ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दशैं मनाउन घर पुगेका प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ– नवलपरासी पश्चिममा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दशैं मनाउन घर पुगेका एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ।

हुलाकी सडक खण्डमा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१५, सुक्रौलीमा ना.५ ख २२५५ म्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ३९ वर्षीय चुडामणि भट्टराईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराका अनुसार भैरहवाबाट परासीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट मृत्यु भएका भट्टराई नवलपरासीको सुनवल– १३ घ्युडल्लाका स्थानीय वासिन्दा हुन।

उनी इलाका प्रहरी कार्यालय थवाङ रोल्पामा कार्यरत थिए। दसैँ मान्न घर आएको बेला उनी दुर्घटनामा परेका हुन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारको लागि प्रहरीले गाडीमा राखेर जिल्ला अस्पताल परासीमा लगेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले केहीसमय रामग्राम नगरपालिका १५ सुक्रौलीमा हुलाकी सडक खण्ड अवरुद्ध गरेका थिए। ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट