अन्तरजातिय विवाह गरेका युवकको हिरासतभित्र मृत्युको रहस्यः ‘सुसाइड’ कि ‘कस्टोडियल डेथ’ ?
काठमाडौँ— सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र २३ वर्षीय श्रीकृष्ण विक मृत फेला परेको घटनाले देशभर गम्भीर बहस जन्माएको छ। प्रारम्भिक रूपमा प्रहरीले ‘सुसाइड’ को दाबी गरे पनि परिवार, स्थानीय र राजनीतिक दलका प्रतिनिधिहरूले घटनालाई ‘कस्टोडियल डेथ (हिरासतमा मृत्यु)’ को आशंकासँग जोड्दै निष्पक्ष छानबिनको माग तीव्र बनाएका छन्।
घटनापछि बढ्दो दबाब र विरोधबीच नेपाल प्रहरीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश कुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र तथ्यगत र वस्तुनिष्ठ प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। समिति गठन भएसँगै तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि आशंका र अविश्वास भने अझै मेटिएको छैन।
घटनाको जरो भने अन्तरजातीय विवाहबाट सुरु भएको देखिन्छ। सुनकोशी गाउँपालिका–३ का श्रीकृष्ण विकले नयाँ वर्षको दिन खोटाङकी निर्जला मगरसँग विवाह गरेका थिए। ललितपुरमा ट्याक्सी चलाएर जीविका चलाउँदै आएका उनले विवाहपछि श्रीमतीलाई लिएर खुर्कोट पुगेका थिए।
तर, केटीपक्षले मिलापत्रको बहानामा प्रहरी वृत्त सातदोबाटो बोलाएर निर्जलालाई घर फर्काएको र श्रीकृष्णविरुद्ध बालविवाह र बलात्कारको जाहेरी दिएको घटनाक्रमले उनी प्रहरी नियन्त्रणमा पुगे। सातदोबाटोबाट खुर्कोट पुर्याईएको श्रीकृष्णलाई सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान चलिरहेको अवस्थामा वैशाख ७ गते दिउँसो करिब ४ बजे हिरासतभित्रैको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीको दाबी अनुसार उनले आफ्नै सट प्रयोग गरी झुण्डिएर आत्महत्या गरेका हुन्। तर, परिवारले यो दाबीलाई ठाडै अस्वीकार गरेको छ। श्रीकृष्णकी आमा बिन्दामाया विकको भनाइमा, ‘पुरानो कपडाको सटले झुण्डिएर मृत्यु हुने सम्भावना नै हुँदैन, त्यो त च्यातिन्छ।’ उनले आफ्नो छोरामाथि प्रहरीद्वारा यातना दिइएको र त्यसलाई लुकाउन आत्महत्याको कथा बनाइएको आरोप लगाएकी छन्। यही अविश्वासका कारण परिवारले सुरुवातमा शव बुझ्न समेत अस्वीकार गरेको थियो।
घटनाको निष्पक्ष छानबिनका लागि स्थानीय प्रशासनले सहायक सीडीओ दीपेन्द्र पौडेलको नेतृत्वमा सात सदस्यीय समिति पनि गठन गरेको थियो। तर, ‘आफैँ संलग्न निकायले आफैँ अनुसन्धान गर्ने’ भन्दै परिवारले उक्त समितिलाई अस्वीकार गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना सुरु गरेको थियो।
यसबीच घटनाबारे जानकारी लिन रास्वपाका सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, आशिष गजुरेल तथा नेकपाका सांसद गणेश विक सहितको टोली खुर्कोट पुगेको थियो। तर, प्रहरीबाट प्राप्त विवरण र प्रमाणहरूले उनीहरूलाई सन्तुष्ट पार्न सकेन।
सांसद गणेश विकका अनुसार श्रीकृष्ण मृत फेला परेको शौचालयको संरचना र उचाइले ‘सुसाइड’ को कथालाई नै प्रश्न गर्छ। ‘तीन फिट उचाइको फलामे डण्डीमा कसरी झुण्डिएर मृत्यु हुन सक्छ ?’ उनले प्रश्न उठाए। घटनास्थलको फोटो खिच्न खोज्दा प्रहरीले अवरोध गरेको र सीसीटीभी फुटेज देखाउन अस्वीकार गरेको तथ्यले पनि आशंका झन् गहिरिएको उनले बताए।
टोलीले जिल्ला प्रहरी कार्यालयमा समेत फुटेज माग्दा ‘अनुसन्धान जारी भएकाले देखाउन नमिल्ने’ जवाफ पाएको थियो। त्यसपछि राजनीतिक प्रतिनिधि, प्रशासन र पत्रकारबीच छलफल राखिए पनि सीडीओ स्किम श्रेष्ठले जिम्मेवार ढंगले प्रतिक्रिया नदिएको आरोपसमेत लागेको छ।
घटनापछि आन्दोलनमा उत्रिएका सांसदहरूले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख, जिल्ला प्रहरी प्रमुख र सीडीओलाई तत्काल निलम्बन गर्नुपर्ने तथा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेका छन्। उनीहरूको तर्कमा, हिरासतभित्र भएको मृत्युको छानबिन सामान्य प्रशासनिक समितिले होइन, उच्चस्तरीय स्वतन्त्र संयन्त्रले गर्नुपर्छ।
यद्यपि, सहायक सीडीओ दीपेन्द्र पौडेलले बाह्य दबाबका बीच पनि निष्पक्ष अनुसन्धान भइरहेको दाबी गरेका छन्। उनका अनुसार प्रतिवेदन सार्वजनिक भएपछि मात्र घटनाको वास्तविकता बाहिर आउनेछ।
समग्रमा, श्रीकृष्ण विकको मृत्युले नेपालमा हिरासतभित्र हुने घटनाहरूको विश्वसनीयता, प्रहरी अनुसन्धान प्रणाली र मानवअधिकारको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। एकातिर ‘सुसाइड’ को आधिकारिक दाबी छ भने अर्कोतर्फ परिवार र राजनीतिक प्रतिनिधिहरूको ‘कस्टोडियल डेथ’ को आशंका। अब छानबिन समितिको प्रतिवेदनले यी दुई परस्परविरोधी कथामध्ये कुन सत्यको नजिक छ भन्ने निर्णायक रूपमा उजागर गर्नेछ।
