कागेश्वरीमा आत्मदाह गर्न खोज्ने महिला चितवनकी कमला आचार्य, कारण खोज्दै प्रहरी
काठमाडौँ– काठमाडौँका कागेश्वरी मनहरा नगरपालिका–८ स्थित बागमती नदीको किनारमा आफ्नै शरीरमा आगो लगाएकी महिला चितवनकी कमला आचार्य भएको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चितवनको रत्ननगर नगरपालिका–१२ घर भई काठमाडौँको बौद्ध नारायणटारमा डेरा गरी बस्दै आएकी ३८ वर्षीया आचार्यले आज दिउँसो पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिईन।
दिउँसो करिव १२ बजे कागेश्वरी मनोहरा–८ किराँतचोक नजिकै बागमती नदीको किनारको खाली जग्गामा पुगेर आचार्यले पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ। उनलाई घाईते अवस्थामा उद्धार गरी उपचारका लागि शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भर्ना गरिएको छ।
गम्भीर घाइते भएकी उनी बोल्न नसक्ने अवस्थामा छिन्। प्रहरीका उनुसार आचार्य बा ३५ प ५८१८ नम्बरको स्कुटरमा चढेर घट्नास्थलमा पुगेकी थिईन। उनले किन आफ्नै शरीरमा किन आगो लगाइन् भन्ने खुलेको छैन।
उनको पारिवारिक विवरण पत्ता लगाउने र थप जानकारी लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ।
