५ जना सवार जिप पुलको रेलिङ भत्काएर नदीमा खस्योः ३ जनाको मृत्यु, २ जना घाईते

काठमाडौँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित २ जना घाईते छन्।
दमौलीबाट चापाघाट जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप दुर्घटना हुँदा व्यास –५, पाटनका ३५ वर्षीय प्रविन थापा मगर, २२ वर्षीय कुमार थापा र २२ वर्षीय कुशल थापाको मृत्यु भएको हो। उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर राजु अधिकारीका अनुसार दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ का २५ वर्षीय रोहित गुप्ता र पर्साको वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन।
घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ। दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए। प्रहरीका अनुसार जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो।