एकै पटक निभे सशस्त्र प्रहरीका तीन दीपः तीन फरक जिल्लामा शोक, पीडा एउटै !
राजविराज– देश र जनताको सेवा गर्न खटिएका सशस्त्र प्रहरीका तीन जना सपुतले ज्यान गुमाएपछि अहिले देशका तीन जिल्लामा सशस्त्र प्रहरीका परिवार शोकमा डुबेका छन् भने सशस्त्र प्रहरी संगठन स्तब्ध बनेको छ।
झापाको गौरादह नगरपालिका–८, जुरोपानीका २८ वर्षीय हरदेव राजवंशी र डोटीका २६ वर्षीय सुरज साउद सशस्त्र प्रहरी बलका अनुभवी गोताखोर थिए। सप्तकोशी नदीमा प्रदेशस्तरीय सेमुलेसन अभ्यासका क्रममा डुबेर बेपत्ता भएका उनीहरु दुवैको शव फेला परेको छ।
अर्को तर्फ, मोरङको कानेपोखरी गाउँपालिका–४ का सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको झापास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा निधन भएको छ। यी तीन शुरवीरको असामयिक बिदाइमा परिवार मात्र होइन, समग्र सुरक्षा बल र राष्ट्र नै रोएको छ। यो अपुरणिय क्षति परिवार, संगठन र देशले नै भोग्ने छ।
शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह, मन्त्रीहरू र उच्च अधिकारीहरूको उपस्थितिमा नदीमा उद्धार कार्यको डेमो देखाउने कार्यक्रम तय गरिएको थियो। त्यसकै लागि बिहीबार अन्तिम अभ्यास थियो। पाँच जना गोताखोरसहित सशस्त्र प्रहरीको टोली सप्तकोशी नदीमा अभ्यासका क्रममा थियो।
बिहीबार बिहान करिव पौने ८ बजे सशस्त्र प्रहरीको उद्धार अभ्यास सुरु भएको थियो। जसमा संलग्न सशस्त्र प्रहरीका अनुभवी जवानहरू संलग्न थिए। बिहानदेखि सुरु भएको सेमुलेसन अन्तिम समयतिर अप्रत्याशित रुपमा जोखिमपूर्ण बन्यो। राजवंशी र साउद नदीमा पस्दा अक्सिजनको सिलिण्डर, अन्डरवाटर गगल्स, विशेष सूट र दुईवटा डोरीको सहारामा थिए। बाहिर बोटमा बसेका सहकर्मीहरूले ती डोरी समातिरहेका थिए।
पानी मुनी रहने गोताखोरलाई दिशा निर्देश गर्ने र सञ्चार माध्यमका रुपमा काम गर्ने लाइफलाइन डोरी दिउँसो ३ बजेतिर अचानक अड्कियो। त्यसपछि वाहिर र भित्र रहेका टोलीको सुचना र सम्पर्क टुट्यो। वाहिर रहेको टोली आत्तियो। टोलीले खोजतलास गर्यो।
तर, नदिको भुमरीमा परेर हरदेव राजवंशी र सुरज साउद बेपत्ता भए। केही समयपछि उनीहरुले प्रयोग गरेको अक्सिजन सिलिण्डर पनि पानीमा तैरिरहेको भेटियो। तर, ‘लाश नभेटुञ्जेल आश हुन्छ’ भने झै दुवैलाई जिवितै फेला पार्ने आश र हौसलाका साथ उनीहरूको खोजी कार्य तिव्र पारियो। भोलिपल्ट (शुक्रबार) विहान हरदेव राजबंशी मृत अवस्थामा फेला परे।
उनको शव करिव ३ किलोमिटर कोसी ब्यारेजको ५५÷५६ नम्बरको ढोकाबाट करिव ३ किलोमितर तर फेला पर्यो। यो सँगै एकातर्फ ‘दुवैको मृत्यु भएको’ आँकलन र अर्कोतर्फ चमत्कारको आश (जिवितै भेटिने) मा सुरजको खोजी जारी राखियो। तर दुर्घटनालाई कस्ले टार्न सक्थ्यो ? उनी पनि आईतबार बिहान कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक मृत अवस्थामा फेला परेका छन्।
कुरिनटारबाट डीएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा आएको गोताखोरको टोलीले साउदको शव फेला पार्यो। भण्डारी बंगलादेशबाट गोताखोर तालिम लिएर फर्किएका अनुभवी अधिकृत हुन्।
सशस्त्र प्रहरीले जनाए अनुसार हरदेव राजवंशीले सशस्त्र प्रहरी बलका तीन महत्वपूर्ण तालिम—स्पेसल टास्क फोर्स (एसटीएफ), डिजास्टर म्यानेजमेन्ट र गोताखोर तालिम—सफलतापूर्वक पूरा गरेका थिए। उनी एसटीएफका प्रशिक्षक समेत थिए र आफ्ना सहकर्मीहरूलाई प्रशिक्षण दिँदै उद्धार टोलीको नेतृत्व गर्दै आएका थिए।
सुरज साउदले पनि पाँचौं ब्याचको रूपमा गोताखोर तालिम पूरा गरी विभिन्न उद्धार तथा सुरक्षा कार्यमा सक्रिय भूमिका निभाउँदै आएका थिए। यी दुवै गोताखोरहरू बाढी, नदी डुबान र प्राकृतिक विपद्का बेला जनताको जीवन रक्षा गर्न खटिने दक्ष जवान थिए।
अर्कोतर्फ, मोरङको कानेपोखरी गाउँपालिका–४ घर भएका ४८ वर्षीय प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी इलाम बोर्डर आउट पोस्टमा कार्यरत थिए। जनताको सुरक्षा र सेवा गर्ने उनको समर्पण अतुलनीय थियो। तर आफैंले चलाएको प्रदेश १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको पनि ज्यान गयो।
यी तीन शूरवीरको असामयिक निधनले सशस्त्र प्रहरी बलमा ठूलो खालीपन आएको छ। विशेष गरी गोताखोरहरूको अभावले भविष्यमा प्राकृतिक विपद्का बेला हुने उद्धार कार्यहरूमा समस्या निम्त्याउन सक्छ। नदी र बाढी प्रभावित क्षेत्रमा जनताको जीवन रक्षा गर्न खटिने टोली कमजोर हुने र त्यसले समग्र देशका जनताको सुरक्षा र उद्धारमा प्रत्यक्ष असर पार्ने बताईन्छ।
परिवारहरूले व्यहोरेको शोक त कस्ले पो वर्णन गर्न सक्ला र ? हरदेवका भान्जा तथा गौरादह नगरपालिका–८ का वडाध्यक्ष गणेशकुमार राजवंशीका अनुसार उनका बुबा पहिले नै बितिसकेका थिए। उनी परिवारका एक्ला छोरा थिए। श्रीमती, अढाई वर्षकी छोरी र आमा घरमा छन् — अब उनिहरू सहाराविहीन बनेका छन्।
सुरक्षा बल भित्र पनि मनोवैज्ञानिक प्रभाव लामो समयसम्म रहने छ। यसले संगठनको मनोबल घटाउने र सुरक्षा सेवामा खटिने जवानहरूमा तनाव निम्त्याउने सम्भावना रहेको सुरक्षा विश्लेषकहरु बताउँछन्। तीन जिल्लाका यी तीन जवानको निधनले सुरक्षा परिवारमा एउटा ठूलो शून्यता ल्याएको छ। तीन दीप एकैपटक निभेका छन्।
