ससुराको हत्या गरेर भागेका ज्वाईँ मुलघाटमा पक्राउ
विराटनगर– ससुराको हत्या गरी फरार भएका मोरङको पथरीशनिश्चरे नगरपालिका– ७, मायालु चौकका २७ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको छ।
धनकुटाको मूलघाटबाट आज बिहान करिव १० बजे राई पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालयका डीएसपी मोहनविक्रम दाहालका अनुसार जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा उनलाई पक्राउ गरिएको हो।
राईले शुक्रबार राती आफनै ससुरा ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरेको आरोप छ। दुवैको घर नजिकै छ। तर, ज्वाईँससुरा एउटै घरमा वस्दै आएका थिए। मदिरा सेवन गरी विवाद हुँदा राईले खुर्पा प्रहार गरेर गुरुङको हत्या गरेको जनाईएको छ।
चन्द्रबहादुरका श्रीमती, २ छोरा, १ छोरी छन्। श्रीमती र छोराछोरी (रविनकी श्रीमतीसहित) सबै विदेशमा भएकाले उनीहरु एक्लाएक्लै भएका थिए। त्यसपछि उनीहरु सँगै वस्न थालेका हुन। चन्द्रबहादुर र रविन दुवै जना ज्यामी काम गर्थे।
दिनभर काममा गएपनि उनीहरु रातभर मदिरा सेवन गरेर विवाद गर्ने र होहल्ला गर्ने गरेको खुलेको छ। शुक्रबार राति पनि उनीहरु मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
एउटै घरमा वसेका एक जनाको हत्या हुनु र एक जना फरार हुनुले घट्नामा रविनकै संलग्नको लगभग पुष्टि भईसकेको प्रहरीले जनाएको छ।

