समूहले मुख्यमन्त्री परिवर्तनलाई पार्टीको राजनीतिक भविष्य र जनजाति समुदायको असन्तुष्टि सम्बोधन गर्ने रणनीतिका रूपमा अघि सारेको छ। अर्कोतर्फ, कार्कीलाई अहिले हटाउँदा पार्टी र प्रदेश सरकार दुवै संकटमा पर्न सक्ने भन्दै अर्को पक्षले नेतृत्वलाई सचेत गराइरहेको छ।

विवादको केन्द्रमा एमाले कोसी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र पार्टी अध्यक्ष ओलीको भूमिका देखिएको छ। राईसहितका नेताहरूले कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव ओलीसमक्ष पटकपटक राख्दै आएका छन्।

एक साताअघि काठमाडौंमा भएको एमालेको राष्ट्रिय कार्यकर्ता भेलाको समयमा पनि प्रदेश अध्यक्ष खतिवडा, इन्चार्ज राईसहितका नेता तथा केही सांसदले ओलीलाई भेटेर कार्कीलाई तत्काल पदबाट हटाउन दबाब दिएका थिए। त्यसअघि भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको भेटमा पनि नेतृत्व परिवर्तनको प्रस्ताव दोहो¥याइएको थियो।

जनजाति समुदायको असन्तुष्टि सम्बोधन गर्ने ओलीको दाउ
एमालेभित्र कार्कीलाई हटाउनुपर्ने पक्षले प्रदेशको नामकरणसँग जोडिएको जनजाति समुदायको असन्तुष्टिलाई मुख्य राजनीतिक कारणका रूपमा प्रस्तुत गरिरहेको छ।

ओलीकै निर्देशनमा प्रदेशको नाम ‘कोसी’ राखिएपछि पहिचान पक्षधर जनजाति समुदाय एमालेसँग असन्तुष्ट रहेको उनीहरूको तर्क छ। आगामी स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राखेर जनजाति समुदायबाटै मुख्यमन्त्री बनाउँदा पार्टीप्रति सकारात्मक माहोल बनाउन सकिने उनीहरूको बुझाइ छ।

प्रदेश इन्चार्ज राईले ओलीसमक्ष पनि यही विषय उठाएको स्रोतहरूको दाबी छ। कार्कीबाट पहिचानको मुद्दा स्थापित हुन नसक्ने भन्दै जनजाति समुदायको नेता मुख्यमन्त्री बनाउँदा पार्टीलाई राजनीतिक लाभ पुग्ने तर्क गरिएको बताइएको छ।

त्यही रणनीतिअन्तर्गत संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई कार्कीको विकल्पका रूपमा अघि सारिएको हो। मेन्याङ्बो ताप्लेजुङका एमाले नेता हुन्।

तर, मुख्यमन्त्री परिवर्तनलाई पहिचानको मुद्दासँग जोडेर अघि सारिए पनि यसले जनजाति समुदायको असन्तुष्टि सम्बोधन गर्छ कि गर्दैन भन्ने प्रश्न भने बाँकी छ। प्रदेशको नामकरणपछि उत्पन्न असन्तुष्टिको समाधान नेतृत्व परिवर्तनबाट मात्रै सम्भव हुन्छ भन्नेमा राजनीतिक सहमति देखिँदैन।

राजीनामा दिन कार्कीलाई दबाब, नेतृत्वले पठायो सन्देश
मुख्यमन्त्री परिवर्तनको गृहकार्य तीव्र भइरहेका बेला एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीले मंगलबार मुख्यमन्त्री कार्कीलाई भेटेका थिए। उनीहरूले पार्टी अध्यक्ष ओलीको सन्देश सुनाउँदै सहज रूपमा पद छाड्न आग्रह गरेको बताइएको छ।

खतिवडाले पार्टीको हितलाई केन्द्रमा राखेर छलफल गरिएको बताएका छन्। ‘तपाईंको राजनीतिक भविष्य अझै लामो छ, हाम्रो त उमेर पनि सकिन लाग्यो। अहिले सहज रूपमा छाडेर अर्कोलाई मुख्यमन्त्री बनाउन सहयोग गर्नूस् र मन्त्रिमण्डलका सदस्य फेरेर नयाँ साथीहरूलाई अवसर दिनूस् भनेका छौँ,’ उनले भने।

एमाले नेतृत्वले कार्कीलाई मंसिर १४ अघि नै राजीनामा दिन दबाब दिइरहेको स्रोतको दाबी छ। तर, कार्कीले पार्टीका केन्द्रीय नेताहरूसँग परामर्श गरेर मात्रै आफ्नो निर्णय लिने तयारी गरेका छन्। कार्की ओलीसँग प्रत्यक्ष टकरावमा जाने पक्षमा नरहेको उनीनिकट स्रोत बताउँछ। दुवैको निर्वाचन क्षेत्र झापा–५ एउटै भएकाले पार्टी अध्यक्षसँग भिड्नुपर्ने अवस्था नआओस् भन्ने चाहना कार्कीको रहेको स्रोतको भनाइ छ।

यद्यपि, ओलीको चाहनाअनुसार तत्काल पद छाड्ने मनस्थितिमा उनी देखिएका छैनन्। आफूलाई निरन्तरता दिनुपर्ने पक्षमा कार्की रहेको र पार्टीको संस्थागत निर्णय तथा संवैधानिक प्रक्रियाबाहेक अन्य दबाबका आधारमा पद नछाड्ने संकेत उनले दिएका छन्।

ओलीको दबाबबीच नेकपाको साथ खोज्दै कार्की
एमालेभित्र आफ्नो विकल्प खोज्न थालिएपछि कार्कीले सत्ता साझेदार नेकपाका प्रदेश नेताहरूसँग छलफल गरेका छन्। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले आफ्नो पार्टीभित्र भइरहेको नेतृत्व परिवर्तनको प्रयासबारे जानकारी गराउँदै सरकारको निरन्तरताबारे नेकपाको धारणा बुझ्न खोजेका थिए।

छलफलमा मुख्यमन्त्री कार्कीसहित आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप, एमाले सांसद रेवतीरमण भण्डारी, नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश संयोजक हर्कबहादुर नेम्वाङ सहभागी थिए। खानेपानी तथा सिँचाइमन्त्री तिलचन पाठक पनि केही समय छलफलमा बसेका थिए।

नेकपाले तत्काल सरकार परिवर्तन गर्न नहुने र निर्वाचनसम्म वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने धारणा राखेको छ। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारलाई मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने थलोका रूपमा आलोचना भइरहेका बेला फेरि नेतृत्व परिवर्तनको खेलमा लाग्नु उचित नहुने बताए।

‘प्रदेश संरचनालाई मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने थलोका रूपमा आलोचना भइरहेका बेला पुनः सरकार परिवर्तनको खेलमा लाग्नु उचित हुँदैन,’ आङ्बोले भने, ‘यसले ठूलो समस्या निम्त्याउनेवाला छ। यसको अपजस हामी बोक्न तयार छैनौँ।’

नेकपाले एमालेको आन्तरिक विवादका कारण कार्कीलाई हटाएर अर्को नेतालाई मुख्यमन्त्री बनाउने प्रयासलाई सहजै समर्थन नगर्ने संकेत दिएको छ। तर, उसको रणनीति वर्तमान सरकारलाई समर्थन गर्नेमा मात्रै सीमित देखिँदैन।

यदि एमालेले जबर्जस्ती नेतृत्व परिवर्तनको प्रयास गरे अन्य दलसँग सहकार्य गरेर आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न सकिने विकल्प पनि नेकपाले खुला राखेको छ। अर्थात्, अहिले कार्कीलाई साथ दिने र सरकार परिवर्तनको अवस्था आए मुख्यमन्त्री पदमा आफ्नै दाबी प्रस्तुत गर्ने दुवै रणनीति नेकपाले सँगसँगै अघि बढाएको देखिन्छ।

