रास्वपा कार्यकर्ताको प्रदर्शन अनियन्त्रित भएपछि प्रहरी हान्यो अश्रुग्यास

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूको प्रदर्शन अनियन्त्रित भएपछि कास्कीको पोखरामा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। निषेधाज्ञा जारी भएको स्थान पार गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरहेको हो।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि प्रहरीले आइतबार कास्की जिल्ला अदालत, पोखरा लगेको हो।

यसैक्रममा रविका समर्थकहरूले प्रदर्शन चर्को बनाएका छन्।सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ। हिजो शनिबार पनि रास्वपा शीर्ष नेताहरूसहितले पोखरामा प्रदर्शन गरेका थिए।

सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रविलाई पक्राउ गरेको थियो। सूर्यदर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन्। यी दुवै समूहको प्रदर्शनस्थलको दूरी लगभग ५० मिटरको मात्रै छ। प्रहरीले दुवैतर्फका आन्दोलनकारीहरूलाई रोकिरहेको छ।

तर, दुवैतर्फको प्रदर्शन अनियन्त्रित हुँदै गएको जनाईएको छ। यसअघि रास्वपा समर्थक र प्रहरीबीच धकेलाधकेल भईसकेको छ। कास्की जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। तर, रास्वपाका समर्थकहरूले त्यसको उलंघन गर्दै प्रदर्शन गर्दा अवस्था तनावग्रस्त बनेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट