३२ वर्षअघि मनमोहन अधिकारीले भारतसँग लिएको सहमति बालेनले फेरि गरे, पुरानै उपलब्धिमा नयाँ प्रचार !
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा गुजरातस्थित कान्डला बन्दरगाहमा नेपालको पारवहन पहुँच सुनिश्चित गर्ने घोषणा भएपछि सरकारले यसलाई नयाँ उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ। तर, सरकारी प्रचारमा देखाइएको यो उपलब्धिको जरो खोज्दै जाँदा ३२ वर्षअघिको इतिहास भेटिन्छ। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ मै भारतीय समकक्षी पीभी नरसिंह रावसँग नेपाललाई कान्डला बन्दरगाह प्रयोग गर्न दिने सहमति गरिसकेका थिए।
अर्थात्, बालेन सरकारले अहिले नयाँ उपलब्धिका रूपमा प्रचार गरिरहेको बन्दरगाह पहुँचको विषय नेपाल–भारतबीच तीन दशकअघि नै प्रधानमन्त्रीस्तरमा सहमति भइसकेको विषय हो। अहिलेको भ्रमणले पुरानो सहमतिलाई फेरि संयुक्त वक्तव्यमा समेटेको छ। तर, यसपटक त्यसलाई व्यवहारमा उतार्ने गरी पारवहन मार्गका रूपमा कार्यान्वयन गर्ने सरकारको दाबी छ।
प्रधानमन्त्री अधिकारी २७ चैत २०५१ देखि १ वैशाख २०५२ सम्म भारतीय प्रधानमन्त्री रावको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका थिए। २९ चैत २०५१ मा नयाँदिल्लीमा दुई प्रधानमन्त्रीबीच भएको औपचारिक वार्तापछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ७ मा कान्डला बन्दरगाहमा नेपालको पहुँचसम्बन्धी सहमति स्पष्ट रूपमा उल्लेख गरिएको थियो।
उक्त सहमतिअनुसार नेपालले कान्डला र बम्बई बन्दरगाहबाट पारवहन व्यापार गर्न पाउने व्यवस्था गरिएको थियो। भन्सार सिलबन्दी गरिएका कन्टेनरमा सामान ढुवानी गर्ने र तोकिएको छोटो रेलमार्ग प्रयोग गर्ने सर्त राखिएको थियो। भारतीय नागरिकलाई उपलब्ध भएसरहका सर्तमा नेपालको पारवहन व्यापारलाई पनि बन्दरगाह सुविधा दिने सहमति भएको थियो।
त्यसैगरी कान्डला, बम्बई र कलकत्ताबाट वा ती बन्दरगाहमा भन्सार सिलबन्दीअन्तर्गत कन्टेनरमा ढुवानी हुने नेपाली पारवहन व्यापारका लागि रक्सौलमा थप भन्सार जाँचपास सुविधा उपलब्ध गराउने उल्लेखसमेत संयुक्त वक्तव्यमा थियो।
त्यसैले कान्डला बन्दरगाहमा नेपालको पहुँचको अवधारणा अहिले पहिलोपटक आएको होइन। १९९५ मै भएको सहमतिलाई त्यसपछिका वर्षमा दुई देशका वाणिज्य सचिव र सहसचिवस्तरीय संयन्त्रमा समेत उठाइएको थियो। तर, नेपालले त्यसलाई नियमित रूपमा प्रयोग गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउन सकेन। समयक्रमसँगै विषय सरकारी प्राथमिकताबाट ओझेलमा पर्दै गयो।
प्रधानमन्त्री बालेन शाहको २२–२३ नोभेम्बर २०२६ को भारत भ्रमणका क्रममा भने यो विषय पुनः द्विपक्षीय छलफलमा आएको हो। ७ मंसिर २०८३ मा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको दीनदयाल बन्दरगाह अर्थात् कान्डलामार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ कनेक्टिभिटी मार्ग घोषणा गरेको उल्लेख छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहसम्म पनि नेपाललाई पहुँच उपलब्ध गराइने वक्तव्यमा भनिएको छ।
यस घोषणापछि सरकारले कान्डला बन्दरगाहमा नेपालको पहुँचलाई नयाँ उपलब्धिका रूपमा प्रचार गरिरहेको छ। तर, कूटनीतिक र वाणिज्य क्षेत्रका जानकारहरूले पुरानो सहमति स्मरण नगरी नयाँ उपलब्धि भनेर प्रस्तुत गर्नु सरकारी संयन्त्रको संस्थागत कमजोरी भएको टिप्पणी गरेका छन्।
पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाका अनुसार सन् १९९५ मा भएको सहमतिबारे सरकारी संयन्त्रलाई जानकारी थियो। उनी वाणिज्य मन्त्रालयको सचिव हुँदा पनि कान्डला बन्दरगाहमा नेपालको पहुँच रहेको विषय सम्बन्धित निकायलाई थाहा भएको बताउँछन्।
ओझाका अनुसार सहमति भएको केही वर्षसम्म दुई देशका वाणिज्य सचिव तथा सहसचिवस्तरीय संयुक्त बैठकमा कान्डला बन्दरगाह प्रयोगको विषय उठ्ने गरेको थियो। तर, तत्कालीन अवस्थामा उक्त बन्दरगाह प्रयोग गर्नुपर्ने तत्कालीन आवश्यकता नदेखिएकाले नेपालले त्यसको कार्यान्वयनका लागि निरन्तर पहल गरेन। पछि सरकारी तहबाटै फलोअप हुन छाडेपछि विषय ओझेलमा परेको उनको भनाइ छ।
ओझाले विगतमा प्रधानमन्त्रीस्तरमा भइसकेको सहमतिलाई अहिले नयाँ उपलब्धि भनेर दोहोर्याउनु सरकारी निकायको संस्थागत स्मरण कमजोर भएको संकेत भएको टिप्पणी गरेका छन्। उनका अनुसार सरकार परिवर्तनसँगै पुराना निर्णय र सहमति बिर्सने प्रवृत्तिले राज्यका संयन्त्रमा भएका कामसमेत हराउने जोखिम बढाउँछ।
उनको तर्कमा नेपालले नयाँ बन्दरगाहमा पहुँचको सहमति गर्नुभन्दा पहिल्यै पहुँच पाइसकेका बन्दरगाहको अधिकतम उपयोगमा ध्यान दिनुपर्छ। कान्डला बन्दरगाहको पहुँचलाई पहिलोपटक प्राप्त भएको भनेर प्रचार गर्नु तथ्यगत रूपमा गलत हुने उनको भनाइ छ।
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि कान्डला बन्दरगाहमा नेपालको पहुँचको विषय पुरानै भएको बताएका छन्। उनका अनुसार आफू भारतका लागि राजदूत हुँदा पनि नेपालले उक्त बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको जानकारी थियो।
उपाध्यायले उच्चस्तरीय भ्रमणअघि विगतमा काम गरेका र अनुभव भएका व्यक्तिसँग पर्याप्त परामर्श नगर्ने सरकारी परिपाटीलाई कूटनीतिक कमजोरीको कारण मानेका छन्। उनका अनुसार कान्डला बन्दरगाह नेपालको हितमा प्रयोग हुन सक्छ भन्ने विषय र नेपालले पहिलोपटक पहुँच पाएको भन्ने दाबी फरक हुन्। अहिलेको सहमतिमा पहुँचको विषय उल्लेख हुनु सकारात्मक भए पनि यसलाई इतिहासमै पहिलोपटक प्राप्त उपलब्धिका रूपमा प्रस्तुत गर्नु उचित नहुने उनको भनाइ छ।
सन् १९९५ को सहमतिका साक्षी तत्कालीन वाणिज्य, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भीम रावल पनि हुन्। प्रधानमन्त्री अधिकारीको भ्रमण दलमा सहभागी रावलका अनुसार भारतको राष्ट्रपति भवनमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा कान्डला, बम्बई र कलकत्ता बन्दरगाह प्रयोगसम्बन्धी सहमतिले अन्तिम रूप पाएको थियो।
रावलका अनुसार उक्त भ्रमणअघि नै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका क्रममा सीमा, जलस्रोत, सन्धि र पारवहनलगायत विषयमा छलफल भएको थियो। त्यसपछि प्रधानमन्त्रीस्तरको वार्तामा बन्दरगाह प्रयोगसम्बन्धी सहमति टुंगिएको थियो।
तर, एमाले नेतृत्वको सरकार लामो समय टिक्न नसकेपछि सहमति कार्यान्वयनका लागि निरन्तर पहल हुन नसकेको रावल स्वीकार गर्छन्। अहिलेको प्रचारप्रसारमा भने विगतको सहमति लुकाएर नेपालले पहिलोपटक कान्डला बन्दरगाह पाएको जस्तो सन्देश दिन खोजिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
