रौतहटमा ३ महिने गर्भवतीको शंकास्पद मृत्यु, रातारात शव जलाउन खोजेपछि प्रहरीद्वारा जफत, श्रीमानसहित ४ पक्राउ
रौतहट– तीन महिनाकी गर्भवती महिलाको रहस्यमय मृत्यु भएपछि रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वामा एउटा परिवार प्रहरी अनुसन्धानको घेरामा परेको छ। मृत्युको कारण खुल्न नपाउँदै शव अन्त्येष्टिका लागि बागमती नदीको बगरमा पुर्याएर जलाउन थालिएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्यो।
घटनामा हत्या आशंका गर्दै प्रहरीले मृतकका श्रीमानसहित परिवारका चार सदस्यलाई नियन्त्रणमा लिएको छ। बडहर्वा टोलकी कलावती देवीको शव शुक्रबार बागमती नदी किनारमा जलाइँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो। स्थानीयले शव जलाउन थालिएको सूचना दिएपछि प्रहरी चौकी बडहर्वाबाट असई सियाराम साहको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल आगो निभाएर शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार कलावती तीन महिनाकी गर्भवती थिइन्। उनका श्रीमान दिलीप दास तत्माले बिहीबार राति अचानक पेट दुखेपछि उनको मृत्यु भएको बताएका छन्। शुक्रबार बिहान अन्त्येष्टिका लागि शव बागमती नदीको बगरमा लगिएको थियो। तर, मृत्युको कारणबारे शंका उत्पन्न भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
मृत्यु भएको केही घण्टामै शव जलाउन थालिएको र घटनाबारे प्रहरीलाई जानकारी नदिइएको विषयले अनुसन्धानलाई थप संवेदनशील बनाएको छ। गर्भवती महिलाको मृत्यु भएको अवस्थामा चिकित्सकीय परीक्षण र कानुनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गर्न खोजिएको घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ।
प्रहरीले घटनास्थलबाट मृतकका श्रीमान दिलीप, उनका हजुरबुवा रामानन्द दास र भाइ निरज दासलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धान अघि बढाउने क्रममा मृतककी २३ वर्षीया नन्द सुकुन्तला देवीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मण शाहीले जानकारी दिएका छन्।
मृतकका माइती पक्षले भने कलावतीको मृत्यु स्वाभाविक नभई कुटपिटका कारण भएको आरोप लगाएका छन्। उनीहरूले श्रीमान दिलीपसहित परिवारका सदस्यले कुटपिट गरी हत्या गरेको दाबी गर्दै शुक्रबार प्रहरीमा जाहेरी दिएका छन्। जाहेरीमा मंसिर ९ गते राति भएको कुटपिटबाट कलावतीको मृत्यु भएको उल्लेख गरिएको छ।
कलावतीको माइती बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा छ। माइती पक्षको जाहेरी र शव जलाउन खोजिएको घटनालाई आधार बनाएर प्रहरीले परिवारका सदस्यहरूमाथि अनुसन्धान अघि बढाएको हो।
प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो। पोस्टमार्टमपछि शव मृतकका बुवा हिरामन दासलाई बुझाइएको प्रहरीले जनाएको छ। तर, मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानबाट मात्रै खुल्नेछ।
डीएसपी शाहीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार अनुसन्धानका क्रममा मृतककी नन्दलाई समेत नियन्त्रणमा लिइएको छ। परिवारका सदस्यसँग सोधपुछ तथा उपलब्ध प्रमाणको परीक्षणपछि घटनाको वास्तविकता खुल्ने प्रहरीको भनाइ छ।
तीन महिनाको गर्भ बोकेकी कलावतीको मृत्यु, त्यसपछि तत्कालै शव जलाउन खोजिएको घटना र माइती पक्षले लगाएको कुटपिट तथा हत्याको आरोपले बडहर्वाको यो घटनालाई रहस्यमय बनाएको छ। पोस्टमार्टम रिपोर्ट, घटनास्थलको अवस्था र अनुसन्धानबाट मृत्युको कारण तथा घटनामा कसको संलग्नता थियो भन्ने स्पष्ट हुन बाँकी छ।
लोकप्रिय
विद्यालयको हिसाबकिताबमा प्रश्न उठाउँदा शिक्षिकाको सरुवा, विवाद चर्किएपछि दुई शिक्षिकाको जगल्टा लुछालुछ!
रविको साथ छाडेर बालेनतिर सोविता ? सातौँबाट एकैपटक तेस्रो वरीयतामा उक्लिएपछि राजनीतिक वृत्तमा चर्चा !
अर्थ मन्त्रालयको पत्रले हजारौँ शिक्षक अन्योलमा– ‘२०७५ चैत ४ पछि नियुक्त शिक्षकलाई सरकारी दायित्वमा उपदान/पेन्सन दिन मिल्दैन’
ताजा अपडेट
‘यसरी कहिलेसम्म चलाउनुहुन्छ ?’ भन्दै राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यशैलीप्रति रवि लामिछानेसँग असन्तुष्टि जनाएपछि…