नेकपा प्रदेश संयोजक हर्कबहादुर नेम्वाङले पनि चुनावको मुखमा सरकार परिवर्तन गर्दा गलत सन्देश जाने भन्दै वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्। सरकार फेर्नै खोजिए नेकपाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने उनको भनाइ छ। यसले कार्कीलाई तत्कालका लागि राजनीतिक राहत दिएको छ। तर, नेकपाको समर्थनलाई एमालेभित्रको विवादमा स्थायी सुरक्षा कवचका रूपमा लिन सकिने अवस्था भने छैन।

एमालेभित्रै कार्कीको पक्षमा पनि आवाज
मुख्यमन्त्री कार्कीलाई हटाउने प्रयासमा एमाले प्रदेश नेतृत्व सक्रिय भए पनि पार्टीभित्र सबै नेता त्यसको पक्षमा छैनन्। एमाले सांसद रेवतीरमण भण्डारीले अहिले सरकार परिवर्तनको बहसलाई ‘बेमौसमी बाजा’को संज्ञा दिँदै विरोध गरेका छन्। उनका अनुसार जनतामाझ पार्टीको छवि सुधार्नुपर्ने समयमा प्रदेश सरकारलाई गिजोल्ने गतिविधिले उल्टै एमालेलाई कमजोर बनाउँछ।

‘अहिले एमालेप्रति जनतामा नकारात्मक दृष्टिकोण सिर्जना भएको छ। यस्तो परिवेशमा हरेक प्रदेशका सरकारलाई गिजोल्ने र त्यसबाट एमालेलाई बाहिर निकाल्ने तथा नेता–कार्यकर्ताबीच नै लडाउने जुन खेल नेतृत्वबाट भएको छ, यो अत्यन्तै चिन्ताको विषय हो,’ भण्डारीले भनेका छन्।

एमालेकै कतिपय सांसदको धारणा पनि निर्वाचनसम्म वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छ। उनीहरूका अनुसार अहिले नेतृत्व परिवर्तनको विवाद चर्काउँदा पार्टीभित्र थप विभाजन देखिने र सरकारको कामकारबाही प्रभावित हुने जोखिम छ।

यसअघि पनि कार्कीलाई हटाउने प्रयास हुँदा एमालेभित्र हस्ताक्षर संकलनसम्मको गतिविधि भएको थियो। त्यसबेला असन्तुष्ट सांसदहरूले संसदीय दलको नेतृत्व परिवर्तनदेखि मुख्यमन्त्री फेर्नेसम्मको प्रस्ताव अघि सारेका थिए। उनीहरूको विकल्प पनि मेन्याङ्बो नै थिए।

विवाद पार्टी अध्यक्ष ओलीसम्म पुगेपछि कार्कीलाई समेत राखेर छलफल भएको थियो। त्यसबेला कुनै ठोस निर्णय हुन सकेन। असन्तुष्ट पक्षले कार्कीले उपयुक्त समयमा नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको दाबी गर्दै आएको छ। तर, पद छाड्ने समयसीमा तय नभएपछि विवाद पुनः बल्झिएको हो।

सरकार परिवर्तनको बाटो ओलीको चाहनाजति सहज छैन
कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने एमालेको चाहना कार्यान्वयन हुन प्रदेशसभाको अंकगणित र संवैधानिक प्रक्रिया दुवै निर्णायक हुनेछन्।

कोसी प्रदेशसभामा एमालेका ४०, नेकपाका १७, नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच र जनता समाजवादी पार्टीका एक सांसद छन्। कुल ९२ सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

मुख्यमन्त्री कार्कीले गत भदौ ८ गते प्रदेशसभाबाट ५७ मत प्राप्त गरेका थिए। त्यसबेला एमाले र नेकपाका सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए। अहिले पनि नेकपाले साथ कायम राखे कार्कीका लागि प्रदेशसभामा बहुमतको आधार बलियो रहन्छ।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। त्यसैले एमाले संसदीय दलको नेता परिवर्तन हुँदैमा मुख्यमन्त्री पद स्वतः रिक्त हुने अवस्था हुँदैन। मेन्याङ्बोले संसदीय दलभित्र बहुमत जुटाए पनि मुख्यमन्त्री बन्न प्रदेशसभाको संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