यता परराष्ट्र मन्त्रालयले भने अहिलेको सहमतिलाई पुरानो सहमतिको कार्यान्वयनसँग जोडेर व्याख्या गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३२ वर्षअघि पनि सहमति भएको विषय सरकारलाई जानकारी रहेको बताएका छन्। उनका अनुसार विभिन्न कारणले कार्यान्वयन हुन नसकेको पुरानो सहमतिलाई अहिले पारवहन मार्गका रूपमा प्रयोग गर्ने गरी अघि बढाइएको हो।
उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने कान्डला बन्दरगाहको प्रयोगले नेपालको पश्चिम क्षेत्रको व्यापार सहज बनाउने अपेक्षा गरेका छन्। उनका अनुसार पश्चिम क्षेत्रबाट हुने आयात–निर्यातका लागि कोलकाता र विशाखापट्टनमसम्म घुमेर जानुपर्ने बाध्यता कम हुन सक्छ। कान्डला सरकारी स्वामित्वको बन्दरगाह भएकाले कम शुल्कमा सेवा लिन सकिने सम्भावना पनि उनले औँल्याएका छन्।
कान्डला गुजरातको कच्छ जिल्लामा गान्धीधामनजिकै अवस्थित भारतको प्रमुख बन्दरगाहमध्ये एक हो। भारत स्वतन्त्र भएपछि सन् १९५० को दशकमा निर्माण भएको यो बन्दरगाहले सन् २०२५/२६ मा १५ करोड टनभन्दा बढी मालसामान व्यवस्थापन गरेको विवरण छ। पश्चिम भारतको व्यापारिक आवागमनका लागि महत्त्वपूर्ण मानिने यस बन्दरगाहको प्रयोग नेपालका लागि पनि उपयोगी हुन सक्ने सरकारी अधिकारीहरूको बुझाइ छ।
भारतसँगको पारवहन व्यवस्थाअनुसार नेपालले यसअघि नै हल्दिया, कोलकाता र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ। तीमध्ये कोलकाता बन्दरगाह नेपालको पारवहन व्यापारको प्रमुख माध्यम हो। कान्डलाको पहुँच कार्यान्वयनमा आएमा पश्चिम भारत हुँदै हुने व्यापारका लागि अर्को विकल्प थपिनेछ। पारादीप बन्दरगाहमा पहुँच पनि आवश्यक पूर्वाधार तयार भएपछि उपलब्ध गराउने भारतको प्रतिबद्धता छ।
तर, अहिलेको मुख्य प्रश्न नेपालले कान्डला बन्दरगाहमा पहुँच पायो कि पाएन भन्ने मात्र होइन। ३२ वर्षअघि नै सहमति भएको विषय किन कार्यान्वयन हुन सकेन, त्यसको जिम्मेवारी कसले लिने र अहिलेको घोषणाले विगतको सहमतिलाई व्यवहारमा उतार्न के–कस्ता ठोस व्यवस्था गर्छ भन्ने हो।
पुरानो सहमतिलाई नयाँ उपलब्धिका रूपमा प्रचार गरेर मात्रै नेपालको पारवहन व्यापारले लाभ पाउँदैन। बन्दरगाहसम्म नियमित रेल तथा मालवाहक सेवा, भन्सार प्रक्रिया, ढुवानी लागत, समय र अन्य प्राविधिक तथा प्रशासनिक अवरोध हटाउन सके मात्रै यो पहुँच व्यवहारमा उपयोगी बन्न सक्छ।
त्यसैले बालेन सरकारका लागि अहिलेको चुनौती नयाँ घोषणा गर्नु मात्र होइन, तीन दशकदेखि कागजमा सीमित रहेको सहमतिलाई व्यापारिक व्यवहारमा उतार्नु हो। इतिहास बिर्सेर उपलब्धिको प्रचार गर्नुभन्दा पुरानो सहमति कार्यान्वयन नहुनुको कारण पहिचान गरी परिणाम देखाउनु नै सरकारको वास्तविक परीक्षा हुनेछ।
लोकप्रिय
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, बिरामी आमाको बहाना बनाएर १३ लाख ७० हजार ठगेको जाहेरी !
विद्यालयको हिसाबकिताबमा प्रश्न उठाउँदा शिक्षिकाको सरुवा, विवाद चर्किएपछि दुई शिक्षिकाको जगल्टा लुछालुछ!
रविको साथ छाडेर बालेनतिर सोविता ? सातौँबाट एकैपटक तेस्रो वरीयतामा उक्लिएपछि राजनीतिक वृत्तमा चर्चा !
ताजा अपडेट
ईनमकी पत्नी मानव अधिकार आयोगमा, चोलेन्द्रदेखि गगनसम्मको नाम लिन दबाब, नमानेपछि झुटा कागजमा सही गराउन खोजियो !

