चार वर्षको ठेक्का, ६ महिना बाँकी हुँदा ३ प्रतिशत मात्रै काम ! ठेकेदारलाई जेलमा राख्न मन्त्रीको निर्देशन

चितवन– नारायणी नदीमाथि निर्माणाधीन ‘सिग्नेचर ब्रिज’को काम चार वर्षको ठेक्का अवधि सकिन करिब ६ महिना बाँकी रहँदासमेत ३ प्रतिशत मात्रै पूरा भएको पाइएको छ। निर्धारित समयभित्र काम अघि नबढाएको भन्दै पूर्वाधार विकासमन्त्री सुनील लम्सालले निर्माण कम्पनीप्रति कडा असन्तुष्टि जनाउँदै ठेकेदारलाई काम नसकिएसम्म जेलमै राख्नुपर्ने अभिव्यक्ति दिएका छन्।

शनिबार निर्माणस्थलको निरीक्षणका क्रममा मन्त्री लम्सालले चितवनका सीडीओलाई सम्बोधन गर्दै भने, ‘सीडीओ साव, यो कन्ट्रयाक्टरलाई, यसले जबसम्म राम्रोसँग काम गर्दैन नि, तबसम्म त्यसलाई जेलमै राखौँ क्या।’ उनले थप आक्रोश व्यक्त गर्दै प्रश्न गरे, ‘यस्तो फटाहाहरूलाई छोडेर हुन्छ?’

मन्त्री लम्सालले निर्माणको गति तत्काल नबढाए ठेक्का सम्झौता तोड्ने चेतावनीसमेत दिएका छन्। एउटा आयोजना मात्रै नभई निर्माण कम्पनीले देशभर जिम्मा लिएका अन्य आयोजनाको अवस्थासमेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।

नारायणी नदीमाथिको यो पुल निर्माणको जिम्मा टुण्डी कन्स्ट्रक्सन प्रालिले पाएको हो। भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँ लागतमा निर्माण हुने गरी कम्पनीसँग २०८० जेठ १९ गते सम्झौता भएको थियो। डिजाइन तथा निर्माण (डिजाइन एन्ड बिल्ड) मोडेलमा अघि बढाइएको आयोजनाको निर्माण अवधि चार वर्ष तोकिएको छ। सम्झौताअनुसार आगामी जेठमा निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्मको प्रगति भने ३ प्रतिशतमा सीमित रहेको बताइएको छ।

आयोजनाको काम अपेक्षित गतिमा अघि बढ्न नसक्नुमा बाढीपहिरोको प्रभाव पनि देखाइएको छ। भोटेकोसी र बूढीगण्डकी क्षेत्रमा आएको बाढीपछि निर्माण कार्य सुस्ताएको र कतिपय काम रोकिएको बताइएको छ। तर प्राकृतिक विपत्तिको प्रभाव देखिए पनि चार वर्षको अवधिमा तीन प्रतिशत मात्रै प्रगति हुनु र निर्माण सम्पन्न गर्ने समय नजिकिँदै जानुले आयोजनाको कार्यतालिका र ठेक्का व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

यो पुल सामान्य नदीपार गर्ने संरचना मात्रै नभई नारायणी नदीको पहिचानसँग जोडिने गरी डिजाइन गरिएको ‘सिग्नेचर ब्रिज’ हो। पुलको कुल लम्बाइ ४२० मिटर र चौडाइ ७.५ मिटर रहनेछ। दुई लेनको सडकसहित ३.५ मिटर चौडाइको पैदलमार्ग निर्माण गर्ने योजना छ। पुलमा दुईवटा ठूला पाइलन रहनेछन्, जसको बीचको दूरी २१० मिटर हुनेछ। समग्र संरचनामा चारवटा पियर रहने डिजाइन गरिएको छ।

पुलको डिजाइन नदीको जलप्रवाह र सम्भावित जलयातायातलाई ध्यानमा राखेर तयार गरिएको बताइएको छ। पुलमुनिबाट साना पानीजहाजसमेत आवतजावत गर्न सक्ने गरी संरचना बनाउने लक्ष्य राखिएको छ। त्यसैले यो आयोजना यातायात पूर्वाधारसँगै नदीको सौन्दर्य र पर्यटन सम्भावनासँग पनि जोडिएको छ।

तर आकर्षक डिजाइन र ठूलो लगानीको योजना व्यवहारमा कति अघि बढ्यो भन्ने प्रश्न अहिले मुख्य बनेको छ। सम्झौता रकम १ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी, निर्माण अवधि चार वर्ष र प्रगति तीन प्रतिशत मात्रै हुँदा बाँकी अवधिमा काम सम्पन्न गर्नुपर्ने दबाब निर्माण कम्पनीमाथि छ। कामको वास्तविक अवस्था, ढिलाइको कारण र कम्पनीले प्रस्तुत गरेको कार्यतालिकाबारे स्पष्ट जवाफ सार्वजनिक हुनु आवश्यक देखिएको छ।

मन्त्रीको जेलमै राख्नुपर्ने अभिव्यक्ति राजनीतिक तथा प्रशासनिक आक्रोशका रूपमा आएको भए पनि ठेक्का ढिलाइको विषयमा कारबाही गर्दा प्रचलित कानुन, सम्झौताका सर्त र प्रक्रियाअनुसार अघि बढ्नुपर्ने हुन्छ। ठेकेदारलाई पक्राउ वा थुनामा राख्ने विषय केवल निर्माणमा ढिलाइ भएको आधारमा स्वतः तय हुने कुरा होइन। त्यसका लागि कानुनी आधार र सम्बन्धित निकायको प्रक्रिया आवश्यक हुन्छ।

अब प्रश्न मन्त्रीको आक्रोशमा मात्रै सीमित छैन। १ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सार्वजनिक लगानी जोडिएको आयोजना किन चार वर्षको अवधिमा ३ प्रतिशत मात्रै अघि बढ्यो? निर्माण कम्पनीले सम्झौताअनुसार काम गर्न नसक्नुको कारण के हो? बाढीको असर कति समयसम्म रह्यो र त्यसपछि काम अघि बढाउन कम्पनीले के तयारी ग¥यो? बाँकी अवधिमा निर्माण सम्पन्न गर्ने विश्वसनीय कार्ययोजना छ कि छैन?

नारायणीको सिग्नेचर ब्रिजको भविष्य अब मन्त्रीको चेतावनीभन्दा पनि ठेक्का कार्यान्वयन, निर्माण कम्पनीको जवाफदेहिता र सरकारी अनुगमनको प्रभावकारिताले निर्धारण गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट