नक्खुस्थित टहरोबाट बाढीले बगाएका ५ मध्ये २ जनाको ज्यान बचाएका चनिकलाल को हुन ?
काठमाडौँ– ललितपुरको नक्खु खोलामा आएको बाढीले शनिवार बिहान बगाएका दुई जनालाई बचाउने काभ्रेको तिमालका ३६ वर्षे चनिकलाल तामाङको अहिले धेरैले प्रशंसा गरिरहेका छन्। सामाजिक सञ्जालमा व्यापक चर्चा पाएका उनलाई कतिपय व्यक्ति तथा नेताहरूले भेट्न बोलाउने र सम्मान गर्ने गरिरहेका छन्।
तामाङले शनिवार सामाजिक सञ्जालमा ‘भाइरल’ भएको एउटा भिडिओमा एउटा टहरोको जस्तापाताको छानामा बसेर उद्धारको पर्खाइमा रहेका बेला बगाएका पाँचमध्ये दुई जनालाई बचाएका थिए। मानिसहरूले हेर्दाहेर्दै बगाएका मध्ये दुई जनालाई करिब ५०० मिटर बगेपछि तामाङले खोलामा पसेर बचाएको अधिकारीहरू तथा प्रत्यक्षदर्शीले पुष्टि गरेका छन्।
उनले जोखिम मोलेर बाढी आएको खोलामा हामफालेर पीडितहरूलाई बचाएकाले उनको सर्वत्र प्रशंसा भएको हो। खोलामा बाढीले बगाएका मानिसलाई बचाएर चर्चा पाएका चनिकलाल तामाङले बीबीसीले न्यूज नेपालीसँग साझा गरेको आफ्नो अनुभवलाई हामीले साभार गरेका छौं।
‘खोला हेर्न जाँदा मान्छे बगाएको देखेँ’
म ललितपुर महानगरपालिका वडा नम्बर–२५ स्थित सोही क्षेत्रमा विगत पाँच महिनादेखि कोठा भाडामा लिएर बस्दै आएको छु। म घरमा रङ लगाउने काम गर्छु। त्यहाँ म, श्रीमती र छोरी बस्छौँ। शनिवार पानी परेकाले मेरो काम रोकिएको थियो।
‘खोलामा बाढी आएको छ’ भन्ने सुनेर म पनि खोला हेर्न गएँ। कति बजेको थियो थाहा भएन। मैले घडी हेरिनँ। खोलामा पुग्दा त्यो त बेपत्ताको ठूलो भएर आएको रहेछ। अरू मान्छेसँगै किनारामा बसेर खोला हेर्न थालेँ।
हेर्दाहेर्दै त्यहाँ त अलि माथिबाट मान्छेहरू बगाउँदै ल्याएको देखेँ। त्यो बगाएर ल्याएको मान्छेले हातले इसारा ग¥यो। मलाई खोलामा पसेर मान्छे निकालौँ जस्तो लाग्यो। मेरो बूढी पनि साथमै थिइन्। उनले मलाई डरले ‘नजानु’ भन्दै थिइन्। म खोलामा पसिहालेँ।
खोलामा पसेपछि मैले पौडी खेलेर बग्दै आएका एउटा बच्चा र एउटा ठूलो मान्छेलाई निकालेँ। त्यो नानी देखेपछि मलाई ‘निकाली हालौँ’ जस्तो लाग्यो। मेरी छोरी पनि त्यो बगाएर बिरामी भएको नानी जस्तै सानी छ। मेरी छोरी अहिले ६ वर्षकी भइन्।
‘ती मान्छेलाई कसरी बगायो भन्ने थाहा थिएन’
ती मानिसहरू टहरोमा बसेको बेलामा बगेका हुन् भन्ने मलाई थाहा थिएन। पाँच सय मिटरमाथिबाट बगेको भन्ने पनि थाहा भएन। पहिले मलाई कसरी बगेर आएको हो भन्ने थाहै थिएन। मनमा ‘मान्छेका नाताले पनि बचाउनु पर्छ’ भन्ने लाग्यो। आफैँ ‘बग्छु जस्तो’ नलागेको होइन तर ‘बगेको मान्छेलाई बचाउनै पर्छ’ भन्ने लाग्यो।
अन्तिममा मान्छेलाई बचाउन पाउनु नै मेरो खुसीको कुरा हो। आज (आइतवार) प्रचण्डले भेटेर सम्मान गर्नुभयो। खुसी लाग्यो। उहाँले पनि ‘कसरी बचाउनु भयो’ भनेर सोध्नुभयो। मैले जे गरेँ त्यो भने। म जस्तो सानो मान्छेलाई पनि उहाँजस्तो ठूलो मान्छेले खोज्नु भयो। खुसी लाग्यो।
अहिले धेरैले ‘कसरी बचाएको’ भनेर सोध्छन् तर मैले खोलामा पस्ने बेलामा त्यस्तो धेरै सोचेकै थिएन।
‘भाग्यले बचाएँ’
जे होस् भाग्यमा त्यो लेखेको रहेछ। उहाँहरूलाई पनि बच्न जुरेको रहेछ। नत्र भए त उहाँहरू पनि र म पनि सँगै जान्थ्यौँ होला। खोलामा पस्दा पानी चिसो थियो। वेग धेरै नै थियो। म गाउँमा धेरै पौडी खेलेको मान्छे हो। सुनकोशी छेउमा हाम्रो गाउँ पर्छ। सानैदेखि हामी सुनकोशीमा पौडी खेल्थ्यौँ।
म सुरुमा दुबई गएको थिएँ। दुई वर्ष काम गरेर नेपाल फर्किएँ। त्यहाँ कमाइ राम्रो भएन अनि नेपाल फर्किएँ। नेपाल फर्किएपछि पाँच वर्षदेखि काठमाण्डूतिरै आएर बसिरहेको छु। गाउँ गएका बेला भने पौडी खेलिहाल्छु।
सानैदेखि सुनकोशीमा सिकेको त्यो पौडी खेल्ने बानी अहिले मान्छे बचाउन काम लाग्यो। तर भेल आएको खोला त पौडी खेलेको खोला जस्तो हुँदैन रहेछ। बाढी आउँदा त खोलामा वेग आउँदो रहेछ। जे होस् मैले मान्छे बचाएँ त्यसैमा खुसी लागेको छ।
छानामा बसेकै अवस्थामा बगेका व्यक्तिहरूको पछिल्लो अवस्था के छ?
ललितपुरको नक्खु खोला किनाराको टहरोमाथि उद्धारको पर्खाइमा रहेका मानिसहरूको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। शनिवार टहरोको छानामा उद्धारको पर्खाइमा रहेका बेला खोलाले बगाएका पाँच जनामध्ये तामाङले बचाएका दुई बाहेक अर्का एक जनालाई पनि करिब ५०० मिटर जति तलबाट उद्धार गरिएको थियो।
अन्य दुई व्यक्ति बेपत्ता भएका थिए। उनीहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्। ‘उद्धार भएकामा दुईजना वयस्क र एकजना बालिका थिए। बालिकाको उपचार भइरहेको छ। अन्य दुईलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ। बालिकाको अवस्था सामान्य नै छ’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरिक्षक तथा सहायक सूचना अधिकारी नरहरि अधिकारीले भने।
‘हराएका अन्य दुई जनाको खोजी कार्य हामीले जारी राखेका छौँ। अहिलेम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।’
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।