कार्कीले राजीनामा नदिएको अवस्थामा उनलाई हटाउने प्रयास प्रदेशसभाको अंकगणित र संविधानले निर्धारण गरेको प्रक्रियाबाटै अघि बढ्नुपर्छ। अर्कोतर्फ, नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा कार्कीले आफ्नो बहुमत पुनः प्रमाणित गर्नुपर्ने अवस्था आउन सक्छ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैले नेकपाको समर्थन अहिले कार्कीका लागि सबैभन्दा महत्वपूर्ण राजनीतिक आधार बनेको छ।

प्रदेश प्रमुख नहुँदा थपिएको संवैधानिक अन्योल
सरकार परिवर्तनको बहस चलिरहेकै बेला कोसी प्रदेश प्रदेश प्रमुखविहीन रहेको विषयले पनि राजनीतिक प्रक्रियालाई थप जटिल बनाएको छ। प्रदेश प्रमुख परशुराम खापुङको कार्यकाल सकिएपछि नयाँ नियुक्ति वा कार्यवाहकको व्यवस्था नहुँदा सरकार गठन, शपथ तथा अध्यादेशजस्ता संवैधानिक प्रक्रियामा अन्योल उत्पन्न हुन सक्ने अवस्था छ।

यस्तो अवस्थामा मुख्यमन्त्री परिवर्तनको प्रयास अघि बढेमा राजनीतिक सहमति मात्रै पर्याप्त नहुन सक्छ। संवैधानिक पदाधिकारीको व्यवस्था र आवश्यक प्रक्रिया पनि स्पष्ट हुनुपर्नेछ।

कसको जित, कसको हार ?
कोसी प्रदेशको अहिलेको विवाद मुख्यमन्त्रीको कुर्सी कसले सम्हाल्ने भन्नेमा मात्रै सीमित छैन। यसले एमालेभित्र पार्टी अध्यक्षको निर्णय कति प्रभावकारी हुन्छ, प्रदेश नेतृत्वको दबाब कति निर्णायक बन्छ र सत्ता साझेदार दलले कति राजनीतिक भूमिका खेल्न सक्छ भन्ने प्रश्न पनि उठाएको छ।

ओलीका लागि कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउनु पार्टीभित्रको नेतृत्व परिवर्तन र जनजाति समुदायसँगको सम्बन्ध सुधार्ने राजनीतिक प्रयास हुन सक्छ। कार्कीका लागि भने यो आफ्नै पार्टीभित्रको दबाब सामना गर्दै मुख्यमन्त्री पद जोगाउने चुनौती हो।

नेकपाले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने बताइरहे पनि सरकार परिवर्तनको अवस्था आए आफ्नै नेतृत्वको दाबी खुला राखेको छ। त्यसैले उसको समर्थन कार्कीका लागि तत्कालीन राहत भए पनि भविष्यको सत्ता समीकरणमा नेकपाको भूमिका निर्णायक बन्न सक्छ।

अहिलेको अवस्थामा ओलीको चाहनाले मात्रै कोसीको मुख्यमन्त्री फेरिने निश्चित छैन। कार्कीले राजीनामा दिन्छन् कि पार्टीभित्रको दबाब सामना गर्छन्, नेकपा आफ्नो समर्थनमा अडिन्छ कि नयाँ सत्ता समीकरण खोज्छ र एमालेले मेन्याङ्बोको पक्षमा प्रदेशसभाको बहुमत जुटाउन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तरले कोसी प्रदेशको आगामी राजनीति निर्धारण गर्नेछ।

एमालेभित्रको यो विवाद अन्ततः मुख्यमन्त्री परिवर्तनमा टुंगिन्छ वा पार्टीकै सत्ता समीकरणलाई उल्ट्याउने मोडमा पुग्छ, त्यसको संकेत अब ओली, कार्की र नेकपाबीचको आगामी राजनीतिक चालले दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट