रवि लामिछानेले फेसवुक लाईभ गरेर दिन खोजेको ४ सन्देशः भ्रम, त्रास, धम्की र उक्साहट

काठमाण्डौं– सहकारी ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका वेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछाने मंगलबार साँझ फेसवुक लाईभमा आए। फेसवुक लाईभमा उनले मुलतः ४ वटा कुरामा जोड दिएका छन्।

पहिलो– गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवम् पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेपछि सञ्चालक र प्रबन्ध निर्देशक भएका नाताले अव आफनो पालो आएको उनले प्रष्ट रुपमा बताए।

दोस्रो– जोशी पक्राउ परेपछि ‘के गरौं र कसो गरौं’ भएर आत्तिएका उनले आफु नआत्तिएको सन्देश दिन खोजे। जोशी पक्राउ पर्नासाथ राजधानीमा उपलब्ध नेताहरुको बैठक राख्नु, नेता–कार्यकतालाई केन्द्रीय कार्यालयमा उतार्नु, चीन भ्रमणमा रहेका नेताहरु फिर्ता बोलाउनु, अनि पक्राउ परे प्रतिवादको अपिल गर्नुले रवि लामिछाने आत्तिएको प्रष्ट हुन्थ्यो। तर, उनले फेसवुक लाईभमा भने त्यसदिनका गतिविधिलाई डराएका रुपमा बुझ्न नहुने तर्क गरे।

तेस्रो– छविलाल पक्राउ परेपछि उनको वयानका कारण आफु फस्ने डर लामिछानेमा देखिएको छ। सहकारीको पैसा गोर्खा मिडियामा आउँदासम्म उनको सशरीर संलग्नता पुष्टि नभएपनि उक्त पैसा ल्याउन र अपचलन गर्नमा सहमति र संलग्नता नकार्न सक्ने अवस्था छैन। त्यसैले लामिछानेको मनमा पहिला नै चोर पसेको संकेत उनले दिएका छन्। त्यसैले उनले आफुमाथि संगठित अपराधको मुद्दा लगाउन सक्ने भन्दै अग्रिम रुपमा सरकारलाई सचेत गराए र त्यसो नगर्न चेतावनी दिए।

चौथो– दशैं/तिहार जस्ता पर्वको मौका छोपेर आफूलाई पक्राउ गर्न सक्ने भन्दै उनले प्रतिवादमा उत्रन नेता/कार्यकर्तालाई पटक–पटक उक्साए।

समग्रमा रविको फेसवुक लाईभको उदेश्य यत्तिनै देखिएको छ। तर, पूर्वपार्टनर छविलालको वयानले भने लामिछाने जाकिने लगभग पक्का जस्तै छ। सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पोखरा पुगेको छ। सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेलाई पोखरा पठाएको छ।

जोशीले बयानमा आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समितिको उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएको बताएका छन्। ‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो, म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ। जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन्, गोर्खा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो।’– उनले भनेका छन्। भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै भएको उनले बयानमा बताएका छन्।

संसदीय छानबिन विशेष समितिले सहकारीबाट कम्पनीमा आएको ६५ करोड ५४ लाख प्रवाह भएको मात्र होइन, सबैजसो रकम लामिछाने आफैंले चेक काटेर खर्च गरेको पनि पुष्टि गरेको छ। तर, उनीसहित रास्वपाका नेताले भने कार्यकर्तालाई अन्धकारमा राख्ने प्रयास गरिरहेको देखिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीले ग्लोबल आईएमई बैंकमा संयुक्त खाता खोली सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख लगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले किटान गरेको छ।

प्रतिवेदनले गोर्खा मिडियाका चार सञ्चालक राई, जोशी, लामिछाने र कुमार रम्तेललाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट