छठघाटमा वृद्धको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले ५ राउण्ड गोली चलाएर समात्यो
जनकपुर– धनुषामा छठघाटमा पूजासामग्रीको रेखदेख गर्न बसेका ६० वर्षीय वृद्धको हत्या गरेर भारततर्फ फरार भएका आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। पुरानो रिसइबीका कारण रामजतन यादवको हत्या गरेको आरोपमा शहीदनगर नगरपालिका–२ का ३० वर्षीय जयकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।
‘बालक दास’ नामले समेत चिनिने यादवलाई भारतीय सीमाक्षेत्र जटहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंसिर १२ गते शनिबार साँझ करिब ६ बजे नगराइन नगरपालिका–२ जटहीबाट राघोपुर जाने बाटोस्थित नेपाल–भारत सीमा क्षेत्रमा उनलाई पक्राउ गर्न खोजिएको थियो। प्रहरी टोलीलाई देखेपछि यादव भारततर्फ भाग्न खोजेका थिए। आत्मसमर्पण गर्न दिएको चेतावनीसमेत बेवास्ता गर्दै सीमा पार गर्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ।
प्रहरीका अनुसार सुरुमा पेस्तोलबाट एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि यादव भाग्न नछाडेपछि थप चार राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो। हवाई फायरसहित जम्मा पाँच राउन्ड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
गोली लागेर यादवको बायाँ तिघ्रामा एक र दाहिने घुँडामुनि दुई गरी तीन गोली लागेको छ। घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट निर्माण गरी पूजासामग्रीको रेखदेख गर्न बसेका रामजतन यादव कात्तिक ३० गते बिहान करिब ६ बजे मृत अवस्थामा फेला परेका थिए। उनी अघिल्लो दिन अर्थात् कात्तिक २९ गते पोखरीमा पूजासामग्री कुरेर एक्लै बसेका थिए।
घटनास्थलमा रगतजस्तो पदार्थका दाग भेटिएका थिए। त्यस्तै, कपालजस्तो वस्तु लागेको देखिने धारिलो हतियारसमेत प्रहरीले बरामद गरेको थियो। घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण जयकुमार यादवले रामजतनमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्। यादवले कुटी काट्ने कर्साले रामजतनको अनुहारमा प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनापछि यादव भारततर्फ फरार भएका थिए। उनलाई पक्राउ गर्न प्रहरीले खोजतलास तीव्र पारेको थियो। यसै क्रममा उनी भारतीय सीमावर्ती जटही क्षेत्रमा लुकिछिपी बसेको विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचनाका आधारमा परिचालित प्रहरी टोलीले जटहीबाट राघोपुर जाने बाटोस्थित सीमा क्षेत्रमा उनलाई फेला पारेको थियो। पक्राउ गर्ने क्रममा भारततर्फ भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।
छठ पर्वका लागि बनाइएको घाटमा पूजासामग्रीको रेखदेख गर्न बसेका वृद्धको हत्या भएपछि स्थानीय क्षेत्रमा घटनाले चासो पैदा गरेको थियो। पुरानो रिसइबीका कारण हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। अहिले आरोपी घाइते अवस्थामा प्रहरी नियन्त्रणमा छन् र अस्पतालमा उपचाररत छन्।
लोकप्रिय
रौतहटमा ३ महिने गर्भवतीको शंकास्पद मृत्यु, रातारात शव जलाउन खोजेपछि प्रहरीद्वारा जफत, श्रीमानसहित ४ पक्राउ
६५ लाखमा किनेको जग्गा मालपोतमा ६ लाख ९० हजार मात्रै ! सुधनले स्वीकारेको ५८ लाखको अन्तर प्रतिवेदनमा किन गायब?
‘यसरी कहिलेसम्म चलाउनुहुन्छ ?’ भन्दै राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यशैलीप्रति रवि लामिछानेसँग असन्तुष्टि जनाएपछि…
ताजा अपडेट
चार वर्षको ठेक्का, ६ महिना बाँकी हुँदा ३ प्रतिशत मात्रै काम ! ठेकेदारलाई जेलमा राख्न मन्त्रीको निर्देशन

